NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मन्त्रीका उदण्डतालाई गठबन्धनको अभयदान

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने अघिल्लो मध्यरात बिचौलियालाई अर्थ मन्त्रालयमा बोलाएर राजस्वका दर हेरफेर गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि कुनै छानबिन भएको छैन ।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली मात्र होइन, हातपात नै गरेको अडियो शुक्रबार सार्वजनिक भएको छ । तर संस्कृति मन्त्रीको संस्कृति सत्तारूढ गठबन्धनका लागि मुद्दा बनेको छैन ।

लुम्बिनीकी स्वास्थ्य, जनसंख्या र परिवार कल्याण राज्यमन्त्री विमला वलीले गत मंगलबार कथित प्रेमीको घर गएर महिला तथा बालबालिकामाथि हातपात गरेको भिडियो पनि भाइरल भएको छ । सर्वसाधारणको परिवारमाथि धावा बोल्ने वली अहिले पनि परिवार कल्याण राज्यमन्त्री छन् ।

दीपक मनाङे नामले चिनिने गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले २२ चैतमा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई मन्त्रालयमै कुटपिट गरे । कर्मचारीमाथि गुण्डागर्दी गर्दा पनि कारबाही भएको छैन ।

यसरी शर्मादेखि आले र वलीदेखि गुरुङसम्मले नैतिकता र मर्यादामाथि उत्पात मच्चाएका छन् । प्रधानमन्त्री र गठबन्धनका नेताहरू तमासे बनेका छन् । सत्तामा जसरी पनि बस्ने र त्यसका लागि हरेक मूल्इमा संख्या बचाउने ध्याउन्नमा लागेका गठबन्धनका नेताहरूले विधि र संस्कृतिलाई तिलाञ्जली दिएका छन् ।

राजस्वका दर निर्धारण गर्ने जिम्मा बिचौलियालाई दिने अर्थमन्त्री शर्मामाथि लागेको आरोप अभूतपूर्व हो, यो विषयमा संसदमा लगातार आवाज उठ्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नसुनेजस्तै गरेका छन् । अर्थमन्त्री शर्मालाई हटाउन कांग्रेसकै केही नेता र अर्थविज्ञले प्रधानमन्त्रीलाई सुझाउँदै आएका छन् । तर गठबन्धन मात्र होइन, आफ्ना स्वार्थको पनि संरक्षण गर्न देउवा मौन बसेका छन् भन्ने टिप्पणी कांग्रेसभित्रै भइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।