NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चालु अधिवेशनबाट प्रदेश १ को नाम टुंग्याउन एमाले र कांग्रेस सहमत

काठमाडौं । प्रदेश १ को नामाकरणको विषयमा प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारूढ दल कांग्रेस एक ठाउँमा उभिने भएका छन् । प्रदेश १ एमाले नेतृत्वको कार्यदलले आइतबार कांग्रेस संसदीय दलसँग छलफल गरेका थिए । छलफलमा चालु अधिवेशनबाट नै प्रदेशको नामाकरण टुंग्याउन सहमत भएको एमाले सांसद तथा कार्यदलका संयोजक हिक्मत कार्कीले जानकारी दिएका छन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले पनि चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंग्याउन चाहेका छन् । अहिलेसम्म कांग्रेस, एमाले, माओवादी र मधेसी दलहरूले प्रदेशको नामको सम्बन्धमा कोशी, सगरमाथा, कोचिला, किरात, लिम्बुवान लगायत नामको प्रस्ताव अएपनि दुई तिहाइ कसैको नपुग्दा समस्या उत्पन्न भएको कार्कीको भनाइ छ ।

‘सात प्रदेशमध्ये अन्य ६ प्रदेशले नाम पाइसकेको छ । प्रदेश १ मा भूगोलबाट राख्ने कि पहिचनाबाट राख्ने भन्नेमा दलहरूबीच कुरा नमिल्दा ५ वर्ष त्यसै खेरजाने अवस्थामा छ’, कार्कीले भने, ‘अब यही अधिवेशनबाट प्रदेश १ को नमा टुंग्याउने पक्षमा कांग्रेस सहमत भएको छ ।’

प्रदेशसभामा ९१ सदस्य प्रदेश सभामा एमालेको ३९, कांग्रेसको २१, माओवादी १५, एकीकृत समाजवादी १०, जसपा ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रियमञ्च १–१ सदस्य रहेका छन् ।

२०७६ वैशाख २३ मा प्रदेश राजधानी विराटनगरलाई बनाउने सहमति भएपनि प्रदेशको नाम भूगोलबाट राख्ने कि पहिचानबाट राख्ने भन्नेमा प्रमुख दलहरूबीच सहमति नजुट्दा प्रदेशले १ ले अहिलेसम्म नाम पाउन सकेको छैन ।