NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पुष्पलालदेखि ओलीसम्म : यस्ता छन् नेतृत्व चयन र टुटफुटका श्रृंखला

काठमाडौं । पुष्पलालदेखि केपी ओलीसम्म आइपुग्दा एमालेले नेतृत्व र टुटफुटका अनेक आरोह–अवरोह पार गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको उत्तराधिकारी रहेको दाबी गर्दै आएको छ । अर्का नेता मनमोहन अधिकारीलाई आदर्श र मदन भण्डारीलाई मार्गदर्शक नेताको रूपमा लिएको छ । एमालेले अहिलेसम्म नेकपाकै निरन्तरतको रूपमा महाधिवेशन गर्दै आएको छ । यसका उतारचढाव निक्कै छन् ।

पुष्पलालले वि.सं. १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारमा नेकपा स्थापना गरेका थिए । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफैँ थिए । नेकपा स्थापनाको ४ वर्षमा प्रथम महाधिवेशन भएको थियो । प्रथम महाधिवेशनबाट मनमोहन महासचिवमा चयन भएका थिए । ०३५ मा पुष्पलाल जीवित रहँदासम्म नेकपा अस्तित्वमा रहेको थियो ।

खासमा एमालेको जन्म ०४६ को बहुदल स्थापनपछि मदन भण्डारी नेतृत्वको माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीबीच ०४७ पुस २२ मा भएको थियो । मनमोहनदेखि ओलीसम्म ६९ वर्षे इतिहासमा पार्टीले धेरै उतारचढाव व्यहोरेको छ । नीति र नेतृत्वको कारण विभिन्न कालखण्डमा विभाजन खेप्दै आएको एमालेले ओली पालासम्म आइपुग्दा पुनः विभाजनको पीडा खेपेको छ । नेकपा हुँदै एमालेसम्म विभिन्न चार कालखण्डमा नीति, नेतृत्व र विभाजनको अवस्था रोचक र घोचकपूर्ण देखिन्छ ।

प्रथम महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन २०१० माघ १० गते (३० जनवरी १९५४) मा ललितपुरको पाटनमा भूमिगत रूपमा भएको थियो । १३–१७ सम्म सञ्चालन भएको प्रथम महाधिवेशनले एमालेका संस्थापक नेता मनमोहन अधिकारीलाई महासचिव चयन गरेको थियो । निर्वाचित १५ सदस्यीय केन्द्रीय कमिटीमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ पोलिटब्यूरो सदस्य थिए । महाधिवेशनले २००७ सालको आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको थियो ।

दोस्रो महाधिवेशन

नेकपाको दोस्रो महाधिवेशन २०१४ जेठ १५–२५ सम्म काठमाडौंको दरबारमार्गस्थित फोहरादरबारमा भएको थियो । पुष्पलालले संविधानसभा र संसदीय प्रजातन्त्रसहितको राजनीतिक दस्तावेज प्रस्ताव गरेका थिए । डा. केशरजंग रायमाझीले संवैधानिक राजतन्त्र र शम्भुराम श्रेष्ठले गणतन्त्रमा जानुपर्ने लाइनसहित राजनीतिक प्रतिवेदन प्रस्ताव गरेका थिए । महाधिवेशनमा पुष्पलालको संविधानसभाको लागि संघर्ष भन्ने लाइन पास भयो । तर महासचिवमा बहुमतले केशरजङ्ग रायमाझीलाई बनायो । महाधिवशनबाट रायमाझीको नेतृत्वमा १७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

२०१७ पुस १ गतेको राजा महेन्द्रको सैनिक ‘कु’ लाई डा. केशरजंग रायमाझीले ‘प्रगतिशील कदम’ भनेर स्वागत गरेपछि नेतृत्वमा रहेको विचलन छताछुल्ल भएको थियो । पुष्पलालको नेतृत्वमा उक्त कदमलाई ‘सैनिक आतंक’को संज्ञा दिँदै नेतृत्वविरूद्ध संघर्ष गरेका थिए । रायमाझीलाई कम्युनिस्ट पार्टीलाई राजाका पाउमा चढाउने घोर दक्षिणपन्थी र राजावादी चरित्रलाई उदांगो पार्दै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, जनमुखी र परिवर्तनकारी आन्दोलनका रूपमा विकास गर्न पुष्पलाल समूहले जोड दिएका थिए । नीति एउटाको र नेतृत्व अर्कैको रहँदा नेकपाभित्र दोस्रो महाधिवेशनबाट विचलन सुरू भएको थियो ।

