NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

६७३३ वडाध्यक्षको नतिजा : ६६६४ पुरुष निर्वाचित हुँदा महिलाको संख्या मात्रै ६९

काठमाडौ । नागरिकहरूसँग प्रत्यक्ष जोडिने पद वडाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व न्यून देखिएको छ । ७५२ तहमा नतिजा आएका ६७३३ वडामा महिलाहरू जम्मा ६९ जना निर्वाचित भएका छन् । देशभरबाट ७२० महिला उम्मेदवार रहेकोमा ६९ जनामात्रै महिला वडाध्यक्ष निर्वाचत हुनु असाध्यै न्यून संख्या हो । जसमा ६८ निर्वाचित र एक महिलामात्रै निर्विरोध भएका हुन् । जबकी निर्विरोध हुने पुरुषको संख्या ४७ छ । निर्विरोध हुने ठाउँमासमेत महिलालाई उम्मेदवार बनाएको पाइँदैन ।

पुरुष वडाध्यक्षहरू ६६६४ जना निर्वाचित भएका छन् । अब १० वटा वडाको मात्रै नतिजा आउन बाँकी छ । ७५२ पालिकामा जम्मा २५ जना मात्रै प्रमुखमा निर्वाचित भएकोमा ६९ जना महिला वडाध्यक्ष निर्वाचित भएका हुन् ।

प्रदेश १ बाट १३६ महिला उम्मेदवार बनेकोमा ५ जना, मधेस प्रदेशबाट ५४ जना उम्मेदवारमा १२ जना, वाग्मतीबाट १४९ जना उम्मेदवार बनेकोमा १२ जना महिलाहरू वडाध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, गण्डकीबाट ९७ जना उम्मेदवार रहेकोमा १४ जना, लुम्बिनीबाट १३६ उम्मेदवार रहेकोमा १४ जना, कर्णालीबाट ७२ जना उम्मेदवारमा ५ जना र सुदूरपश्चिमबाट ७६ जना महिला उम्मेदवार रहेकोमा ६ जना महिला वडाध्यक्षहरू निर्वाचित भएका हुन् । नागरिकसँग सीधा पहुँच हुने र जोडिने पदमा एकदमै न्यून संख्यामा मात्रै महिलाहरू विजयी भएका हुन् ।

७५२ तहमा पालिका नेतृत्वमा २५ मात्रै महिला

७५२ स्थानीय तहमध्ये जम्मा २५ जना मात्रै महिलाले स्थानीय तहको नेतृत्व जितेका छन् । जहाँ १५ नगरपालिका प्रमुख र १० गाउँपालिका अध्यक्ष महिलाले जितेका हुन् । जसमा प्रदेश १ मा प्रमुख २, अध्यक्ष ४ गरी ६ जना महिला पालिका प्रमुख भएका छन् । मधेस प्रदेशमा प्रमुखमा ४ जना विजयी, वाग्मतीमा प्रमुखमा ३ जना अध्यक्षमा ३ जना गरी ६ जना विजयी भएका छन् ।

गण्डकीमा ३ जना प्रमुखमा, लुम्बिनी प्रमुखमा १, अध्यक्षमा १ गरी २ जना महिला प्रमुखमा निर्वाचित भएका छन् । कर्णाली प्रमुखमा १, अध्यक्षमा १ गरी २ जना र सुदूरपश्चिम प्रमुखमा २ जना महिला प्रमुख बनेका हुन् । भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि महिला प्रमुख बनेका छन् । केही नगरपालिका र गाउँपालिकामा पनि महिला पालिका प्रमुख भएका छन् । तर यो संख्या असाध्यै कम हो ।
कुन प्रदेशमा कति निर्विरोध ?

