NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

परराष्ट्रनीतिको मुद्दामा सरकारलाई घेर्दै एमाले

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सरकारले सन्तुलित परराष्ट्रनीति खलबल्याएर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको निष्कर्ष निकाल्दै सरकारको कामको भण्डाफोर गर्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारत र चीनलाई चिढ्याउँदै नेपाललाई अमेरिकातिर ढल्काउन खोजेको दाबी गर्दै एमालेले सरकारको कदमको विरोध र आलोचना गर्ने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने क्रियाकलापप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

‘वर्तमान सरकारले हाम्रा बाह्य सम्बन्धमा जुन ढंगको विचलन ल्याइरहेको छ, जसरी हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्रनीति खलबलिँदै छ, वर्तमान सरकारका कामबाट जसरी नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम भइरहेको छ, त्यसप्रति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ,’ बैठकका निर्णयबारे उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनतामाथि आँच आउने कुनै पनि गतिविधि हुन नदिनका निम्ति बलियो राष्ट्रिय पहरेदारका रूपमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाउने निष्कर्ष निकालेका छौँ ।’

यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पार्टीका तर्फबाट उपमहासचिव ज्ञवालीले भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्ने सरकारको काम र आसन्न अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका थिए ।

सोमबारको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि एमाले, एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्रीले ती सबै विषय प्रस्ट्याउनुपर्ने माग राखेका थिए । ज्ञवालीले प्रतिनिधिसभा र सम्बन्धित समितिहरूमा भएको छलफलका विभिन्न आयाममा केन्द्रित रहेर बैठकमा छलफल भएको जानकारी पनि दिए ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री देउवालाई भ्रमणबारे जानकारी लिन ५ असारमा समितिमा बोलाउने निर्णय भएको समितिका सभापति पवित्रा निरौला खरेलले बताइन् ।

त्यस्तै, बैठकले नेपालको परराष्ट्र नीतिबारे छलफलका लागि ३ असारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाउने निर्णय गरेको छ । समितिको सोमबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेता भीम रावललगायतका सांसदले प्रधानमन्त्रीको आसन्न भ्रमणले नेपालको परराष्ट्र नीतिमाथि नै आशंका गर्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै प्रधानमन्त्रीले उपस्थित भएर प्रस्ट्याउनुपर्ने माग गरेका थिए । आइतबार संसद्मा बोल्दै एमाले सांसदहरूले यसबारे सरकारको धारणा दिन प्रधानमन्त्रीसँग माग गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।