NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रधानमन्त्रीले समय माग गरेपछि मन्त्रिपरिषद् पुनर्गठन रोकियो : अध्यक्ष नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले समय माग गरेकाले मन्त्रिपरिषद् पुनर्गठन रोकिएको बताएका छन् ।

सोमबार मोटर साइकल दुर्घटनामा परी ज्यान गुमाएका नेता रामनारायण चौधरीको श्रद्धाञ्जली सभामा भाग लिन सप्तरी पुगेका नेपालले राजविराज विमानस्थलमा सञ्चारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन् ।

‘मन्त्रिपरिषद् पुनर्गठनका लागि नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष पुगिसकेको छ । उहाँले नयाँ टिम हेरफेरका लागि केही समय पर्खिन आग्रह गर्नुभएको छ’, नेपालले भने, ‘पार्टीले निर्णय गर्ने तर प्रधानमन्त्रीले नमान्ने भन्ने प्रश्नै उठ्दैन । मलाई विश्वास छ, छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

आइतबार बसेको नेकपा एसको सचिवालय बैठकले पुराना चार मन्त्रीलाई फिर्ता गरी नयाँ मन्त्रीको नामावली प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । तर चालु आर्थिक वर्षको बजेट पारित नभइ मन्त्रिमण्डल पुनर्गठन गर्दा गठबन्धन सरकारलाई असर पर्ने देखिएपछि सपथग्रहण कार्यक्रम रोकिएको थियो ।