NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

१० औं महाधिवेशनलाई भुसालले ‘सौराहा काण्ड’ भनेपछि के गर्लान् ओली ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको सुविधा उपयोग गरेर नेतृत्वको बदनाम गर्ने शकुनी, मिर्जाफर र मिरिकासीमहरूको समयाक्रममा उचित हिसाबकिताब हुने चेतावनी दिए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने प्रशिक्षण भेलालाई बिहीबार राष्ट्रिय सभा गृहमा सम्बोधन गर्ने क्रममा ओलीको पछिल्लो अभिव्यक्ति आएको हो ।

ओलीको चेतावनी नेता घनश्याम भुसाललगायत पार्टीभित्र भिन्न विचार राख्नेप्रति लक्षित थियो । उनको कडा अभिव्यक्तिले विभाजनको पीडा खेपेको एमालेभित्रको विवाद फेरि छताछुल्ल भएको छ । मंसिरको दोस्रो हप्ता चितवनको सौराहामा भएको १० औं महाधिवेशनबाट ओलीकै भाषामा पार्टीभित्रका पीलो(माधव समूह) बाहिरिएपछि एमालेमा कुनै विवाद नभएको उनले दाबी गरेका थिए । तर महाधिवेशन सकिएको ६ महिनामै भिन्न विचार समूहमाथि ओलीले कारबाहीको कैंची चलाएका छन् ।

निर्वाचनको परिणामलाई लिएर ओलीले लिएको नीतिप्रति नेता भुसालले कटाक्ष गरेपछि जेठ १८ मा बसेको एमाले अनुशासन आयोगको सचिवालयको अकस्मिक बैठकले भुसालको अभिव्यक्ति पार्टीहित विपरीत भएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको थियो । मंगलबार बसेको आयोगको पूर्ण बैठकले कारबाही सिफारिस अनुमोदन गरेको हो । आगामी केन्द्रीय कमिटी बैठकले भुसालमाथिको कारबाहीसम्बन्धमा किनारा लगाउनेछ ।

भुसालमाथिको कारबाही सम्बन्धमा एकता पक्षधर मानिएका १० जना नेता र ओलीपक्षकै कतिपय नेताहरूले विरोध जनाएका छन् । प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा नेतृत्वको आलोचना गरेकै भरमा कारबाही गर्दा त्यसले पार्टीलाई थप क्षति पुग्ने उनीहरूको निष्कर्ष छ । उनीहरूले भुसालमाथि कारबाही नगर्न ओलीलाई निरन्तर दबाब दिइरहेका छन् । तर ओलीको पछिल्लो अभिव्यक्तिले भुसालमाथि जुनसुकै बेला कारबाही हुनसक्ने देखिन्छ ।

आफूमाथिको कारबाही सम्बन्धमा भुसालले ओलीको दम्भ र अहंकारबाहेक केही नभएको बताएका छन् । ओलीले गल्ति स्वीकार्नुको सट्टा सत्यानाशको बाटो हिँडेको आरोप भुसालले लगाएका छन् । स्वतन्त्र युवा वाम समूहले बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भुसालले कडा शब्दमा ओलीको निन्दा गरेका छन् । उनले एमालेका खाँटी नेता तथा कार्यकर्ता बन्न ओलीका दास बन्नुपर्ने आरोप लगाए ।

बुधबार सभा गृहमा ओलीबारे के भनेका थिए भुसालले ?

भुसालले अब ओलीले कुल्ला गर्ने र कार्यकर्ताले बान्ता गर्ने बताए । ‘कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नुभयो भने एमालेको खाँटी कार्यकर्ताले त बान्ता नगरी उसको योग्यतै पुष्टि हुँदैन । कमरेड ओलीले कुल्ला गर्नुहुन्छ, कार्यकर्ताले बान्ता गर्छन्’, भुसालले भने ।

कार्यक्रममा भुसालले ओलीले गरेको संसद विघटन क्षम्य नभएको र कुनै हालतमा क्षम्य नहुने प्रतिक्रिया दिएका थिए । ओलीले अहिलेसम्म पनि आफूले गरेको संसद विघटन ठीक भएको जिकिर गर्दै आएका छन् ।

‘२००७ देखि ०६२÷६३ साल सम्मको अस्थिरतालाई बुझेर ०७२ मा संसद विघटन नहुने गरी चार दिशा बाँधेर संविधान बनाइयो । पार्टीभित्र ओली र प्रचण्डबीचको गोप्य सम्झौतामा कुरा मिलेन । त्यसको रिस फेर्नका लागि संसद हान्दियौं । यो क्षम्य हुने कुरा हो ? क्षम्य हुन्छ ? अनि जनवादी केन्द्रियताको नाममा बैठक बसेर अन्तरपार्टी निर्देशन जारी गर्दै ल तिमीहरू कोही पनि नबोल यही हो भनेर लेखाएर हुन्छ ? हुने कुरा हो यो ? राम्रो काम गरेका छौं हामीले ?’ आक्रोशित हुँदै भुसालले भने, ‘यो कस्तो भयो भने घरमा गौंथली बस्यो । त्यहाँ गुँड छ । बचेरा पार्यो । च्याउँ–च्याउँ गर्छ । त्यसलाई स्वाद दिनका लागि घर मूलीले गौंथलीको गुँडमा अगुल्टो झोस्यो । घरमा आगो लाग्यो । उ मादल बजाएर गौंथली अब कसरी बस्छस् तँ गीत गाएर हिड्यो । अहिले भएको त त्यही हो नि ।’