४८ जना निर्विरोध

सुदूरपश्चिममा पुरुष र महिला कोही पनि निर्विरोध भएनन् । कर्णालीमा निर्विरोध वडाध्यक्ष २७, महिला निर्विरोध १ जना रहेका छन् । लुम्बिनीमा पुरुष र महिला कोही पनि निर्विरोध भएनन् । गण्डकीमा पुरुष निर्विरोध १९ जना हुँदा महिला शून्य भए । वाग्मती र मधेस प्रदेशका वडाध्यक्षमा महिला र पुरुष एक जना पनि निर्विरोध भएनन् । प्रदेश १ मा ताप्लेजुङबाट स्वतन्त्रमा छेतेन लामा शेर्मा (पुरुष) वडाध्यक्षमा निर्वाचित भए । महिला एक जना पनि भएनन् ।

महिला वडाध्यक्ष कुन दलबाट कति विजयी

वडाध्यक्षमा ६८ जना महिला वडा अध्यक्ष चुनिएका छन् । जसमा ६८ जना निर्वाचित र एक जना निर्विरोध भएका छन् । सबैभन्दा बढी वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट २५ जना, एमालेबाट २२ र माओवादीबाट १२ जना निर्वाचित भएका छन् । ९ वडाध्यक्षमा स्वतन्त्र, लोसपा, नेकपा एससहितका दलबाट छन् ।

प्रदेश १ : १३६ मा ५ जना निर्वाचित

महिला वडाध्यक्षमा विजयी भएका पाँचै जना एमालेका हुन् । अरु दलका महिला वडाध्यक्षमा निर्वाचित हुन सकेनन् ।

मधेस प्रदेश मा ५४ मा १२ जना निर्वाचित

एमालेबाट ४, कांग्रेसबाट ३, स्वतन्त्र र लोसपाबाट २\२, बहुजन एकता पार्टीबाट १ जना निर्वाचित भएका छन् ।

वाग्मती १४९ जनामा १२ जना निर्वाचित

वाग्मतीमा १४९ उम्मेदवार हुँदा १२ जना मात्र महिला निर्वाचित भए । वाग्मतीमा कांग्रेसबाट ६, एमालेबाट ३, माओवादी, नेकपा एस र स्वतन्त्रबाट १\१ जना निर्वाचित भए ।

गण्डकी ९७ मा १४ जना महिला निर्वाचित

गण्डकीमा कांग्रेस र एमालेबाट ६\६ जना वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट २ जना निर्वाचित भएका छन् ।

लुम्बिनी १३६ मा १४ जना निर्वाचित

लुम्बिनीमा कांग्रेस र माओवादीबाट ५÷५, एमालेबाट ३ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।

कर्णाली ७२ जनामा ५ जना निर्वाचित

कर्णालीमा कांग्रेस र माओवादीबाट २\२ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडाध्यक्ष महिला चुनिएका छन् ।

सुदूरपश्चिम ७६ मा ६ जना निर्वाचित

कांग्रेस, माओवादीबाट २\२, एमाले र नागरिक उन्मुक्ति पार्टीबाट १\१ जना निर्वाचित भएका छन् ।

कुन दलबाट कहाँ को–को भए निर्वाचित ?

प्रदेश न.१ मा वडाध्यक्ष : निर्वाचित पुरुष ११५१, महिला ५

प्रदेश न १ मा १३६ जना महिला उम्मेदवारले उम्मेदवारी दिएका थिए । जसमा ५ जनामात्र महिला उम्मेदवार विजयी भए । यी सबै एमालेबाट निर्वाचित भएका हुन् । अरु दलबाट एक जना पनि निर्वाचित भएनन् ।

यो प्रदेशमा पुरुषको निर्वाचित संख्या भने १ हजार १५१ रहेको छ । प्रदेश न. १ अन्तर्गत तेह्रथुम जिल्ला म्याङलुङ गाउँपालिका वडा न. ७ मा नेकपा एमालेकी तारा कार्की गुरुङ् निर्वाचित भएकी छन् । त्यस्तै धनकुटा, पाख्रिवास गाउँपालिका वडा न. ९ बाट नेकपा एमालेकी सम्झना आले निर्वाचित छिन् ।

मोरङ उर्लावारी नगरपालिका ७ मा नेकपा एमालेकी उर्मिला थापा, बेलवारी नगरपालिका ७ बाट एमालेकी सुनिता चौधरी, सोलुखुम्बू जिल्ला महाकुलुङ गाउँपालिका वडा ४ बाट एमालेकी सरस्वती राई वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

