NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मतदाता नामावली संकलन : कहाँ–कहाँबाट हुन्छ ? के–के चाहिन्छ कागजात ?

काठमाडौं । निर्वाचन आयोगले असार १ गते (आजदेखि) मतदाता नामावली संकलन, संशोधन कार्य पुनः सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणापछि गत माघ २५ गतेबाट मतदाता नामावली संकलन कार्य स्थगन गरेको आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गरेर पुनः यो कार्य अघि बढाउन लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका सबै नेपालीले आजबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जानकारी दिए ।

उनका अनुसार, नाम दर्ताका अतिरिक्त यसअघि दर्ता विवरणमा त्रुटि भएकाले त्यसलाई सच्याउन, नाम हटाउन, ठेगाना तथा मतदानस्थल परिवर्तन गर्न र दोहोरो नाम हटाउन पनि सकिनेछ ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि नामावलीे अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदाता नामावलीमा नाम लेखाउन कहाँ जाने ?

मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएर आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् ।
विगतमा मतदाता नामावली आफ्नो स्थायी थातथलो रहेको जिल्लामा नै पुगेर दर्ता गर्नुपथ्र्यो । तर आयोगले यसपटक यस्ता मानिसलाई सहुलियत दिएर आफू रहेकै स्थानबाट दर्ता गराउने सुविधा उपलब्ध गराएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार, देशको जुनसुकै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

‘नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्नेछन्,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पेसा व्यवसायको सिलसिलामा अन्य कुनै जिल्लामा बसोबास गरिरहेका व्यक्तिले पनि अब चाहेको मतदानस्थलबाट मत दिन पाउने भएका छन् । त्यसका लागि यस्ता व्यक्तिले नागरिकता, मतदाता परिचयपत्रसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

अस्थायी रूपमा बसोबास गरेको स्थानमा मतदानको अधिकार नहुँदा विगतमा ठूलो संख्यामा नागरिकहरू मताधिकारबाट वञ्चित हुँदै आएका थिए ।

के–के चाहिन्छ कागजात ?

नागरिकता ऐन, २०७३ अनुसार योग्यता पुगेका नेपाली नागरिकले आजबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्नेछन् । मतदाता नामावलीमा नाम लेखाउन जाँदा व्यक्ति नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ ।

महिलाको हकमा बिहेभन्दा पहिले नागरिकता लिएको भए सक्कल नागरिकता प्रमाणपत्र, विवाह दर्ताको छायाप्रति आवश्यक पर्छ ।

आयोगका अनुसार, नागरिकताको ठेगानाभन्दा अन्यत्र स्थानबाट बसाइ सरी आए–गएको भए सक्कल नागरिकता प्रमाणपत्र, त्यसको छायाप्रति र बसाइँ सराइको
छायाप्रति पेस गर्नुपर्छ ।

ठेगाना परिवर्तनका लागि बसाइँसराइँ गरेको खुल्नेलगायत कागजात पेस गरेर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ ।
आगामी निर्वाचनमा मताधिकारबाट वञ्चित नहुनेगरी नाम दर्ता गराउन आयोगले सबैमा आग्रह गरेको छ ।