NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दानमा प्राप्त रगतमा पनि मूल्यवृद्धि

काठमाडौं । नागरिकले दानमा उपलब्ध गराएको रगतमा समेत सरकारले मूल्यवृद्धि गरेको छ । बिरामीको ज्यान जोगाउने उद्देश्यसहित सबै बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउनुको साटो स्वास्थ्य मन्त्रालयले प्रतिपिन्ट साढे ६ सयसम्म मूल्य बढाएको छ ।

जबकि, काठमाडौंकै दुई स्थानीय तह र गण्डकी प्रदेशले भने रगत निःशुल्क उपलब्ध गराइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर रगत प्रतिपिन्ट एक हजार १० देखि एक हजार ६ सय ४० रुपैयाँसम्म मूल्य निर्धारण गरेको हो । देशभर ब्लड बैंक रहेको नेपाल रेडक्रस सोसाइटीमातहतका रक्तसञ्चार केन्द्रले अहिलेसम्म प्रतिपिन्ट पाँच सय २५ देखि हजार रुपैयाँसम्ममा रगत उपलब्ध गराउँदै आएका थिए ।नयाँ दरअनुसार ट्युब प्रक्रियाबाट समूह छुट्याइएको रगतको मूल्य प्रतियुनिट न्यूनतम एक हजार १० रुपैयाँ पर्नेछ ।

जेल कार्ड प्रक्रियाबाट रगतको समूह छुट्याइए त्यसको मूल्य प्रतियुनिट एक हजार दुई सय १०, जेल कार्ड प्रक्रियाबाट रगतको क्रस म्याचिङ गरिए एक हजार ९०, जेल कार्ड प्रक्रियाबाटै रगतको गुप्रिङ, क्रस म्याचिङ, टिटिआइएस (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) गरिए उपभोक्ताले एक हजार तीन सय ४० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, रगतको गुप्रिङ, क्रस म्याचिङ, टिटिआइएस जेल कार्ड र सेला प्रक्रियाबाट गरे त्यसको मूल्य एक हजार ६ सय ४० रुपैयाँ पर्ने गरी नयाँ मूल्य तोकिएको छ ।

दाताबाट निःशुल्क संकलन गरिने रगतको मूल्य बढाएर सरकारले अमानवीय कार्य गरेको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले आपत्ति जनाएको छ । ‘रगत निःशुल्क उपलब्ध गराएर बिरामीको ज्यान जोगाउनुपर्नेमा उल्टै मूल्य बढाएर सरकारले अत्याचार गरेको छ । यसको जति भत्र्सना गरे पनि कम हुन्छ, सरकारको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति छ । नागरिकले रगत पाउने विषय नैसर्गिक अधिकार हो । सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्छ । सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले भने ।

रगतमा मूल्यवृद्धि गरिएको विषयमा प्रतिक्रिया लिन खोज्दा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल पन्छिए । ‘यो विषयमा मलाई नसोध्नुस् । मन्त्रालयमा प्रवक्ता छ, उसैसँग सोध्नुहोस् । म यसमा बोल्दिनँ,’ उनले भने । जबकि सचिव पोखरेलकै अध्यक्षतामा रहेको राष्ट्रिय निर्देशक समितिको सिफारिसपछि गत २२ चैतमा मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर रगतको मूल्य बढाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।