NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओली, देउवा र प्रचण्डविरुद्ध उम्मेदवारी दिने आँट गर्लान् रवि लामिछानेले ?

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले तामझामसहित मंगलबार नयाँ पार्टी घोषणा गरेका छन् ।

सक्रिय सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रविले राष्ट्रिय सभागृहमा आफ्ना समर्थक, शुभचिन्तकमाझ वाचा–कसम खाँदै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे ।

सञ्चारकर्मलाई बिट मारेका उनले अब विधिवत रूपमा राजनीतिक यात्राको शुभारम्भ गरेका छन् । घोषणासभामा उनले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा आजैदेखि सक्रिय रहने बताएका छन् ।

निर्वाचन आयोगले उनको दललाई मान्यता दिएपछि  सम्पूर्ण शक्ति निर्वाचनकेन्द्रित रहने छ । सुरूवाती चरणमा २१ जना सदस्य रहने गरी समिति गठन हुनेछ । त्यही समितिले नै बाँकी कार्यभार निर्वाह गर्नेछ ।

रविले नयाँ पार्टी घोषणा गरेपछि आगामी निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिन्छन् वा पुरानै पार्टीमा प्रवेश गर्छन् भन्ने चासोको पटाक्षेप भएको छ । मूलभुत रूपमा पुराना राजनीतिक दलका नेताहरूले बाटो बिराएकोले आफू राजनीतिमा होमिएको उनले दाबी गरेका छन् ।

‘म राजनीतिमा व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको हो । राजनीतिक दलका नेतालाई सच्चिन मैलै पटक—पटक आग्रह गर्दासमेत कुनै सुधार नआएकोले म राजनीतिमा होमिएको हो । वर्षै जमेको धुलो टकटकाएर आम जनताको अवस्था बदल्न म प्रतिवद्ध छु ।’

स्वतन्त्र वा कुनै दलमा प्रवेश गर्ने बाटो बन्द गरेका रविले आगामी निर्वाचनमा कुन क्षेत्रबाट उठ्ने भन्नेबारे कुनै जानकारी दिएनन् । संघीय निर्वाचनमा उम्मेदवारी दिनेबारे जनताको प्रतिक्रिया लिएपछि मात्र अगाडि बढ्ने उनले बताए । तर उनले आफूलाई चितवन, झापा, डडेलधुरामध्ये एक ठाउँबाट चुनाव लड्न मन भएको बताए । सभामा आफू पुराना पार्टीबाट एक जनालाई संसद पस्न रोक्ने जिकिर गर्दै त्यसैगरी अन्यलाई पस्नबाट रोक्न तयारी गर्ने बताए ।

हालसालै सकिएको स्थानीय तहमा काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङको उदयले रविलाई नयाँ पार्टी गठनमा हौस्याएको देखिन्छ ।

‘कुन क्षेत्रबाट निर्वाचन लड्नुहुुन्छ भनेर तपाईंहरूले प्रश्न गरिरहनुभएको छ । मलाई त चितवन, झापा र डडेलधुराबाट चुनाव लड्न मन थियो । तर उम्मेदवारी दिने विषयमा हतारमा निर्णय हुँदैन । किनकी हामीलाई हार्ने छुट छैन’, उनले भने, ‘आगामी निर्वाचनमा उम्मेदवारी दिने विषयमा आम जनताको प्रतिक्रिया लिएपछि निष्कर्षमा पुग्छौं । म डराएको होइन, सरकारले कस्तो चुनाव गराउँछ विगतमा हामीलाई थाहा छ । राजनीति पत्रकारिता गरेजस्तो सजिलो छैन । योपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद छिर्न दिने छैन ।’

यसअघि उनले काठमाडौं २ वा ३ मध्ये एकबाट उम्मेदवारी दिने बताइएको थियो । तर पार्टी घोषणासभामा भने उनले बेथितिका मेन स्वीचमध्ये प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीमध्ये एक जनाविरुद्ध लड्न सक्ने जनाउँ दिएका हुन् । सीधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम रोक्ने प्रचण्डविरुद्ध नै उनले चितवनबाट उम्मेदवारी घोषणा गर्न सक्ने पनि बताइन्छ । तर उनले आफ्नो पार्टीका केही स्वतन्त्रका उम्मेदवार उठाएर परम्परागत दलविरुद्ध धावा बोल्ने तयारी भने गरेका छन् ।

रविले संघीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा स्वघोषणा नगरेपनि उनले शंकाको सुई प्रचण्ड, केपी र शेरबहादुरमध्ये एक जनामाथि घुमाएका छन् । राजनीति बेथितिको मेन स्वीच प्रचण्ड, देउवा र केपी भएको संकेत गर्दै तीनै जनालाई हराउने रणनीतिसाथ अघि बढ्न लागेको उनकै अभिव्यक्तिबाट बुझ्न सकिन्छ । रविले तीन जना शीर्ष नेताको नामै नलिइ एक जनालाई आफूले संसद पस्न नदिने र अन्यलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

