NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

छोरी बीमा कार्यक्रम छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री राउत

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बीमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आइएमई बैंकसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन हुने जनाए ।

‘कोभिड-१९ संक्रमणलगायतका कारणले विगत दुई वर्षदेखि रोकिएको छोरी बीमा कार्यक्रम अब छिट्टै सञ्चालन हुन्छ,’ मुख्यमन्त्री राउतले भने, ‘त्यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र ग्लोबल आइएमई बैंकबीच सम्झौता भइसक्यो, अबको केही दिनभित्रै सञ्चालन हुन्छ ।’ ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउँ’ सँगै सञ्चालित ‘छोरी बीमा कार्यक्रम’ अन्तर्गत हालसम्म प्रदेशका करिब छ/सात हजार छोरीको बीमा भइसकेको र अब थप छोरीको बीमा हुने उनको भनाइ थियो ।

महिला, दलितलगायतका सामाजिक विभेद र थिचोमिचोमा परेका समुदायको उत्थानका लागि प्रदेश सरकारले विभिन्न विधेयक ल्याएर गतिविधि अघि बढाइसकेको भन्दै उनले कार्यान्वयन गर्ने निकाय सक्रिय नहुँदा अपेक्षाकृत कार्य अघि बढ्न नसकेको बताए ।

प्रदेशमा प्रवेश गर्ने पूर्वको कोसी ब्यारेज र पश्चिमको बागमती प्रदेश नजिकै प्रदेश सरकारले प्रवेशद्वार निर्माण गर्ने घोषणा गर्दै प्रदेशसभा सदस्यबाट आएका सुझाव सल्लाहलाई समेत आत्मसात् गरी आगामी बजेट विनियोजन गरिने जानकारी दिए ।

‘यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन हो,’ मुख्यमन्त्री राउतले भने, ‘यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने नै छौँ ।’ प्रदेशका जनताको चाहना र समय सापेक्षअनुसारको बजेट ल्याउने उनको भनाइ थियो ।