NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दुई दिने सरकारी बिदाले कति घट्यो इन्धन खपत ?

काठमाडौं । इन्धन खपत कम गर्ने उद्देश्यले सरकारले जेठ १ गतेबाट लागू गरेको दुई दिने सार्वजनिक बिदा आजबाट औपचारिक रूपमा खारेज भएको छ । कुनै विस्तृत अध्ययनविनै परीक्षणका रूपमा गरिएको यो अभ्यास एक महिनासम्म चल्दा इन्धन खपत कतिले घट्यो भन्ने धेरैको जिज्ञासा छ ।

नेपाल आयल निगमले गत जेठ महिनामा पेट्रोल खपत ११ प्रतिशतले र इन्धन खपत ४ प्रतिशतले घटेको जनाएको छ । निगमका सह–प्रवक्ता पुष्कर कार्कीका अनुसार वैशाखमा तुलनामा जेठ महिनामा इन्धन खपत घटेको हो ।

निगमले उपलब्ध गराएको तथ्यांकअनुसार वैशाख महिनामा देशभर ६ करोड ७० लाख ९६ हजार लिटर पेट्रोल खपत भएको थियो । जेठ महिनामा यो खपत ७४ लाख १९ हजार लिटरले घटेको देखिन्छ । अर्थात्, जेठ महिनामा ५ करोड ९६ लाख ७७ हजार लिटर इन्धन खपत भएको छ । सो महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, वैशाख महिनामा १४ करोड ५३ लाख २४ हजार लिटर खपत भएको डिजेल चार प्रतिशतले घटेर १४ करोड ४५ हजार लिटरमा झरेको छ । अघिल्लो महिना ५२ लाख ७९ हजार लिटर डिजेल खपत घटेको निगमले जनाएको छ ।

यद्यपी इन्धन खपतमा कमी आएपनि यो दुई दिने सार्वजनिक बिदाकै कारण भएको भन्न नसकिने उनले बताए । ‘वैशाखमा स्थानीय तह निर्वाचनको कारण सामान्य अवस्थाको तुलनामा चहलपहल बढ्यो । जसकारण स्वभावैले इन्धन खपत बढ्यो,’ उनले भने, ‘तर, जेठमा चुनाव पनि सकियो भने अर्कोतर्फ बर्षायाम पनि सुरु भयो । सामान्यतया वर्षामा बाटो बिग्रिने हुँदा सवारी आवतजावतमा कमी आउँछ । यी कारणहरुले पनि इन्धन खपत घटेको हो ।’

विदेशी मुद्रा सञ्चिति घटिरहेको, अर्थतन्त्रमा जोखिम बढेका कारण पेट्रोलियम पदार्थको आयात घटाइ विदेशी विनिमय सञ्चिति बढाउन सरकारले जेठ १ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर, एक महिना नबित्दै बिना अध्ययन दिइएको यो निर्णयले फेल खाएको हो । नेपाल आयल निगमको सिफारिसमा कुनै पूर्वतयारीविनै इन्धनको खपत कम गर्नका लागि परीक्षणका रुपमा आइतबार बिदा थपिएको थियो ।