बुधबार भुसालले दिएको अभिव्यक्तिबाट थप चिढिएका ओलीले पार्टी र नेतृत्वको बेइज्जत गर्न जग हसाएको भन्दै भुसालको नामै नलिइ त्यस्ता नेता तथा कार्यकर्तालाई एमालेमा बस्न शरम लाग्नुपर्ने टिप्पणी गरेका थिए । उनले त्यसको समयक्रममा उचित हिसाबकिताब हुने चेतावनी दिएपछि एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।

यस्तो छ भुसालको अभिव्यक्तिमाथि ओलीको जवाफी हमला

ओलीले भुसालको काउन्टरमा बिहीबार जवाफ हमला गरेका थिए । ‘योपटक मेयरलाई भोट नदिएर विरोधीलाई जिताइदिएको त हो नि । पार्टीप्रति त निष्ठावान नै छु नि भन्ने कुरा हुन्छ ? उम्मेदवारलाई भोट नदिने विरोधीलाई जिताउने अनि विरोधीले ढाड सेकेको सेकै छ ।

विरोधीले मोर्चा कसेर ढाड सेकेको सेकै छ । एमालेका कार्यकर्ताहरूलाई निष्ठाच्यूत हुन शरम लाग्नुपर्ने हो । एमालेका निम्ति शरमको विषय हो ।’ ओलीले आक्रोशपूर्ण अभिव्यक्ति दिंदै ओलीले भने, ‘त्यसकारण तमाम साथीहरूलाई पार्टीप्रति, आन्दोलनप्रति निष्ठापूर्वक लाग्न आग्रह गर्छु । अहिले पनि कतिपय व्यक्तिहरू पार्टीमा बसेका छन् । पार्टीले दिएका पद, ओहोदा र सुविधा उपयोग गरिरहेका छन् । त्यो हैसियत प्रयोग गरीरहेका छन् । उनीहरू पार्टीको कसरी अपमान हुन्छ ? कसरी बेइज्जत हुन्छ ? पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ ? कसरी विस्थापित गर्न सकिन्छ ? कसरी धाँधलीकरण गर्न सकिन्छ ? कसरी अलोकप्रिय बनाउन सकिन्छ भन्दै ती कामहरू पार्टीभित्र बसेर गरिरहेका छन् । समयक्रममा त्यसको हिसाबकिताब एमालेले गर्नेछ ।’

हावा खायो ओलीको भविष्यवाणी

पार्टीको महाधिवेशनमासमेत वडा तहदेखि केन्द्रसम्म निर्वाचित महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन नगरी ओलीले एकलौटी गरेको भिन्न विचार समूहको आरोप छ । महाधिवेशनपछि स्थानीय तह निर्वाचनमा ओलीले ६०–६५ प्रतिशत सिट एमालेले जित्ने दाबी गर्दै आएका थिए । देश दौडाहामा निस्कने क्रममा मानिसहरूको भीड देखेर हौसिएका ओलीले वैशाख ३० पछि गठबन्धन पत्तासाप हुने भविष्यवाणी गरेका थिए । तर उनी जहाँ गएका थिए त्यहीं एमालेले पराजय भोग्यो । काठमाडौंसहित महत्वपूर्ण महानगरपालिका र उपमहानरपालिकामा आफ्नो पकड गुमायो । निर्वाचनपछि बसेको पार्टीको समिक्षात्मक बैठकमा केन्द्रमा गठबन्धनको महासंग्राम र स्थानीयमा अन्तर्घातका कारण पार्टीले पराजय भोगेको विवादास्पद निष्कर्ष निकाल्यो । भुसालकै भनाइअनुसार ओलीले आफ्नो कमजोरी ढाकछोप गर्न कार्यकर्तालाई भुलभुलैयामा राखेका हुन् । सबैको सामू ओलीले आफ्नो नीति असफल भएको स्वीकार्नुपर्ने माग भुसालको छ ।

यस्तो छ भुसालले ८, जेठ २०७९ मा ओलीबारे गरेको टिप्पणी

यस अघि ८ जेठमा दिएको यही अभिव्यक्तिले भुसाल कारवाही सिफारिसमा परेका हुन् । ‘एमालेको १० औं महाधिवेशनलाई म सौराहा काण्ड भन्छु । एमाले जुन परम्परामा बनेको थियो, सौराहा काण्डमा सकियो । त्यहाँ एक जनालाई सर्वाजीकरण गर्ने, उसले लिस्ट पढ्ने, त्यो कुरा सबैले मान्नुपर्ने, त्यसलाई सार्वभौम सम्पन्न महाधिवेशन भन्नुपर्ने, प्रतिनिधि भन्नुपर्ने, त्यसपछि पनि चुनावको नाटक मञ्चन भयो’ भुसालले भनेका थिए, ‘अध्यक्षबाट फलाना फलानालाई भोट नदेउ भनेर लिस्ट जारी गर्ने काम भयो । जिल्ला अधिवेशन जसरी भए, उम्मेदवारहरू जसरी तय भए यी सबै घटनालाई हेर्दा म संक्षिप्तमा के भन्छु भने कमरेड ओलीको प्रयोग शतप्रतिशत असफल भयो । उहाँले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्छ । २०६४ सालमा एमाले पराजित भएपछि पार्टीलाई जोगाउन माधव नेपालले लिएको जस्तै बाटो ओलीले अबलम्बन गर्नुपर्छ ।’

