NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

माइला उद्धारका आठ घन्टा

१३२ केभीको ‘हाइटेन्सन लाइन’ । करिब सय मिटर अग्लो टावर चढेर तार समाउँदै वारपार गर्ने प्रयासमा जुटेका एक युवक । उनको उद्धारमा जुटेका गाउँले, जिल्लास्थित सुरक्षा संयन्त्र र नेपाली सेनाको हेलिकोप्टर । सकुशल ओराल्न भोजनको लोभदेखि मृत्युको डरसम्मका भरमग्दुर प्रयत्न । झन्डै आठ घन्टाका ‘नाटकीय’ गतिविधि । हलिउड फिल्मको जस्तै डरलाग्दो दृश्य । मुख्य पात्र ४६ वर्षका माइला विक ।

उनी शनिबार बिहान करिब ११ बजे नुवाकोट ककनी गाउँपालिका– ७ ढाडफेदी हुँदै लिखु–ककनी–मातातीर्थ प्रसारण लाइनको तार समाएर अघि बढेको अवस्थामा देखिए । उनको ज्यान जाने भयो भनेर सिंगो गाउँ डरायो । घटना अनौठो थियो, गाउँमा होहाल्ला चल्यो । ‘हाइटेन्सन लाइन’को तारमा हिँडिरहेका युवाको तस्बिर र भिडियो छिनभरमै सोसल मिडियामार्फत देश–विदेश पुग्यो ।

डराएका गाउँलेले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी पुग्नुअघि नै घटनास्थलमा रमितेको भिड लागिसकेको थियो । युवा तार समाउँदै ककनी– ७ बाट लिखु गाउँपालिकातर्फ अघि बढ्दै थिए । प्रहरी युवाको पहिचानमा जुट्यो । गाउँलेले तारमा झुन्डिएको युवा नुवाकोटकै बेलकोटगढी नगरपालिका– १२ का ४६ वर्षीय माइला विक रहेको जानकारी दिए ।

तत्काल परिवारका सदस्यलाई घटनास्थल बोलाइयो । उनीहरूको सहयोगमा माइलालाई ओराल्न अनेक प्रयास भए । कसैले मिष्ठान्न भोजनको लोभ देखाए । कसैले करेन्ट लागेर मरिने भन्दै मृत्युको डर देखाए । तर, उनलाई न भोजनले लोभ्यायो, न मृत्युले तर्सायो । माइलाले रोकिने संकेतसमेत गरेनन् । बरु खाली खुट्टा फटाफट अगाडि बढिरहे । त्यसवेलासम्म उनी पोलबाट करिब चार सय मिटर टाढा पुगिसकेका थिए । संयोगले उनी जुन तारमा थिए, त्यसमा विद्युत् प्रवाह भएको थिएन ।

त्यसअघि शनिबार बिहानै लिखु– ३ को पाण्डेगाउँको बिजुलीको टावरमा चढेर माइलाले प्यानल र लाइट झारेका थिए । ती सामग्री बोकेर भाग्न लागेका माइलालाई स्थानीय युवाले बाँधेर राखे । ढिकुरे प्रहरी चौकीलाई खबर गरे । प्रहरी आएर सामग्री बरामद गरेर लग्यो । तर, विकलाई भने ‘बिमारी रहेछ’ भन्दै प्रहरीले त्यहीँ छाडेर गयो ।

एकछिन पनि माइला फेरि टावर चढे । टावरको टुप्पामा पुगेपछि त्यहाँ जडान गरिएको लाइट र प्यानल खोलेर फालिदिए । त्यसपछि उनी ककनीको चतुरालेपट्टिको पोलमा जान तारतारै अघि बढे । तर, त्यता जान नसकेपछि फेरि टावरतिर फर्किएर बसेको स्थानीय सूर्यमति माविका पूर्वप्रधानाध्यापक अमृतमान गुरुवाचार्यले बताए । ‘बोलाउँदा नआएपछि खाना ल्याएर टावरको फेदमा राखियो । रक्सी मागेको थियो । बोतलमा पानी राखेर त्यही हो रक्सी भन्यौँ । तल मान्छे भएर नआएको होला भनेर टावरभन्दा पर पुगेर बस्यौँ,’ उनले भने, ‘टावरबाट तल झरेर भात खान थाल्यो । समाउन जाँदा भात सर्टमा पोको पारेर मुखले बोत्तल समाएर बाँदरभन्दा छिटो टावर चढ्यो । समाउन सकिएन ।’

खबर नुवाकोटको थियो, तर देशभरकै सञ्चारमाध्यमले छिनछिनका घटनाक्रम पस्किन थाले । खबर अब जिल्लास्थित प्रहरी कार्यालयमा मात्रै सीमित रहेन, फैलिँदै सिंहदरबारस्थित गृह मन्त्रालयसम्म आइपुग्यो । विकको अनौठो क्रियाकलापले गृह मात्र होइन प्रधानमन्त्री कार्यालयलाई दिनभर तरंगित तुल्यायो ।

