NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बैंकको दुईतिहाइ कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा बढी प्रवाह हुने घरजग्गा धितोको कर्जा अहिले प्रभावित भएको छ । राष्ट्र बैंकबाट मान्यताप्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक सातायता घरजग्गा धितोमा कर्जा प्रवाह गर्न सकेका छैनन् । सरकारले ल्याएको नयाँ भूउपयोग नियमावलीले वर्गीकरण नगरिएको जग्गा कित्ताकाट तथा रोक्का नगरिने व्यवस्था गरेपछि त्यसको प्रभाव बैंकिङ कर्जासम्मै परेको हो ।

अधिकांश स्थानीय तहमा जग्गा वर्गीकरण नभएको र वर्गीकरण नभएकै कारण जग्गा कित्ताकाट र रोक्का नहुने भएपछि जग्गा धितोमा कर्जा प्रवाह गर्न नसकिएको नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

बैंक तथा वित्तीय क्षेत्रको करिब ७० प्रतिशत कर्जा घरजग्गा धितोमा रहेका कारण नयाँ नीतिले अन्योल सिर्जना गरेको उनको भनाइ छ । ‘सरकारले चार किल्ला खुलाई जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट तथा जग्गा रोक्का राख्न नमिल्ने व्यवस्था गरेको छ, धितो बन्धक राख्न नपाइने भएको छ,’ उनले भने, ‘यही कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितोमा कर्जाको प्रवाह हुन सकेको छैन ।’ यस विषयमा सम्बन्धित सरकारी निकायहरूसँग छलफल गर्ने तयारी भइरहेको उनले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अघिल्लो साता मातहतका निकायलाई जग्गा वर्गीकरण नगरी कित्ताकाट, रोक्का तथा बन्धक नराख्न–नगर्न निर्देशन दिएको हो । मन्त्रालयको पत्र पाएपछि मालपोत कार्यालयहरूले वर्गीकरण नभएका जग्गा दृष्टिबन्धक राख्न बन्द गरेका छन् । यसबाट सबैभन्दा बढी विदेश अध्ययनमा जाने विद्यार्थी तथा साना एवं मझौला उद्यमी प्रभावित भएका छन् । जग्गा धितो राखेर कर्जा पाउने अवस्था नरहेपछि विदेश अध्ययनमा जाने प्रक्रियामा रहेका हजारौँ विद्यार्थी समस्यामा परेका हुन् ।

करिब ६७ प्रतिशत कर्जा घरजग्गा धितोमा
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ४७ खर्ब २४ अर्ब ८८ करोड कर्जा प्रवाह भएको छ । यसमध्ये ६६.८६ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । चालू आर्थिक वर्षको १० महिनामा घरजग्गाको धितोमा ३१ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशत अर्थात् चार खर्ब दुई अर्ब ३४ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ को १० महिनामा घरजग्गाको धितोमा २६ खर्ब ७५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालमा अधिकांश कर्जा सम्पत्तिको धितोमा प्रवाह हुने गरेको छ । कुल कर्जाको ८७.८ प्रतिशत अर्थात् ४१ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ सम्पत्तिकै धितोमा प्रवाह भएको देखिन्छ । त्यसमध्ये पनि सबैभन्दा बढी घरजग्गाकै धितोमा कर्जा प्रवाह हुने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । सम्पत्तिमा प्रवाह हुने कर्जामध्ये ७६ प्रतिशत घरजग्गाकै धितोमा प्रवाह हुने गरेको देखिन्छ । नेपालमा सुनचाँदी, सरकारी सेक्युरिटिज, गैरसरकारी सेक्युरिटिज, फिक्स्ड अकाउन्ट रिसिप्ट, सम्पत्ति, अन बिल ग्यारेन्टी, ग्यारेन्टी, क्रेडिट कार्ड र अन्यसमेत गरेर मुख्य नौ किसिमका धितोमा कर्जा प्रवाह हुन्छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।