NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘कैदी साटफेर’ जेलरकै योजनामा

काठमाडौं ।  आपराधिक लाभ लिएको कसुरमा बाँके जिल्ला अदालतबाट पाँच वर्ष कैद सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहलाई जेल प्रशासनकै मिलेमतोमा भगाइएको छानबिन समितिले ठहर गरेको छ । सहसचिव सूर्यप्रसाद सेढाई‌ंको संयोजकत्वको समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाउँदै बाँके कारागारका निमित्त जेलर दीपेन्द्रप्रसाद पौडेलसहित यस प्रकरणमा संलग्न कर्मचारीमाथि कारबाही गर्न सरकारलाई सुझाव दिएको छ ।

बाँकेबाट सारिएका नेपालगन्जका कैदी सुन्दर हरिजनको रोल्पा कारागारमा गत जेठ ४ मा शंकास्पद मृत्यु भएको थियो । उक्त घटनापछि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले बाँके कारागारका निमित्त जेलर पौडेलको मिलेमतोमा ०७७ मंसिर ८ मा बाँकेबाट दुई कैदीलाई रोल्पा कारागार स्थानान्तरण गरिएको र शाहलाई अर्कैको नाम उल्लेख गरेर भगाइएको प्रतिवेदनमा उल्लेख गरेको हो ।

यसअघि हरिजनको मृत्यु र बाँके कारागारबाट कैदी स्थानान्तरण प्रकरण छानबिन गर्न कारागार व्यवस्थापन विभागद्वारा गठित निर्देशक झरेन्द्र चापागाईं नेतृत्वको समितिले कारागार प्रशासनको कुनै कमजोरी नरहेको प्रतिवेदन दिएको थियो । गृहकै अर्को समितिले भने निमित्त जेलर पौडेललाई दोषी देखाएको हो । गृहको प्रतिवेदनमा निमित्त जेलर पौडेलले बाँके कारागारको अभिलेखमा शाहलाई हरिजन र हरिजनलाई शाह बनाई दुवैलाई रोल्पा कारागार स्थानान्तरण गरेको उल्लेख छ ।

हरिजनको कैद भुक्तान अवधि डेढ महिना पनि बाँकी थिएन । उनी र शाहलाई बाँकेबाट शंकास्पद रूपमा रोल्पा स्थानान्तरण गरिएको थियो । सामान्यतः कैद भुक्तान गर्न लागेका कैदीलाई कारागार सारिँदैन तर शाहलाई भगाउनकै लागि जेल प्रशासनले कैदीको कसुर नै एकअर्कामा सट्टापट्टा गरेको हो । रोल्पा पुर्‍याइएपछि हरिजन विजयविक्रम शाह र शाह हरिजनका रूपमा कारागारको अभिलेखमा समेटिए । त्यसपछि हरिजनलाई थुनामा राखेर विजय ०७७ पुस २८ मा छुटेर फरार भएका थिए । हरिजनलाई आफ्नो नाममा कैद भुक्तान गर्न शाहले पैसा खर्च गरेको पनि छानबिनबाट खुलेको छ । त्यसको करिब डेढ वर्षपछि गत जेठ ४ मा रोल्पा कारागारमा शंकास्पद रूपमा मृत भेटिएका हरिजनबारे छानबिन गर्दा मात्रै शाहलाई भगाउन निमित्त जेलर पौडेलकै मिलेमतो रहेको खुलेको हो ।

गृहले रोल्पा घटना र बाँके कारागारबाट दुई कैदीको शंकास्पद स्थानान्तरणसम्बन्धी छानबिन गर्न सेढाई‌ंको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको प्रतिवेदनमा शाहलाई हरिजनका नाममा राखेर रोल्पा कारागार स्थानान्तरण गर्दा निमित्त जेलर पौडेलसहितका कर्मचारी र कैदीको मिलेमतो देखिएको उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।