NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

चोरी सिकारका आरोपित छुटे, कुकुर थुनामा

काठमाडौं । डिभिजन वन कार्यालय, मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।

गत चत १४ मा मुगुम कार्मारोङ–१, चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङ समातिएका थिए । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।

जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलार्य वन कार्यालयले मुद्दा चलायो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रूपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । तर कार्यालयले चलाएको मुद्दामा चारजना मात्र प्रतिवादी थिए ।

सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेन । जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले भने, ‘चोरी सिकारीको मुद्दामा कुकुर भन्ने शब्द उल्लेख गरिएको छैन । कसरी आदेश दिने ?’

अदालतले कुकुरको विषयमा केही नबोलेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको हो ।

डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अदालतबाट कुनै आदेश नआएकाले त्यत्तिकै छाड्ने वा मार्ने भन्ने टुंगो नलागेको बताए । प्रतिवादी छुटे पनि थुनामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाईै आपत नै परिरहेको छ । कुकुरको खान्कीमा मात्रै २५ हजार रूपैयाँ खर्च भइसकेको महतारा बताउँछन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।