मधेस प्रदेशमा निर्वाचित पुरुष १२५९,  महिला १२

प्रदेश न.२ मा २५४ जना महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । जसमा १२ जना भएका छन् । प्रदेशमा पुरुषको निर्वाचित संख्या १ हजार २५९ रहेको छ । निर्वाचित महिला वडाध्यक्षमध्ये नेकपा एमालेमा ४ जना, नेपाली कांग्रेसबाट ३ जना, स्वतन्त्रबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट २ र बहुजन एकता पार्टीमा १ जना छन् ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका वडा ३ मा नेपाली कांग्रेसकी बासुदेवी यादवनी, रुपनी गाउँपालिका १ मा लोकतान्त्रिक समाजवादी पार्टीकी लीला यादव निर्वाचित भएका छन् । त्यस्तै सिरहा नरहा गाउँपालिका वडा २ मा नेकपा एमालेकी सम्झना सिंह, भगवानपुर गाउँपालिका वडा १ बाट एमालेकी मीरादेवी यादव, मिर्चैया गाउँपालिका ३ मा स्वतन्त्रबाट उठेकी पवित्री देवी यादव निर्वाचित भएकी हुन् ।

त्यस्तै प्रदेशको जनकपुरधाम उपमहानगरपालिका २३ मा स्वतन्त्रकी राघवेन्द्र प्रसाद साह, सर्लाही बरहथवा गाउँपालिका १० मा बहुजन एकता पार्टीकी शर्मिलाकुमारी राम, सोही जिल्लाको कौडेना गाउँपालिका ५ बाट नेपाली कांग्रेसकी अनिशा खातुन, बलरा नगरपालिका ६ मा लोकतान्त्रिक समाजवादी पार्टीकी अनिता देवी साहनी, रौतहट देवानी गोनाही नगरपालिका १ मा नेकपा एमालेकी सफिना खातुन विजयी भए ।

त्यस्तै बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा १४ मा एमालेकी चयन गुरुङ र पर्सागढी नगरपालिका वडा न. ८ बाट नेपाली कांगे्रसकी सुन्दरीदेवी थरुनी वडाअध्यक्ष मा विजय हासिल गरे ।

वागमती प्रदेश : पुरुष ११०९ पुरुष, १२ महिला

प्रदेशमा १४९ जना महिलाले उम्मेदवारी दिएका थिए । जसअन्तर्गत १२ जना निर्वाचित भएका भए । प्रदेशमा पुरुषको विजयी संख्या एक हजार १०९ छ । निर्वाचित महिला उम्मेदवारमध्ये नेपाली कांग्रेसबाट ६ जना, एमालेबाट ३ जना छन् । एकीकृत समाजवादी पार्टी, माओवादी र स्वतन्त्रमा १\१ जना निर्वाचित भएका छन् ।

प्रदेशको सिन्धुली दुधौली नगरपालिका वडा न.३ मा नेपाली कांग्रेसकी भद्राकुमारी माझी, नुवाकोटको बेलकोटगढी नगरपालिका ३ र ६ मा माओवादी केन्द्रकी कौशिला पुडासैनी, र नेकपा एमालेकी अम्बिका तामाङ क्रमशः निर्वाचित छन् । काठमाडौको कीर्तिपुर नगरपालिका वडा न. ८ मा नेपाली कांग्रेसकी सानुमैया महर्जन निर्वाचित भइन् । त्यस्तै जिल्लाको टोखा र बूढानीलकण्ठ नगरपालिका वडा न.६ र ९ मा नेपाली कांग्रेसकी शान्ता खनाल र नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे विजयी भए ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ८ बाट कांग्रेसकी शुभलक्ष्मी मानन्धर, मकवानपुर जिल्लाको बकैया गाउँपालिका ५ र १० बाट नेपाली कांग्रेसका लक्ष्मी जिम्बा र कमला कुमारी वाइवा निर्वाचित भए ।

