NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एसपीपी प्रकरणमा ओलीको प्रष्टिकरण : मेराे हाेइन, सुशील र प्रचण्डको पालामा सम्झौता अगाडि बढेको हो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) मा आफ्नो नेतृत्वको सरकारले सामेल नहुने निर्णय गरेको दावी गरेका छन् ।

एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको शुक्रबार काठमाडौंमा भएको दुई दिने प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा नभइ सुशील र प्रचण्डको सरकारले एसपीपी सम्झौता अगाडि बढाएको आरोप लगाए ।

‘एसपीपी सम्झौता सुशील कोइराला प्रधानमन्त्री बन्दा पत्राचार गरेको र प्रचण्डको पालामा अगाडि बढेको हो’, उनले भने, ‘मेरो नेतृत्वको सरकारको पालामा कार्यदल गठन गरी अस्वीकृत गरेको हो ।’

कोइराला नेतृत्वको सरकारका रक्षामन्त्रीको आग्रहमा एसपीपीको सम्झौता अगाडि बढाएको ओलीले दावी गरे । २०७२ असोज ५ को मन्त्रीस्तरीय निर्णयका आधारमा असोज १३ मा सैनिक हेडक्वार्टरमा पठाएको र तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले कात्तिक १० अमेरिकी दुतावासलाई पत्र लेखेको आफूलाई जानकारी भएको उनले बताए ।

अमेरिकाको हिन्द प्रशान्त हेर्ने सैनिक प्रमुखसहितकाे टाेलीले नेपाल भ्रमण सकेर फर्किएपछि नेपाली सैनिकले अमेरिकी राजदुतलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भएसँगै ओलीमाथि चौतर्फी प्रश्न तेर्सिएपछि त्यसको ओलीले  प्रष्टिकरण दिएका हुन् ।