हाइटेन्सन लाइन हुँदै बग्ने करेन्ट तत्काल रोक्न त्रिशूलीस्थित विद्युत् उत्पादन गृहलाई निर्देशन दिइयो । र युवा उद्धारमा लाग्न मातहतको दुवै प्रहरी संगठनलाई निर्देशन दिइयो । निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सबै सुरक्षा संयन्त्रको आकस्मिक बैठक राखियो । घटनास्थल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिए । विकलाई तारबाट भुइँमा ओराल्न अनेक प्रयास गरिए, तर केही सीप चलेन ।

अपराह्नपछि प्रहरी, सशस्त्र प्रहरी पनि घटनास्थल पुगेका थिए । प्रहरी पुगेपछि भने विक लिखु– ३ को पाण्डेगाउँको टावरपट्टि तारतारै गएको गुरुवाचार्यले बताए । ‘झन्डै चार सय मिटर तारमा एक घन्टा दुई मिनेटमा पार गर्‍यो । कहिले टावरको टुप्पामा आउने त कहिले तारमा झुन्डिने गरेर बसिरह्यो,’ उनले भने ।

माइला सेना–प्रहरीसँग खुसी हुने, स्थानीयसँग भने त्रसित भएको पाएको उद्धारमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । ‘सेना र प्रहरी देख्नासाथ नमस्कार, नमस्कार, धन्यवाद भन्ने । खुसी हुने, हाँस्ने गर्‍यो । तर, स्थानीय नजिक आएपछि भने निकै डरायो । बिहान पनि पोल चढेर सामान झारेको भन्दै स्थानीयले कुटपिट गरेका रहेछन् । त्यही डरले पोल चढेको हो कि भनेर अनुमान गरेँ,’ अर्यालले भने । विकले पोल चढ्नुको कुनै कारण बताएका छैनन् । केही सोध्यो भने ‘नमस्कार, धन्यवाद’ मात्र भन्ने गरेको सहायक प्रजिअ अर्यालले बताए ।

सिकर्मी काम गर्दै आएका विकले पछिल्लो तीन–चार वर्षदेखि अस्वाभाविक गतिविधि गर्दै आएका थिए । कहिले अरूको बस्तुभाउ फुकाइदिने, चोरी गर्नेजस्ता काम गर्दै आएका विकको राम्ररी उपचार भए सुधार हुन सक्ने ककनी– ७ का वडासचिव अरुणकुमार पाठक बताउँछन् ।

दिनभरको प्रयास खेर गएपछि उद्धारमा अब सेना खटाउनुको विकल्प रहेन । यसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिप्रका नुवाकोटमा पुनः बैठक डाकियो । र बैठकले उद्धारका लागि सेना खटाउने निर्णय गर्‍यो । निर्णयअनुसार करिब साँझ ७ बजे उद्धारका लागि सैनिक टोली हेलिकोप्टर लिएर घटनास्थल पुगे । हेलिकोप्टरले विकको आकाशबाटै निरीक्षण गर्‍यो । तारबाटै उद्धार गर्ने कोसिस गर्‍यो । तर, सकिने अवस्था नदेखिएपछि सेनाले उद्धार टोलीलाई पोलनजिक उतार्‍यो ।

निर्देशनअनुसार सैनिक टोली जब पोल चढ्ने प्रयासमा जुटे । झुन्डिएका विक तार समाउँदै पोलतर्फ फर्कँदै गरेको देखिए । सैनिक टोली पोलको टुप्पोमा पुग्यो । विक पोलमा नआइपुगेसम्म शान्त भएर बसे । जब आइपुगे । डोरीमा उनिएको ‘लक’बाट उनलाई सैनिक टोलीले बलियोसँग अठ्याए । र, सुरक्षित रूपमा उनलाई ओरालियो । अन्ततः उनको सकुशल उद्धार भयो । काठमाडौंको रेन्जर गणबाट हेलिकोप्टरमा आएका उपसेनानी मंगल श्रेष्ठको टिमले उद्धार गरेको हो ।

उद्धारपछि जिप्रका नुवाकोटका प्रमुख एसपी रामप्रकाश शाहले भने, ‘दिनभरको प्रयासपछि माइलाको उद्धार भएको छ । सैनिक टोलीबाट उनको उद्धार भयो । साँझ परेपछि उनी आफैँ पोलतर्फ फर्किएको देखिए । यही क्रममा सेनाका टोली पनि माथि पुगेको थियो । उनीहरूकै सहयोगमा विकलाई तल झारियो ।’ यसरी झन्डै आठ घन्टाको अप्रेसन उद्धार सफल भयो । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।