तेस्रो महाधिवेशन

डा. केशरजंग रायमाझीको नेतृत्व दरभंगा प्लेनमको निर्णय विपरीत दक्षिणपन्थी लाइनमा अघि बढ्न थालेको आरोप लगाउँदै दरभंगा प्लेनमद्वारा निर्धारित पाँच वटै ‘जोन’ अर्थात् क्षेत्रका प्रतिनिधिहरूसमेत भई २०१८ भदौमा तुल्सीलाल अमात्य सचिव रहेको अन्तरजोन सामञ्जस्य समितिको गठन भयो । अमात्यले पुष्पलालसँग समन्वय गरी जेलमा रहेका मनमोहनलाई छुटाएर भारतमा लैजाने र दुवै नेतालाई मिलाएर अघि बढ्ने प्रयत्न गरेका थिए ।

अन्तरजोन सामञ्जस्य समितिको निर्णयसार २०१९ वैशाख ४ गतेदेखि १५ गतेसम्म नेकपाको तेस्रो महाधिवशेन भारतको वाराणसीमा भएको थियो । उक्त महाधिवेशनले तुल्सीलाल अमात्यद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गर्यो । महासचिवमा बहुमतले अमात्यलाई नै चयन गरेको थियो । उनको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

तेस्रो महाधिवेशनपछि नेकपाभित्र सिंगो विश्व कम्युनिस्ट आन्दोलनमा रूसी र चिनियाँ कम्युनिष्ट आन्दोलनलाई हेर्ने दृष्टिकोण फरक पर्न गयो । त्यसलाई महाविवादका रूपमा चर्काउने प्रयत्न भएपछि कम्युनिस्ट पार्टी त्यसबाट थप प्रभावित हुन पुग्यो । त्यही क्रममा नेपालमा तुलसीलालले ‘कुन बाटो ?’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका प्रकाशन गरे । यी दुई प्रमुख नेताबीच विवाद चर्किदै गयो । फलस्वरुप, २०२५ सालमा पुष्पलालले आफ्नो अगुवाइमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी अलग समूह घोषणा गरे । दोस्रो महाधिवेशनबाट नेकपा भित्र देखिएको विचलन तेस्रो महाधिवशेनमा आइपुग्दा विभाजनको विजारोपण भयो ।

चौंथो महाधिवेशन

तेस्रो महाधिवशेनपछि कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा त्यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० गते मनमोहन, शम्भुराम, मोहनविक्रम सिंहलगायतका नेताहरुको सक्रियतामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि प्रयास गरेका थिए । निरन्तर वार्ता र छलफल गरे पनि सहमति बन्न सकेन । अन्ततः २०३१ भदौ ३० गतेदेखि असोज ७ गतेसम्म भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवशेन आयोजना गरियो । त्यसले एकता कायम गर्नेभन्दा थप नयाँ समूह बनाएर नेकपामा अर्को विभाजन ल्याउने काम गर्यो, जुन मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (चौम)का नामले परिचित रहेको छ ।

एकातिर नेकपा थप विभाजन भइ कम्युनिष्ट आन्दोलन नै छिन्नभिन्न भएको थियो । अर्कोतिर २०२८ सालमै पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णय गरेको थियो । त्यही झापा विद्रोहकै धारअन्तर्गत २०३२ साल जेठमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेशन केन्द्र गठन गरेर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई अघि बढाउने प्रयास भए । त्यसलाई अघि बढाउँदै २०३५ पुस ११ गते मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) को स्थापना गरियो, जुन कालान्तरमा नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा स्थापित भयो ।

नेकपा (माले) ले सिंहको नेतृत्वमा भएको चौंथो महाधिवेशनलाई मान्यता नदिइ २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले)को चौथो राष्ट्रिय महाधिवेशन आयोजना ग¥यो । उक्त महाधिवशेनले संयुक्त जनआन्दोलनसम्बन्धी दृष्टिकोण अघि सार्नुका साथै नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सा¥यो । त्यस महाधिवेशनले झलनाथ खनाललाई विदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिवका रूपमा चयन ग¥यो । भण्डारीको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी गठन भएको थियो ।