२०७९ को चुनावी परिणामले सबै दलका दाबीलाई धेरै अर्थमा गलत सावित गरिदिएको छ । यो निर्वाचनबाट पार्टी विभाजन भएपनि गठबन्धनभित्रको खिचलोको फाइदा उठाउँदै पहिलो शक्तिमा टिकिराख्ने एमालेको सपनामा गम्भीर धक्का लाग्यो । गठबन्धनको आडमा एमालेलाई पत्तासाप बनाउने प्रचण्ड–माधवको योजना पनि कामकाजी भएन । बरू खण्डित कम्युनिष्ट जनमतको सोझो फाइदा सत्तारूढ दल कांग्रेसलाई भयो ।

गत निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको कांग्रेस योपटक १४१ प्रमुख र १८८ अध्यक्षसहित ३२९ तह जितेर पहिलो स्थानमा उक्लियो । अघिल्लो निर्वाचनमा पहिलो शक्तिमा उदाएको एमाले योपटक ८२ प्रमुख र १२३ अध्यक्षसहित दोस्रो स्थानमा खुम्चियो । गत निर्वाचनमा तेस्रो शक्ति रहेको माओवादी केन्द्र यो पटक केही सिट सुधार गर्दै तेस्रो शक्तिमै कायम रहेको छ । एमालेलाई धक्का दिन माधव नेपालको नेतृत्वमा खोलिएको नयाँ दल नेकपा एकीकृत समाजवादीले प्रमुख\अध्यक्षमा २० सिट कटाउन सकेन ।

नेकपा विभाजनपछिको पहिलो चुनावी परिणामले आगामी प्रदेश र संघको सम्भावित परिणामलाई संकेत गरेको छ । कम्युनिष्ट पार्टी विभाजनको फाइदा कांग्रेसलाई भएको एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूले स्वीकार गरे । तर आफ्नो गल्ति स्वीकार गर्ने पक्षमा देखिएनन् ।

समग्रमा कम्युनिष्ट दलको परिणाम सन्तोषजनक नआएपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पुनः वाम एकताको पक्षमा नेतृत्वलाई दबाब दिइरहेका छन् । अहिलेसम्म उनीहरू सफल भएका छैनन् । नेकपामा आवद्ध दलहरूको नीति, सिद्धान्त र कार्यदिशामा कुनै भिन्नता नभएपनि ओली, प्रचण्ड र माधवको इगोका कारण नेपालको कम्युनष्टि आन्दोलन सत्यानाशको बाटोमा पुगेको नेता भुसालको भनाइ छ ।

नागरिक अगुवा श्याम श्रेष्ठले त ओलीको अहंकारले तत्काल वामपन्थी दल एक हुने सम्भावना क्षीण हुँदै गएको टिप्पणी गरेका छन् । ‘ओलीमा अहंकार, दम्भबाहेक केही छैन । ओली आफ्नो आलोचना सहन सक्दैनन्’, श्रेष्ठले भने, ‘अन्यको विचार सुन्ने ओलीमा धैर्यता छैन । मबाहेक अन्य कोही छैन भन्ने उहाँमा अहंकार रहेसम्म तत्काल वामपन्थीहरू एकठाउँमा आउने सम्भावना छैन ।’

स्थानीय तहको निर्वाचपछि ओली सच्चिएर आउने प्रचण्ड–माधवको पूर्वअनुमान थियो । ओलीले पनि निर्वाचनपछि माओवादी र एकीकृत समाजवादी धुलोपिठो हुने सोचेका थिए । तर तीन वटै नेताको अनुमान विपरीत चुनावी परिणाम आएपछि आगामी निर्वाचनमा कसरी जाने भन्नेमा आ–आफ्ना रणनीति बनाउन लागेका छन् । गठबन्धनको सहयोगमा प्रचण्ड–माधवले प्रदेश र संघीय निर्वाचनमा अन्तिम धक्का दिने योजना बनाएका छन् । ओली गठबन्धन भत्काएर प्रचण्ड–माधवलाई थप कमजोर बनाउने योजनामा छन् । यसरी एकले अर्कालाई धक्का दिने वामपन्थी नेताहरूको इगोको कारण आगामी निर्वाचनमा पनि कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ ।

एमालेमा अन्तर्घात : ओलीबाट कारबाहीमा पर्ने भएपछि के भन्छन् घनश्याम भुसाल ?