NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘युक्रेन-रुस युद्धमा दैनिक २०० युक्रेनी सैनिक मारिँदैछन्’

किएभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले बीबीसीसँगको कुराकानीमा रुससँगको युद्धका क्रममा हरेक दिन करिब १०० देखि २०० युक्रेनी सैनिक फ्रन्टलाइनमा मारिने गरेको दाबी गरेका छन् ।

यो संख्या अघिल्लो अनुमानभन्दा बढी हो । बिहीबार युक्रेनका रक्षामन्त्रीले युक्रेनले हरेक दिन आफ्ना १०० सैनिक गुमाउने र ५०० भन्दा बढी घाइते भएको दाबी गरेका थिए । मिखाइलो पोडोलियाकले पूर्वी डोनबासमा चलिरहेको युद्धमा रुससँग लड्न युक्रेनलाई सयौं पश्चिमी बन्दुकको आवश्यकता रहेको बताए ।

उनले किएभ मस्कोसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार नभएको पनि बताए । युक्रेनी सेनाले लगातार गोलीबारी र बम आक्रमणको सामना गरिरहेको छ ।

युक्रेनको क्षेत्र डोनबासमा अहिले पनि भीषण युद्ध चलिरहेको छ । रुसी सेना सम्पूर्ण डोनबास क्षेत्र नै नियन्त्रण गर्न कोशिस गर्दैछ ।

पोडोलियाकले भने, ‘रुसी सेनाले यस युद्धमा परमाणु बमबाहेक सबै हतियार प्रयोग गरेको छ । चाहे त्यो भारी आर्टिलरी होस्, रकेट प्रक्षेपण होस् वा हवाई हमला होस् ।’

युक्रेनले लगातार पश्चिमी देशहरूसँग हतियारको माग गर्दै आएको छ । सोही माग दोहोर्‍याउँदै पोडोलियाकले रुस र युक्रेनसँगको सेना र हतियारको असमानता नै युक्रेनलाई हुने क्षतिको मुख्य कारण भएको बताए ।

शान्ति वार्ताका सम्बन्धमा उनले रुसी सेनाहरू फेब्रुअरी २४ मा आक्रमण सुरु हुनुअघि भएको ठाउँमा नफर्केसम्म युक्रेन शान्ति वार्ताको टेबलमा नआउने बताएका छन् ।