पाँचौं महाधिवेशन

०४६ सालको संयुक्त जनआन्दोलन सफल भएपछि तत्कालिन माले र नेकपा (माक्सवादी)बीच एकीकरण भई २०४७ पुस २२ गते एमालेको स्थापना भएको थियो । एकीकृत पार्टीको अध्यक्षमा मनमोहन र महासचिवमा मदन चयन भए । एमालेको केन्द्रीय कमिटी ३१ सदस्य बनाइएको थियो । दुई पार्टी एकीकरण भएपश्चात् एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन २०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा सम्पन्न भयो । काठमाडौँको दशरथ रंगशालामा उद्धघाटन सत्र रहेको थियो । महाधिवेशनको बन्दशत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो । २०४६ को संयुक्त जनआन्दोलनपछि अन्तरिम सरकार, नयाँ संविधान निर्माण र २०४८ को आमनिर्वाचन भए पश्चात् भएको एमाले महाधिवेशनले भण्डारीलाई पुनः महासचिवमा चयन गरेको थियोे ।

२०४८ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले ६९ सिट प्राप्त गरी प्रमुख विपक्षी दलको हैसियत प्राप्त भएको थियो । त्यसैले एमालेको महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो । बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौंको दुई निर्वाचन क्षेत्रबाट जितेका कारण भण्डारी सबैको आकर्षणको केन्द्रमा रहेका थिए । भण्डारीले यसै महाधिवेशनमा जनताको बहुदलीय जनवाद(जबज) सम्बन्धी महत्वपूर्ण राजनीतिक दस्तावेज प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गरेको थियो । जसलाई एमालेले नेपाली क्रान्तिको नवीनवत विचार र मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या गर्दै आएको छ ।

पाँचौँ राष्ट्रिय महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्षको रूपमा चयन गरेको थियो । तर २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी महासचिव मदन भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई महासचिव चयन गरेको थियो । महाधिवेशनबाट ४४ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

छैटौं महाधिवेशन

२०५४ माघ १२ गतेदेखि १८ गतेसम्म बाँकेको नेपालगञ्जमा नेकपा (एमाले) को छैटौं राष्ट्रिय महाधिवेशन भएको थियो । जनताको बहुदलीय जनवादको कार्यनीति प्रस्तुत गर्ने सम्बन्धमा फरक मत देखा पर्दा केपी शर्मा ओलीद्वारा लिखित र प्रस्तुत कार्यनीतिलाई अत्याधिक बहुमतले पारित गरेको थियो ।

‘विकृति र विसंगतिकाविरुद्ध संघर्ष गरौं, विचारधारात्मक रुपमा पार्टीलाई एकताबद्ध पारौं’ भन्ने मूलनाराका साथ भएको उक्त महाधिवेशन भयो । यो महाधिवेशनमा पनि अध्यक्षमा मनमोहन नै चयन भएका थिए । केन्द्रीय कमिटी ४३ सदस्य थियो ।

समापनलगत्तै महाकाली सन्धिमा पार्टीले लिएको नीतिप्रति असहमति जनाउँदै वामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भयो । गौतमले एमालेको आधा केन्द्रीय कमिटी विभाजन गरी सहाना प्रधानको अध्यक्षतामा माले पुनर्गठन गरेका थिए । २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मालेले शर्मनाक हार व्यहोरेपछि २०५८ गौतमसहित धेरै नेताहरू एमालेमै समाहित भएका थिए ।

सातौं महाधिवेशन

नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशन २०५९ माघ १८–२२ गतेसम्म धनुषाको जनकपुरमा भएको थियो । एकातिर राजाले शासन आफ्नो हातमा लिएको र अर्कातिर माओवादीले जनयुद्ध उत्कर्षमा रहेको समयमा ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना भएको थियो । महाधिवेशनले ओलीद्वारा प्रस्तुत पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी अवधारणा अस्वीकृत गरेको थियो ।

२०५६ वैशाख १३ गते अध्यक्ष मनमोहन अधिकारीको चुनाव प्रचार अभियानका क्रममै निधन भएपछि रिक्त रहेको अध्यक्ष पद महाधिवेशनबाट खारेज गरिएको थियो । सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल पार्टीको एकल पार्टी नेतृत्वको रूपमा महासचिवमा निर्वाचित भएका थिए । महाधिवेशनबाट ६६ सदस्यीय केन्द्रीय कमिटी गठन भएको थियो ।