त्यस्तै हेटौडा उपमहानगरपालिका वडा न. ११ बाट नेकपा एमालेकी जुना दाहाल, चितवन माडी नगरपालिका ७ र राप्ती नगरपालिका ७ बाट एकीकृत समाजवादीकी चन्द्रकुमारी बानियाँ र स्वतन्त्रबाट उम्मेदवारी दिएकी सुमिता डल्लाकोटी निर्वाचित छन् ।
गण्डकी प्रदेशमा निर्वाचित पुरुष ७२६, महिला १४ जना

प्रदेशमा ९७ जना महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । जसमा १४ जना निर्वाचित भएका छन् । निर्वाचित मध्ये नेपाली कांग्रेस र नेकपा एमालेमा ६\६ जना र माओवादी केन्द्रबाट २ जना रहेका छन् । यो प्रदेशमा ७२६ जना पुरुष उम्मेदवार विजयी भएका छन् ।

गोरखा नगरपालिका वडा न. १३ मा नेपाली कांग्रेसकी मित्रकुमारी परियार निर्वाचित भइन् । त्यस्तै गोरखा जिल्ला शहिद लखन गाउँपालिका २ मा माओवादी केन्द्रकी सकुन थापा, सिरानचोक गाउँपालिका १ मा नेपाली कांग्रेसकी मनिता गुरुङ निर्वाचित भए ।

त्यस्तै लमजुङ दोर्दी गाउँपालिका ७ मा एमालेकी रीसमाया गुरुङ र बेसीशहर नगरपालिका ८ मा नेपाली कांग्रेसकी पवित्रा थापा राना निर्वाचित भएका छन् ।

यसै गरी कास्की जिल्ला पोखरा महानगरपालिका वडा न. १७ मा नेकपा एमालेकी राधिकाकुमारी शाही, तनहुँ आँबुखैरनी गाउँपालिका ४ मा नेपाली कांग्रेसकी मिलन भुजेल सोही जिल्लाका भानु नगरपालिका वडा १ बाट कांग्रेसकी कान्छीमाया तामाङ निर्वाचित भएका छन् ।

स्याङजाको कालीगण्डकी गाउँपालिका वडा २ बाट नेपाली कांग्रेसकी खगिसरा आले, चापाकोट नगरपालिका ६ बाट कांग्रेसकी तारादेवी पोखरेल र विरुवा गाउँपालिका वडा न. ३ बाट माओवादी केन्द्रकी मनु कुमारी राना निर्वाचित छन् । यसै गरी नवलपरासी जिल्ला गैडाकोट नगरपालिका १४ मा नेकपा एमालेकी कोसिसरा राना मगर, देवचुली नगरपालिका ७ मा नेकपा एमालेकी भुमिसरा आले र विनयी त्रिवेणी गाउँपालिका वडा न. २ बाट एमालेकी पुष्पा आलेमगर विजयी भएका छन् ।

लुम्बिनी प्रदेशका निर्वाचित पुरुष ९६९, महिला १४ जना

लुम्बिनी प्रदेशमा १३६ जना महिला उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । जसमा १४ जनाले विजयी प्राप्त गरेका छन् । विजयी प्राप्त गर्नेमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रमा ५\५ जना, नेकपा एमालेमा ३ र लोकतान्त्रिक समाजवादी पार्टीमा १ जना गरी १४ जना छन् ।

यो प्रदेशमा ९६९ जना पुरुष उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशको गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा न. ९ मा नेपाली कांग्रेसकी भुमा गुरुङ निर्वाचित भइन् । त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका ५ मा नेकपा एमालेकी इन्द्र कुमारी गाहा, रुपन्देही गैडहवा गाउँपालिका वडा न. ९ बाट एमालेकी मिना क्षेत्री विजयी भए । त्यसैगरी कपिलवस्तु यशोधरा गाउँपालिका ३ मा नेपाली कांग्रेसकी सरिता त्रिपाठी र शिवराज नगरपालिका १० मा लोकतान्त्रिक समाजवादी पार्टीकी मन्जु मिश्र, रुकुम पूर्व जिल्ला पुथा उत्तरगंगा गाउँपालिका ८ मा माअ‍ेवादी केन्द्रकी पूर्ण मल्ल विजयी भएका छन् ।

