NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत

काठमाडौं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज सिंहदबारमा बसेको १३ औं बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेको हो ।

कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्को जोखिम अवस्थाको विश्लेषण तथा प्रभाव आंकलन, मन्त्रालयगत तथा विषयगत क्षेत्रको जिम्मेवारीका साथै आपतकालीन संचालन कोष तथा सामग्रीहरुको मौज्दात विवरण समेटिएको छ । दुई खण्डमा बाँडिएको कार्ययोजनाको पहिलो खण्डमा जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आंकलन, विगतका मनसुनको पूर्वतयारी तथा प्रतिकार्यको समीक्षा र मन्त्रालय तथा विषयगत क्षेत्रको जिम्मेवारी समेटिएको छ । त्यस्तै, दोस्रो खण्डमा संघीय मन्त्रालय तथा निकायहरु र विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना छ ।

कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न र मनसुनजन्य विपद्को व्यवस्थापनलाई कार्यान्वयन तहमा प्रभावकारी समन्वय र सहकार्य गर्न मनसुन अवधिभरका लागि बैठकले गृह मन्त्रालयको विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ । टोलीमा संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जनस्रोत तथा सिंचाई विभागका प्रतिनिधिहरु रहेका छन् ।

बैठकमा गृहमन्त्री खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री खाणले विपद्का घटनाहरुलाई न्यूनीकरण गर्न तथा घटना भइहालेमा अस्तव्यस्तता रोक्न प्रभावकारी संचारमा जोड दिनुपर्ने धारणा राखे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधारणसम्म पुग्नेगरी संचार गर्न सुझाव दिए ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखिन् । मुख्यसचिव शंकरदास बैरागीले उद्धार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनैतिक स्थानहरुमा पर्याप्त मात्रामा उपकरणहरुको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिए ।

गृहसचिव टेकनारायण पाण्डेले विपद्को समयमा पनि सडक, बिजुली, संचारजस्ता सार्वजनिक संयन्त्रलाई क्रियाशील गराइराख्न ज्यादा ध्यान दिइने बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ का विशेषताहरुबारे बैठकमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विभागका महानिर्देशक, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे बैठकलाई जानकारी गराएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष