NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !

काठमाडौं । ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई छुटाउन वकिल र न्यायाधीशबीच मोल–मोलाइ भएको अडियो बाहिरिएको छ । तामाङलाई छुटाउनका लागि वि सं २०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद न्यूज २४ को ‘सिधा कुरा जनतासँग‘ले सार्वजनिक गरेको हो । यद्यपि, उनीहरू तामाङलाई छुटाउन भने सफल भएनन् ।

सार्वजनिक भएको १० मिनेटको अडियोमा वकिल रुद्रप्रसाद पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको सुन्न सकिन्छ । घुस बार्गेनिङका बेला जिल्ला अदालत काठमाडौंमा कार्यरत न्यायाधीश कोइराला अहिले पनि त्यही छन् ।

अडियोमा वकिल पोखरेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाएबापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका छन् । सुरुमा न्यायाधीश कोइराला घुस लिएर आरोपी तामाङलाई छुटाउन अन्कनाएका छन् । उनले मिडिया र सर्वसाधारणको डर मानेका छन् ।

घुस लिन सुरुमा असहजजस्तो मानिरहेका न्यायाधीश कोइरालालाई उनी बारम्बार भनिरहन्छन्, ‘यस्तो मौका सधैंआउँदैन । अरू मान्छे कति गरेर बसेका छन् ।’

यो काम फत्ते गर्न प्रधानन्यायाधीशसँग पनि भेटको लागि समय मिलाइदिने भन्दै पौडेल लबिङमा लागिपरेका छन् । सार्वजनिक अडियोमा कतै अनुरोध, आग्रह सुनिन्छ भने कतैकतै घुर्की । एक ठाउँमा उनले भनेका छन्, ‘तपाईंले गर्दै नगर्ने हो भने मेरो वचन खेर फाल्न मात्रै किन जानु ?’

न्यायाधीश कोइरालालाई मनाउनका लागि पोखरेलले तामाङविरुद्ध बनेको अभियोगपत्र नै कमजोर भएको सुनाएका छन् । कमजोर अभियोगपत्रविरुद्धमा फैसला गर्दा कसैले पनि सेटिङको शंका नगर्ने उनको तर्क छ । ‘त्यो अभियोगपत्र हेर्दा कुनचाहिँ माइकालालले पैसा खाएर यत्ति गर्यो भनेर पत्याउँछ ?,’ पोखरेलले संकोच मानिरहेका न्यायाधीशलाई कन्भिन्स गर्दै भनेका छन् ।

न्यायाधीश कोइरालालाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्दै उनी भन्छन्, ‘सहकारी ऐनबमोजिम सबै कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलिकति अप्ठेरो हुन्थ्यो । किनभने, त्यहाँ ऐनका सबै कुराहरु हुन्थे । केही गरेर ठग नै नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?’

पोखरेलको प्रस्तावबाट लालायित तर कारबाही र बदनामीको भागिदार हुने त्रासमा रहेका न्यायाधीश न्यायाधीश कोइरालालाई वकिल पोखरेलले प्रधानन्यायाधिश नै भेटेर सेटिङ मिलाउने ढाडस दिन्छन् । त्यसपछि बल्ल न्यायाधीश कोइराला घुस लिएर तामाङलाई छुटाउने फैसला गरिदिन राजी हुन्छन् ।

यो संवादले न्यायालयको नेतृत्वले पनि आफ्नो इन्ट्रेस्टअनुसार न्याया सम्पादन गर्न न्यायाधीशलाई निर्देशन दिने गरेको संकेत गरेको छ ।  न्यायाधीश कोइरालाले संवादका क्रममा पटक-पटक प्रधानन्यायाधीशबाट ग्रिन सिग्नल सायद यही कारण खोजेका हुनसक्छन् ।

यस्तो छ न्यायाधीश कोइराला र वकिल पोखरेलबीचको त्यो असफल संवाद :

न्यायाधीश : रुद्रजी ।

वकिल : प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश : प्रधानन्यायाधीशलाई ?

वकिल : प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश …

वकिल : हजुरले गर्दै नगर्ने भए बेकारमा किन वचन खेर फाल्न जाने, भन्नु न । गर्दै गर्दिनँ भन्ने हो भने

न्यायाधीश : सुन्नुहोस् न, सुन्नुहोस् न ।

वकिल : हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन ? अरू मान्छे कत्रो गरेर बसेका छन ।

न्यायाधीश : त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब …

वकिल : तपाईंले यो छोड्नु भयो भने तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुनचाहिँ माइकालालले पैसा खाएर यति गर्‍यो भन्ने खालको छ । अभियोगपत्र नै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐनबमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठ्यारो हुन्थ्यो । किनकि त्यहाँ त ऐनका सबै कुराहरू थिए । ठगी त केही गरे ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

न्यायाधीश : (केही बेर हाँसो हा… हा… हा…) । त्यो त हो कि, हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखि …

वकिल : त्यस्तो क्या हजुर, त्योमध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तँलाई हामी ठीक गर्छौं भनी सके । बहस नै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्योमध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउँदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईं त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नुभयो । अनि मैले …

न्यायाधीश : डिल्लीप्रसाद भट्टराई भन्ने आठराईको हो । हिजो भेट भयो । ‘वकिललाई त्यसो भन्नु हुन्छ ? उहाँको पेसा हो, धर्म हो’ भने । हँ त त्यस्तो भन्नु हुन्न भनेँ ।

वकिल : भन्छन के । यस्तो के । मैले त सुरुदेखि नै हजुरलाई भनेको थिएँ ।

न्यायाधीश : सुन्नु न त । जाहेरवालाको वकिल केशव बराल के रे ?

वकिल : होइन, रमेश बडाल ।

न्यायाधीश : को रे ? रमेश बडाल बहस गर्न आउने रे ?

वकिल : बहस त गर्न पाइयो नि त हजुर ।

न्यायाधीश : आज दिनभरि लागि हाल्छ । आज, भोलि हुन सक्दैन । त्यसले गर्दा फेरि, सुन्नुस न । बर्बाद हुन्छ नि त ।

वकिल : केही हुँदैन । केही हुन्न ।

न्यायाधीश : हँ ।

वकिल : ममाथि गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो हगि । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढङ्गले लिऊँ। यो अवसर सधैं आउँदैन, हेरिस्यो हगि । फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए हजुर के भन्या तैंले भन्नुहुन्थ्यो । मैलेचाहिँ । अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको । मैले बरु ।

न्यायाधीश : प्रधानन्यायाधीशले भन्छन त ? प्रधानन्यायाधीशले उनलाई ?

वकिल : भन्छन । म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

न्यायाधीश : ल हेर्नु न । (खितितिती हाँसो) ।

वकिल : ल हेरौं न, होइन । मैले त्यति गरिसकेपपछि हजुरले फेरि नाइँ भने ?

न्यायाधीश : आज हुँदैन । भोलि हुन्छ भनेपछि । आज मुद्दा रोकिने कुरा छैन । हैन…

वकिल : सामान पनि ल्याओ भन्नुपर्‍यो । उm गर्नुपर्‍यो । त्यत्तिकै फोगटिया त किन गर्ने फेरि । समय नै छैन नि त । होइन किन उm गरिस्या भन्या । सबै कुरा गरिसकेपछि । यस्तो बेलामा उल गर्नुहुन्न, सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्योभन्दा बहिर अन्त कहीँ एक्स्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनीहरूका सबै च्यानल हावा खाए । खासमा यिनीहरू दरोसँग जान सकेनन् ।

न्यायाधीश : धरौटी माग्छन नि, कति माग्ने ? कति भन्नु त ?

वकिल : एउटा रिजनेबल भन्ने नि ।

न्यायाधीश : कती माग्ने त ?

वकिल : १० करोडको हाराहारीमा माग्नु नि ।

न्यायाधीश : कति, १० करोड ? हा… हा… हा… हा… । ठीक छ, हुन्छ । अब अप्ठ्यारो पर्‍यो भने हजुर …

वकिल : पर्दैन, पर्दैन । सधैं यस्तो आउँदैन । अरू बेला गर्ने, यस्तो बेलामा एक दुई वटा सिद्धान्त छाट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नि के–के गर्ने । एक दुई वटा, एक दुइटा आइडिया निकालौं ला नि हजुर ।

न्यायाधीश : अँ । (हाँसो)

वकिल : त्यो गरौं । यतातिर झ्यापर्याक्कै २ जति (२ करोड) लिउm न ।

न्यायाधीश : अँ । (हाँसो)

वकिल : माथिबाट हुन्छ । तपाईं, ए रामप्रसाद सर । अहिले गएर मैले नमस्ते गरेर मेरो यति काम तैँले गर्नु पर्छ भन्दा गरेन भने त यो जजि खुद्रागत को हुन्छ त ? पैसा खाएरचाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ, हैन त ?

न्यायाधीश : उनीहरूले गर्ने ?

वकिल : उनीहरूले त गर्ने नि ।

न्यायाधीश : ए अँ ।

वकिल : होइन, अब मैले यो यो कारणले तैंले गर्नुपर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नहुने चिज भए हुने । यो त उही लिगल्ली तपाईं कन्भिन्स भएको, खालि मिडियाले के गर्ला कि, कसले के गर्ला कि भनेर न हो ।

न्यायाधीश : मिडियाले लेख्ने र मानिसहरूले नारा जुलुस गर्लान् कि फेरि ?

वकिल : केही गर्दैनन । त्यो केही गर्दैनन । नारा जुलुस केही गर्दैनन । माथि जान्छ । माथिबाट उm पनि भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आत्तिएको ? हो त ?

न्यायाधीश : त्यही त ।

वकिल : पहिला पास हुँदैन होला कि भन्ने थियो । मुद्दा सबै हेरी सकेपछि यो त तपाईंले सक्नु भएन भने माथिकाले सक्छन् । बेकारमा अर्काका छोराछोरी उm गरेको किन गर्नुहुन्छ ? तपाईं आफ्नै गरून् ।

न्यायाधीश : त्यो त हो कि । ठीकै छ । माथिबाट भन्नु न ।

वकिल : ठीक छ, म भन्न लगाउँछु । माथि

तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन गत वर्षको पुसमा विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको थियो ।

सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत थिए ।