NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जिसस मनाङको प्रमुखमा एमाले

मनाङ । जिल्ला समन्वय समिति मनाङको प्रमुख एमालेको भागमा परेको छ । यही असार ३ गते सार्वजनिक गर्ने गरी सर्वदलीय बैठकले निर्णय गरे पनि सम्झौताअनुसार एमालेको भागमा प्रमुख र नेपाली कांग्रेसको भागमा उपप्रमुख परेको छ ।

समन्वय प्रमुख चयनका लागि जेठ ३१ गते बसेको जिल्लासभाले असार ३ गते गोलाप्रथाबाट प्रमुख चयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङ र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, जिल्ला समन्वय प्रमुख यज्ञप्रसाद घलेको उपस्थितिमा भएको सभाले गोलाप्रथाबाट प्रमुख चयन गर्ने निर्णय गरेको हो ।

देशभर सबैभन्दा पहिले हिमाली जिल्ला मनाङले मतदान र मतगणना सकेको थियो । कांग्रेस र एमाले बराबरी सङ्ख्या रहेको मनाङमा गोलाप्रथाबाट जिल्ला समन्वय प्रमुख, उपप्रमुख, महिला सदस्य, अल्पसङ्ख्यक सदस्य, दलितसहित तीन गरी नौ सदस्यीय समिति निर्धारण गर्ने निर्णय गरेको छ ।

गोला तान्दा अध्यक्षको उम्मेदवारले तीन सदस्य पाउनेछ भने उपप्रमुखको गोला तान्ने उम्मेदवारले चार सदस्य पाउनेछ । यसका साथै गोलाप्रथाबाट आएको नतिजालाई सम्बन्धित सरोकारवालालाई मान्य हुने र सोहीअनुरुप जिल्ला समन्वय समितिको निर्वाचनमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ ।

एमालेले चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाको प्रमुख जितेको छ भने नेपाली कांग्रेसले नासों गाउँपालिका र नेपाली कांग्रेसले नार्पाभूमि गाउँपालिकामा अध्यक्ष जितेको छ । चामेको उपाध्यक्षमा कांग्रेस, मनाङ ङिस्याङको उपाध्यक्षमा स्वतन्त्र, नासोंको उपाध्यक्षमा गठबन्धन नेकपा (माओवादी केन्द्र) र नार्पाभूमिको उपाध्यक्षमा एमालेलेले जितेको छ ।

चामेमा अध्यक्ष एमालेका लोकेन्द्रबहादुर घले, उपाध्यक्षमा नेपाली कांग्रेसका मिङ्मार ढोमा लामा, मनाङ ङिस्याङमा अध्यक्ष एमालेका कान्छा घले, उपाध्यक्षमा स्वतन्त्रका छिरिङ गुरुङ र नासोंमा अध्यक्ष नेपाली कांग्रेसका धनबहादुर गुरुङ, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ, नार्पाभूमिमा अध्यक्ष नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा, उपाध्यक्षमा एमालेका मिङ्मार छेते लामा गरी आठ जना मतदाता छन् ।

एमालेले जिल्ला समन्वय प्रमुखसहित तीन सदस्य र कांग्रेसले उपप्रमुखसहित पाँच सदस्य पाउने आन्तरिक सम्झौता भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गोलाप्रथाबाट चयन गर्दा एमालेको भागमा जिल्ला समन्वय प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ । एमालेले जिल्ला समन्वय प्रमुखका लागि चिन घलेलाई अगाडि सारेको छ भने कांग्रेसले चन्द्र घलेलाई अगाडि सारेको थियो ।