आठौं महाधिवेशन

एमालेको आठौँ राष्ट्रिय महाधिवेशन २०६५ फागुन ५ गतेदेखि १४ गतेसम्म रूपन्देहीको बुटवलमा भएको थियो । पार्टीभित्र ओली, नेपाल र खनालबीच अन्तरविरोध चर्किएको समयमा यस महाधिवेशनले सातौँ महाधिवेशनमा ओलीद्वारा प्रस्तुत भई स्थगत गरिएको पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी प्रस्ताव लाई पारित गरी पार्टीलाई बहुपदीय सामूहिक नेतृत्वमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । महाधिवेशनमा पहिलो पटक प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको थियो, जसमा झलनाथ खनाल अध्यक्षमा निर्वाचित भएका थिए । खनालको अध्यक्षतामा ११५ सदस्यीय नयाँ केन्द्रीय कमिटी गठन गरेको थियो । महाधिवेशन सकिएपछि नेताहरूले पार्टीको विवाद तिनाउ नदीमा बगाएको दाबी गरेका थिए । तर महाधिवेशनपछि गुट र उपगुट संस्थागत रूपमै मौलाउने र एक अर्काबीच चरम अविश्वास बढ्दै गएको थियो ।

नवौं महाधिवेशन

२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण ‘जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ एमालेकोे नवौँ राष्ट्रिय महाधिवेशन भएको थियो ।
नेपाली समाजको सम्बन्धमा परम्परागत रूपमा गर्दै आएको विश्लेषणलाई परिमार्जन गर्दै महाधिवेशनले नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको निष्कर्ष निकालेर समाजवाद निर्माणतर्फ पार्टीलाई अघि लैजाने निर्णय गरेको थियो ।

बहुमत महाधिवेशन प्रतिनिधिले ओलीको नेतृत्वमा बहुपदीय नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको थियो । महाधिवेशनबाट अध्यक्षमा ओली, उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल निर्वाचित भएका थिए । महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल, घनश्याम भुसाल निर्वाचित भएका थिए ।

त्यस्तै पाँच जना सचिवमा क्रमशः प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई निर्वाचित भएका थिए । आठौं महाधिवेशनमा खनाललाई सहयोग गरेका गौतमले अन्तिममा ओलीलाई समर्थन गर्दा माधव नेपाल ४४ मतान्तरले ओलीसँग पराजित भएका थिए । पराजयसँगै ओली र नेपालको तिक्तता बढ्दै गयो । ०७४ को निर्वाचनमा ओलीले माओवादीसँग सहकार्य गर्दै पार्टी एकता गर्नेसम्मको सहमति गरे । वाम गठबन्धनले निर्वाचनमा अध्याधिक बहुमत प्राप्त गर्यो । पूर्वसहमति अनुसार एमाले र माओवादी मिलेर ०७५ मा नेकपा गठन गरे । ओली सरकारको प्रधानमन्त्रीसहित पार्टीको प्रथम अध्यक्ष भए । प्रचण्ड दोस्रो अध्यक्ष भए । दुई अध्यक्षले आफूलाई थप पेल्दै गएको नेपाल समूहले गुनासो गर्न थाले ।

पार्टी र सरकार सञ्चालनको विषयलाई लिएर विस्तारै ओली–प्रचण्डबीच मनमुटाव बढ्दै गयो । माधव समूहले प्रचण्डलाई साथ दिए । आफूविरूद्ध प्रचण्ड–माधव समूहले घेराबन्दी गरेको महशुस गरेका ओलीले अन्ततः संसद् नै विघटन गरेका थिए । ओलीको कदमलाई लिएर आक्रोसित भएका प्रचण्ड–माधव समूहले सडक संघर्ष नै गरेका थिए । ०७७ फागुन २३ मा सर्वोच्चले नेकपा बदर गरेपछि पुरानै पार्टीमा फर्किएका थिए । एमाले ब्युँतिसकेपछि पनि ओलीको कार्यशैली नसच्चिएको आरोप लगाउँदै माधव समूहले ०७८ भदौ २ मा पार्टीबाट अलग भए ।

दशौं महाधिवेशन

२०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनको नारायणगढ र सौराहामा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवशेन सम्पन्न भयो । एमाले विभाजनपछिको पहिलो महाधिवेशनले पुनः ओलीलाई नियुक्त गरेको थियो । उनको नेतृत्वमा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन भएको थियो ।

नयाँ अभ्यासका रूपमा यसपटक नेकपा (एमाले) ले पहिलो पटक २०७८ असोज १५–१७ मा विधान महाधिवेशन आयोजना गरी राजजीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन टुंग्याएको थियो ।

यस महाधिवेशनबाट एमालेका हस्तीहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, प्रदीप नेपाल लगायत नेताहरू बाहिरिए । माओवादी पृष्ठभूमिबाट आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत नेताहरूलाई भित्रिए ।