NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

किन बन्द गरियो पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्जको ढोका ?

रुष्ट पर्यटन व्यवसायीले बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि गर्न नपाइने भएको छ ।

मनसुनसँगै विभिन्न जोखिम बढेपछि निकुञ्ज प्रशासनले आजदेखि लागू हुनेगरी अनिश्चितकालसम्मका लागि पर्यटकीय गतिविधि गर्न रोक लगाएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मनसुनले जंगल क्षेत्रको सडक बिग्रने तथा रुख ढल्नेलगायत घटना हुने भएकाले त्यसबाट हुनसक्ने सम्भावित अवरोध र क्षति हुन नदिन अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधिमा रोक लगाइएको जानकारी दिए ।

जंगल सफारी, जंगल वाकलगायत पर्यटकीय गतिविधिका लागि आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा चितवन राष्ट्रिय निकुञ्ज पर्दै आइरहेको छ । निकुञ्ज प्रशासनको यस्तो निर्णयसँगै पर्यटक र पर्यटन व्यवसायी दुवै प्रभावित हुने भएका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकअनुसार १ लाख ५९ हजार आठ सय ८१ पर्यटकले निकुञ्जको भ्रमण गरिसकेका छन् । जसबाट आठ करोड १७ लाख ८३ हजार राजस्व संकलन भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्ज प्रशासनको यस्तो निर्णयको पर्यटन व्यवसायीले विरोध जनाएका छन् । बिनाजानकारी पर्यटकीय गतिविधि रोकेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौवटा संस्थाले ध्यानाकर्षण पत्र बुझाउँदै असान्दर्भिक निर्णय फिर्ता गर्न माग गरेका छन् ।