त्यस्तै रोल्पा त्रिवेणी गाउँपालिका ३ मा माओवादी केन्द्रकी तिलाकुमारी ओली, रुन्टीगढी गाउँपालिका ८ मा माओवादी केन्द्रकी तुल्सी पुन, प्युठान नगरपालिका वडा न. १ मा नेपाली कांग्रेसकी साधना रावत, सरुमारानी गाउँपालिका वडा न. ५ मा माओवादी केन्द्रकी लक्ष्मीपत्ली मगर छन् ।

त्यस्तै बाँके जिल्लाको कोहलपुर नगरपालिका १० र ११ मा नेपाली कांग्रेसकी गोरा कुमारी अधिकारी र नेकपा एमालेकी कल्पना शर्मा विजयी छन् । बर्दिया ठाकुरबाबा नगरपालिका ९ मा माओवादी केन्द्रकी राधा चौधरी र प्रदेशको नवलपरासी (बर्दघाट सूस्ता पश्चिम) बर्दघाट नगरपालिका वडा न. ५ बाट नेपाली कांग्रेसकी विमला गुरुङ निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश : वडाध्यक्षमा निर्वाचित पुरुष ६८५, महिला ५

कर्णाली प्रदेशमा ७२ जना महिला उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसमध्ये ५ जनाले मात्र विजयी प्राप्त गरेका छन् । जबकी कर्णाली प्रदेशमा ६८५ जना पुरुष उम्मेदवार निर्वाचित छन् ।

विजयी प्राप्त गर्ने मध्ये नेपाली कांग्रेसका र माओवादी केन्द्रका २\२ र एकीकृत समाजवादीका १ जना रहेका छन् । निर्वाचित महिलामा सल्यान जिल्ला दार्मा गाउँपालिका वडा न. ६ र शारदा नगरपालिका वडा न.३ मा माओवादी केन्द्रकी देवी खत्री र नेपाली कांग्रेसकी तुल्सा भण्डारी निर्वाचित छन् ।

त्यस्तै मुगु छायाँनाथ रारा नगरपालिका ११ मा एकीकृत समाजवादीकी कुन्जम कुमाई, जारजकोट जिल्ला जुनीचाँदे गाउँपालिका वडा ६ मा कांग्रेसकी लक्ष्मीदेवी शाह र सोही जिल्ला नलगाड नगरपालिका १० बाट माओवादी केन्द्रकी अनिता रोकाया छन् ।

सूदुरपश्चिम प्रदेशमा निर्वाचित वडाध्यक्ष : पुरुष ७१८, महिला ६

प्रदेशमा ७६ जना महिला उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये ६ जना निर्वाचित भएका छन् । जबकी प्रदेशमा निर्वाचित पुरुषको संख्या ७२४ रहेको छ । निर्वाचित महिलामा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २\२ जना, नेकपा एमालेबाट १ जना त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट १ जना छन् ।

निर्वाचित महिला उम्मेदवारमा बझाङ जिल्ला खप्तड छात्रा गाउँपालिका वडा न.३ मा नेपाली कांग्रेसकी गौरा कुमारी अधिकारी विजयी भइन् । त्यस्तै कैलालीको गोदावरी नगरपालिका ७ मा नेकपा एमालेकी कलावती साउँद, गौरीगंगा नगरपालिका ८ बाट माओवादी केन्द्रकी करुण चौधरी, सोही जिल्ला जोशीपुर गाउँपालिका वडा न.३ बाट नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा, लम्की चुहा नगरपालिका ५ मा माओवादी केन्द्रकै माया विष्ट र बैतडीको शिवनाथ गाउँपालिका वडा न.१ बाट नेपाली कांग्रेसकी बलदेवसिंह चाड निर्वाचित भएका छन् ।