NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चितुवाको डरले घरबाहिर निस्किँदैनन् बन्दीपुरबासी

डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका-१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्छन् ।

साँझ परेसँगै चितुवा बस्तीनजिक देखिन थालेपछि त्यस क्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । स्थानीय मञ्चमाया सारुले भनिन्, ‘सहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ, तर गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ’, उनले भनिन्, ‘बाँच्नु त प¥यो नि बाहिर निस्कन डर लाग्छ ।’

चितुवाले आफ्नो करिब ३० हजार मूल्य बराबरको खसी खाइदिएर क्षति बनाएको उनले दुखेसो पोखिन् । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन मानिस घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् ।

चितुवाका आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उनले बताए । चितुवाका लागि खोर राखिए पनि हालसम्म चितुवा पासोमा पर्न सकेको छैन । जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट बाह्र जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । साँझ र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उनले बताए ।