NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मलामी गएका दुई युवाको डुबेर मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा मलामीका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल बिहीबार बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो ।

बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष कक्षा १२ को परीक्षा दिएका थिए ।