NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै अहिले पनि हत्या लुट बढ्दै गइरहेको भन्दै त्यसलाई रोक्न सरकार असफल भएको बताइन्।

उनले हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले गम्भीर ढङ्गले अनुसन्धान नगरेको आरोप लगाइन्। “हत्या हिंसा र बलात्कारका घटनामा अनुसन्धान फितलो भएको छ, छिटोछरितो पीडितले न्याय पाउने खालको अनुसन्धान भएको छैन”, उनले भनिन् । कालोबजारी, घुसघोरी गुण्डागर्दी रोक्न गृह मन्त्रालयल असफल भएको उनको आरोप थियो ।

सांसद खगराज अधिकारीले मुुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेको बताए । “हत्या, हिंसा घटना दिनहुँ भइरहेका छन्, विभिन्न ठाउँमा शान्तिसुरक्षा अवस्थाको अवस्था फितलो रहेको छ”, उनले भने। साथै उनले नेपाल–भारत सीमासुरक्षामा खटिने सुरक्षाकर्मीलाई सवारीसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले दार्चुलाका जयसिंह धामीको मृत्युबारे छानविन गरेर प्रतिवेदन संसद्मा ल्याएर सार्वजनिक गर्न माग गरेका छन्। सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना अतिक्रमण गर्दा सरकारले केही गर्न नसकेको आरोप लगाए । उनले नेपाली भूमि डुब्नेगरी भारतले बनाइएका बाँध भत्काउनुपर्नेमा जोड दिए।

अर्का सांसद दीपकप्रकाश भट्टले सिङ्गो विकासको एउटा नीतिलाई लिएर सरकार अगाडि बढ्नुपर्ने बताएका छन् । उनले आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट विनियोजन नभएकाले सिङ्गो पर्यटन क्षेत्रको प्रवर्द्धनमा समस्या देखिने बताए ।