NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘खाने तेलमा भन्सार महसुल छुट गरेर राहत दिनुपर्छ’

काठमाडाैं । नेपाल वनस्पति घीउ तेल उत्पादक संघले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महंगीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गरी जनतालाई राहत दिन आग्रह गरेको हो । संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ८७ अर्ब ६० करोड बराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्सार महसुल शून्यमा झार्दा नेपालको निकासीमा कमी आउने उल्लेख गरे ।

‘भन्सार महसुलका कारण नेपालको तेल उत्पादन महंगो पर्ने भएकाले नेपाल–भारत खुला सिमानाबाट अनाधिकृत रुपमा सस्तो मूल्यमा भारतीय तेल चोरी पैठारी भई नेपाल भित्रिने गरेको छ, यसबाट राजश्वमा ह्रास आउने अवस्था छ,’ अध्यक्ष अग्रवालले भने । हाल नेपालमा तीन लाख टन तेल खपत हुँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले कच्चापदार्थमा लगाइएको भन्सार महसुल शून्यमा झार्नुपर्ने बताए । ‘भन्सार महसुलका कारण हरेक सामग्री महंगो पर्दै गएको अवस्था छ, यसप्रति सरकारले पुनः विचार गर्नुपर्छ,’ उनले भने । नेपालमा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिदेखि अन्य धेरै समस्या रहेको भन्दै उनले सरकारले हाल ल्याएको नयाँ व्यवस्थाले नेपालका उद्योग संकटमा पर्नसक्ने उल्लेख गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सरकारले एउटा उद्योगको संरक्षण गर्दा अर्को उद्योगलाई समस्या पार्ने नीति ल्याउन नहुने बताए । ‘सरकारले जनतालाई सहुलियत दिने नीति लिनुपर्छ,’ उनले भने । उपाध्यक्ष अग्रवालले स्वदेशी उद्योग प्रोत्साहनका लागि सरकारले विशेष कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।

विसं २०४८ मा स्थापना भएको नेपाल वनस्पति घीउ तेल उत्पादक संघअन्तर्गत हाल २२ उद्योग सञ्चालित छन् । तीन उद्योग सञ्चालनका क्रममा रहेको संघले जनाएको छ । झन्डै एक खर्ब लगानी रहेको उक्त क्षेत्रमा १५ हजारभन्दा बढी व्यक्ति कार्यरत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष