NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अर्थमन्त्रीको जस्ता समाचार कति आउँछन् कति, बोल्न जरुरी छैन : देव गुरुङ [अन्तर्वार्ता]

काठमाडौं । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नै कार्यकक्षमा अनाधिकृत व्यक्तिलाई मध्यराति प्रवेश गराई करको दायरासहित राजश्वका विषयमा चलखेल गरेको तथ्य सार्वजनिक भएपछि उनी गम्भीर विवादमा तानिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले बजेट निर्माण जस्तो संवेदनशील विषयमा असम्बन्धित व्यक्तिबाट राजश्वमा चलखेल गर्नु राष्ट्रघात भएको आरोप लगाएका छन् ।

यस विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले संसदलाई स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मालाई आइतबार अध्यक्ष प्रचण्डले आफ्नै निवासमा बोलाई छलफल गरेका थिए । पार्टीभित्रै केही नेताहरूले मन्त्री शर्मालाई फिर्ता बोलाउन प्रचण्डलाई दबाब दिएका छन् ।

पार्टीले औपचारिक रूपमा यस विषयमा केही बोलेको छैन । यसै विषयमा माओवादीका नेता देव गुरुङसँग नेपालवाचले पार्टीको आधिकारिक धारणाबारे प्रश्न गरेको छ ।

बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई अर्थमन्त्रीले आफ्नै कार्यकक्षमा प्रवेश गराई राजश्वमा चलखेल गरेको गम्भीर आरोप लागेको छ । यसमा पार्टीको आधिकारीक धारणा के हो ?

यो पार्टीले थाहा पाउने विषय परेन ।

पार्टीलाई थाहा नभए कसलाई थाहा हुन्छ ?

त्यो अर्थमन्त्रालयलाई सोध्नोस् ।

पार्टीको धारणा चाहिँ के हो ?

प्रचण्डसँग भेटघाट गर्नुभएको थियो क्यारे उहाँसँग सोध्नोस् ।

यस्तो गम्भीर विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नु पर्दैन ?

त्यस्ता बनिबनाउ समाचार कति आउँछन्, कति ? कतैबाट पुष्टि भएको छैन । पुष्टि भयो भने छलफल हुन्छ । मिडियामा आउने समाचारको पछाडि लागेर हुँदैन ।

भ्रम वा यर्थाथबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्दैन ?

मिडियाले उठाएका विषयमा सबै कुरा बोलिराख्नु जरूरत छैन । आधिकारिक पुष्टि हुनुपर्छ । पुष्टि नभएको विषयमा पार्टीले धारणा सार्वजनिक गर्नुपर्छ भन्ने छैन । त्यतिकै हचुवा तालले हल्काफुल्का ढंगले पार्टी बोल्ने कुरा आउँदैन ।

अर्को विषय एसिया प्रशान्त हेर्ने अमेरिकी सेनाका प्रमुखसहितको टोलीले नेपालको भ्रमण सकेर स्वदेश फर्किएका छन्, यसमा पार्टीको धारणा के हो ?

यो विषय रक्षा वा परराष्ट्र मन्त्रालयसँग सोध्ने विषय हो ।

माओवादीको आधिकारिक धारणा के हो ?

रक्षा वा परराष्ट्र मन्त्रालयले आधिकारिक विषय प्रष्ट गरेको भए पो पार्टीले धारणा बनाउने हो । यस विषयमा सरकारले पनि केही बोलेको छैन ।

प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूलाई भेटेर गएका छन्, यस्ता विषयमा जिम्मेवार पार्टी जवाफदेही हुनुपर्दैन ?

आधिकारिक विषय नै प्रष्ट भएको छैन । त्यस्ता केही नयाँ कुरा आयो भने सोच्ने कुरा भयो । भ्रमण भयो भनेको छ । नयाँ तथ्य केही आएको छैन । आउने जाने त गरिराखेकै छन् । सम्बन्धित निकायले आधिकारिक कुनै जानकारी नदिएकाले बोल्न हतार हुन्छ ।