NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विश्वविजेता फ्रान्सको नमिठो पराजय, विश्वकप फाइनलमा हारेको क्रोएसियाले लियो बदला

काठमाडौं । नेसन्स कपमा फ्रान्सले नमिठो पराजय बेहोरेको छ । २०१८ को विश्वकप फाइनलमा भोगेको बदला क्रोएसियाले फ्रान्सलाई नेसन्स लिगबाट आउट गरेर लिएको छ । चार खेल खेल्दा फ्रान्सले जम्मा २ अंक बनाएको छ । दुई खेल हार्दा फ्रान्सले दुईवटामा बराबरी गरेको हो ।

यस अघि फ्रान्सले लिगमा अष्ट्रिया र क्रोएसियासँग बराबरी खेलेको थियो । तर दोस्रो खेलमा क्रोएसिया फ्रान्समाथि भारी पर्यो । ५ औं मिनेटमा लुका मोड्रिचले गरेको गोल नै निर्णायक बनिदिंदा फ्रान्सले नमिठो झट्का बेहोरेको हो ।

गएराति नै डेनमार्कले अष्ट्रियालाई सहजै २–० गोलले पराजित गरेपछि फ्रान्स लिगबाट बाहिरिएको हो । किनकी अबका बाँकी दुवै खेल जित्दा पनि फ्रान्स समूह विजेता बन्न सक्ने छैन । क्रोएसियाको चार खेलबाट ७ अंक भएको छ । अब बाँकी दुई खेल जित्दा र डेनमार्क पराजित हुँदा र बराबरी खेल्दा क्रोएसिया अघिल्लो चरणमा प्रवेश गर्न सक्नेछ । चार खेलबाट डेनमार्कले ९ अंक जोडेको छ । पहिलो खेलमा डेनमार्कले फ्रान्सलाई २–१ गोलले पराजित गरेको थियो ।

क्रोएसिया २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित भएको थियो । २०२० को नेसन्स लिगका दुईवटै खेलमा पनि क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो । तर यसपटक क्रोएसियाले सुन्दर बदला लिएको छ ।