NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जिसस लमजुङमा एमाले विजयी

लमजुङ । जिल्लाको जिल्ला समन्वय समितिमा नेकपा (एमाले) विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका मुरली कुमाललाई चार मतअन्तरले पछि पार्दै एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालका अनुसार एमालेतर्फबाट निर्वाचित गुरुङले १० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका कुमालले छ मत प्राप्त गरे । आज नै प्रमुख पदका लागि मतदान गरिएको थियो ।

समन्वय प्रमुख पदबाहेक उपप्रमुखलगायत आठ जना नै एमालेबाट निर्विरोध निर्वाचित भइसकेका थिए ।

सो पदहरुका लागि गठबन्धनका दलहरुले उम्मेदवारी नै दिएका थिएनन् ।

उपप्रमुखमा बुनाकुमारी रिमाल, महिला सदस्य बबिता मजाकोटी सार्की, विमला खड्का, सारदा साखीँ, खुल्ला सदस्यमा केशरबहादुर खत्री, शेरबहादुर बोगटी र मोहनबहादुर गुरुङ र दलित तथा अल्पसङ्ख्यकबाट गमबहादुर दुरा निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेले एक नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ । त्यस्तै पाँच पालिकामा उपप्रमुख जितेको छ । कांग्रेसले चार पालिका प्रमुख जितेको छ ।

कांग्रेसले एक उपाध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा उपप्रमुख जितेको छ । गत स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धन र एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । चार नगरपालिका र चार गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको यस जिल्लामा प्रमुख तथा उपप्रमुख गरी १६ जनाले मतदान गर्न पाउनेमा सबैले मतदान गरेका थिए ।

एमाले एक्लैको नौ भोट रहेको थियो भने गठबन्धनको सात भोट मात्र रहेको थियो तर गठबन्धनको मतदाता एक जनाले पनि एमालेलाई नै भोट दिएपछि थप एक भोट प्राप्त गर्दै १० भोट पाउन सफल भएको छ ।

यसअघिअर्थात् पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडे पनि अहिले कांग्रेससहितको गठबन्धनसँग मिलेर एमालेविरुद्धमा चुनाव लडेको थियो । जिल्ला समन्वयमा यसअघि पनि सबै एमालेकै रहेको थियो ।