NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

के युक्रेनको अन्न चोरेर बेच्दैछ रुस ?

मस्को । रुस र युक्रेनबीच झन्डै तीन महिनादेखि युद्ध चलिरहेको छ । अहिले रुसले युक्रेनको अन्न विदेशमा बेचेको आरोप लगाइएको छ ।

कब्जा गरिएको दक्षिणी युक्रेनमा रुसले नियुक्त गरेका अधिकारीहरूले रुसले युक्रेनबाट खाद्यान्न विदेश पठाउँदै आएको बताएका छन् ।

यसअघि युक्रेनी अधिकारीहरूले रुसले युक्रेनबाट ६ लाख टन अन्न चोरेर निर्यात गरेको आरोप लगाएका थिए । तर रुसले यो आरोप अस्वीकार गर्दै आइरहेको छ ।

युक्रेनको अन्नको आवश्यकता विश्वव्यापी रूपमा बढेको छ । यहाँबाट अफ्रिका र मध्यपूर्वमा लाखौं टन अन्न निर्यात हुने गरेको छ ।

तर, रुसी जलसेनाले युक्रेनको ब्ल्याक सी बन्दरगाहमा रोक लगाएकाले अहिले त्यहाँ उत्पादन भएको खाद्यान्न अन्य देशमा पठाउन सकिएको छैन । रुसले ब्ल्याक सिको तटबाट पानी निकास गरेर अन्न निर्यात गर्न करिडोर सञ्चालन गर्नुपर्ने युक्रेनले बताएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार रुसले युक्रेनबाट चोरेको गहुँ अफ्रिकाका खडेरी प्रभावित देशहरूलाई बेचिरहेको अमेरिकाको आरोप छ ।

मध्ये मेमा अमेरिकाले अफ्रिकाका सहित १४ देशहरूलाई रुसी कार्गो जहाजहरू खाद्यान्न बोकेर युक्रेन क्षेत्रको बन्दरगाहबाट निस्किरहेको भन्दै चेतावनी दिएको थियो ।

रुस के भन्छ ?

युक्रेनको जापोरिजिया क्षेत्रका रुसी इन्चार्ज येभगेनी बालित्सकीले अन्न बोकेको रेल क्रिमियातर्फ प्रस्थान गरेको र त्यहाँबाट मध्यपूर्व जाने बताएका थिए । उनले रुसको सरकारी टिभीसँग यसबारे मुख्यतया टर्कीसँग सम्झौताहरू भइरहेको पनि बताएका छन् ।

क्रिमियामा रुसी ओक्युपाइड अथोरिटीका प्रवक्ता ओलेग क्रिचकोभले जापोरिजियाको मेलिटोपोल सहरबाट ११ वटा खाद्यान्न गाडा क्रिमिया पुगेकाे बताए । उनले रुसी समाचार एजेन्सी आरआईएसँग रुसले कब्जा गरेको खरसान क्षेत्रबाट अन्न पठाइएको बताएका हुन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार टर्कीका विदेशमन्त्री मेभलुत चौसोलसँग अन्न समस्याबारे कुरा गरे पनि कुनै फाइदा नभएको बताएका छन् ।

लाभरोभले रुसले युक्रेनको गहुँ निकासीमा अवरोध गरिरहेको कुरा अस्वीकार गर्दै आएका छन् । युक्रेनले यी अन्नहरु ओडिसा र अन्य बन्दरगाहको पानी निकासी गरेर पनि पठाउनुपर्ने उनको भनाइ छ ।

तर युक्रेनका विदेशमन्त्रीले रुसले दक्षिणी युक्रेनमा आक्रमण गर्न उक्त मार्ग प्रयोग गर्ने भएकाले युक्रेनले ती बन्दरगाहबाट पानी निकाल्न नसक्ने बताएका छन् । ।

रुसले पनि खाद्य सङ्कटका लागि पश्चिमी प्रतिबन्धहरूलाई दोष दिँदै आएको छ । तर पश्चिमी देशहरू रुसले खाद्य आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरिरहेको बताइरहेका छन् ।

रुसविरूद्ध फाैजदारी मुद्दा चलाउने

टर्कीका लागि युक्रेनका राजदूत भासिल बोडनारले गत साता रुसले क्रिमियाबाट चोरीको गहुँ अन्य देशहरूमा पठाइरहेको बताएका थिए । उनले रोयटर्ससँग भनेका थिए, ‘हामीले टर्कीलाई सहयोगका लागि अपील गरेका छौं र हामीले अन्न चोरेकोमा फौजदारी मुद्दा दर्ता गर्दैछौं ।’

युक्रेनको खाद्य संघका प्रमुख मेकोला गोर्बाचेभले युक्रेनको बन्दरगाहबाट निर्यात सुरू भएन भने जुलाईको अन्त्यमा काटिएका बालीमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । उनले युक्रेनको अन्न निर्यात अघिल्लो वर्ष ४४.७ मिलियन टनको तुलनामा घटेर आगामी वर्ष अधिकतम २ करोड टन पुग्ने बताए ।

युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न, खाना पकाउने तेल, इन्धन र मलको मूल्य बढेको छ । यसको कारण रुसमाथि पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिबन्ध पनि हो । रुस र युक्रेनले विश्वव्यापी रूपमा अन्नको एक तिहाइ आपूर्ति गर्छन् । यसमा युक्रेनले १० प्रतिशत अन्न निर्यात गर्छ ।

सन् २०१९ मा १६ प्रतिशत मकै र ४२ प्रतिशत सूर्यमुखी तेल युक्रेनबाट आपूर्ति भएको थियो । विश्वभर युक्रेनबाट निकासी र कतिपय मुलुकबाट खाद्यान्न सङ्कलन रोकिँदा खाद्यान्न अभाव भएका देशहरूले चर्को संकट झेलिरहेका छन् ।