NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको मृत्यु

काठमाडाैं । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारस्थित आफ्नै घर अगाडि शुक्रबार प्रदेश १–०५–००१ प ६८३७ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका नेता श्रेष्ठको उपचारका क्रममा आज काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा ५८ वर्षको उमेरमा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि हेलिकोप्टर चार्टर गरेर शुक्रबार नै अस्पताल पु-याइएका नेता श्रेष्ठलाई अस्पतालले तीन दिनपछि आज मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रवीन चाम्लिङले जानकारी दिए । अस्पतालले नेता श्रेष्ठलाई मृत घोषणा गरेपछि आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता श्रेष्ठलाई दिक्तेल बजारस्थित किरातचोकबाट पुरानो बेसक्याम्पतर्फ जाँदै गरेको मोटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो । पछाडिबाट तीव्रगतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा जिल्लामा उपचार नभएपछि थप उपचारका लागि चिन्ताजनक अवस्थामा काठमाडौँ लगिएको हो ।