NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सेनाले हेलिकप्टर एरोनटिक्स इन्जिनियरिङको अभ्यासका लागि हेलिकप्टर दियो

काठमाडौं । नेपाली सेनाले उडान समयावधि पूरा गरी ग्राउन्डेड रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तान्तरण गरेको छ ।

मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश-१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए-०३९ चेतक हेलिकप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपूर्जा आज हस्तान्तरण गरेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको एयर वेशमा एक समारोहका बीच सैनिक वायु सेवाका महानिर्देशक पाइलट आशिष नरसिंह राणाले प्रदेश-१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गर्नु भएको नेपाली सेनाले जनाएको छ ।

भारतको बैङ्लोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतबाट विसं २०५८ मङ्सिर २६ गते सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराएको थियो ।

हाल निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी हेलिकप्टर ग्राउन्डेड रहेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्री प्राप्त गरे पश्चात् अध्ययनरत विद्यार्थीको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरमत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्री हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ ।

हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायतको सहभागिता थियो ।