हालसालै सकिएको स्थानीय तहमा काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङको उदयले रविलाई नयाँ पार्टी गठनमा हौस्याएको देखिन्छ । स्वतन्त्र उम्मेदवारले शानदार रूपले कांग्रेस, एमाले, माओवादी जस्ता परम्परागत राजनीतिक दलका उम्मेदवारलाई पराजित गरेपछि आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिनेबीच बाढी नै आउने देखिएको छ । रविले आफू स्वतन्त्रबाट उम्मेदवारी घोषणा नगरेपनि उनको दलको नाम सबै स्वतन्त्र व्यक्तिलाई आकर्षित गर्ने खालको राखेका छन् । दलको नाम नै स्वतन्त्र राखेर स्वतन्त्र मत बटुल्ने चलाखी रविले गरेका छन् । भित्रभित्रै स्वतन्त्र उम्मेदवार छनोट गर्ने विज्ञ समूहले नै रविको टिमलाई सघाइरहेको छ । उनी आफैंले पनि विज्ञ समूहबाट उम्मेदवार छनोट गर्ने बताइसकेका छन् ।

रविको अभिव्यक्तिबाट आगामी निर्वाचनमा पुराना पार्टीका मुख्य–मुख्य नेताहरूलाई हराउने रणनीतिसाथ आगामी राजनीतिक यात्रा तय गर्न खोजिएको देखिन्छ । उनले राजनीतिको ‘मेन स्वीच’ ओली, देउवा र प्रचण्डलाई संकेत गरेकाले आगामी राजनीतिमा खतराको घण्टी उनीहरूमाथि नै बजाउने हिसाबले तयारी गरिरहेको बुझ्न सकिन्छ ।

रविको चर्चा र आलोचनाको श्रृृंखला

सन् २०१३ मा न्यूज २४ टेलिभिजनमा ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व रेकर्ड कायम गरेपछि उनी चर्चामा आएका थिए ।
यही कार्यक्रम नै रविको ‘टर्निङ प्वाइन्ट’ भयो । त्यसपछि अमेरिकाको ग्रीन कार्ड त्यागेर उनी नेपाल फर्किए । ०७२ मा ओली सरकार आएपछि नेपाल टेलिभिजनबाट जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाए । यस कार्यक्रमले रविलाई सञ्चारकर्ममा लाग्न थप हौस्याएको थियो ।

तर प्रचण्ड नेतृत्वको सरकार आएपछि उनी नेपाल टेलिभिजनबाट बाहिरिए । त्यसपछि लामो समय निजी च्यानल न्यूज २४ मा ‘जनतासँग सिधा कुरा’ चलाए । खासगरी विदेशमा रहेर दुःख पाएका नागरिकहरूको पक्षमा आवाज उठाएपछि उनी छोटो समयमै निकै लोकप्रिय भए ।

उनको आक्रमक रूपमा कार्यक्रम चलाउने शैलीको कतिले तारिफ गरे भने कतिले आलोचना । सामाजिक सञ्जालमा भने उनलाई देवत्वकरण गरेको सूची लामो छ । सायद लामिछाने राजनीतिमा आउन जुटाएको साहस पनि यही देवत्वकरणको नतिजा हो ।

रविको प्रशंसासहित आलोचनाको ग्राफ ह्वात्तै बढ्दै गयो । त्यसकै परिणाम तीन वर्ष अघि २०७६ भाद्रमा आफ्नै सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुसाहन मुद्दा लागेको थियो । २५ दिन चितवन प्रहरीको हिरासत बसेका उनलाई पछि अदालतले सफाइ दिएको थियो ।

रविको कार्यक्रम चलाउने शैली पत्रकारिता आचारसंहिता विपरीत भएको भन्दै केही समयअघि नुवाकोटका लक्ष्मण विकले प्रेस काउन्सिलमा निवेदन दर्ता गराएका थिए । उक्त उजुरीमा लामिछाने अनुमतिबिना अरुको कार्यकक्ष र घरघर घुसेर भ्रामक समाचार बनाउने, भिजुअल खिच्ने र जनतालाई दुःख दिने गरेको आरोप लगाइएको थियो ।

उनीमाथि परेको उजुरीका आधारमा काउन्सिलले स्पष्टिकरण माग गर्दा त्यतिबेला उनले उल्टै नियामक निकाय काउन्सिलको खरो विरोध गरेका थिए । रविमाथि प्रेस पाससमेत नलिइ पत्रकारिता गरिरहेको, ग्रीनकार्ड नत्यागी नेपालमा अवैधानिक तरिकाले बसेको लगायत उनलाई आरोप लागेको थियो ।

न्यूज २४ बाट गत वर्ष विदा लिएपछि उनी आफैंले ग्यालेक्सी फोर टेलिभिजन सञ्चालनमा ल्याएका थिए । तर तत्कालै आफू राजनीतिमा आउने सोच रहेको बताएका उनले एक वर्ष नबित्दै सञ्चारकर्म छोडेर राजनीतिमा आएका छन् । भक्तपुरको नगरकोटमा स्थायी घर रहेका उनी प्लस टु पास गरेपछि लामो समय अमेरिका पलायन भएका थिए । अमेरिका जानुअघि नेपाल टेलिभिजनमा हाँस्य श्रृंखला कार्यक्रम चलाउँथे । टेलिभिजन कार्यक्रममा जबर्जस्त स्थापित र लोकप्रियको छवि बनाएका उनले कति जिम्मेवारी देखाएर काम गर्छन् यसैले उनको भावी राजनीतिक दिशाको बाटो तय गर्छ ।

रविको पार्टीमा कहिल्यै नलाग्ने दाजु हरिशरणको घोषणा