NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हैजा : कति घातक, कसरी जोगिने ?

काठमाडौं । हैजा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया झाडापखाला जस्तो हुने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकका अनुसार हैजा भएका १० जनामध्ये एक जनामा गम्भीर लक्षण देखिन्छ ।

कडा लक्षण देखिएका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुन्छ । वर्षाको समयमा नेपालका विभिन्न स्थानमा हैजाको संक्रमण देखिन्छ ।

यसपटक काठमाडौं उपत्यकामा ४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रह गरेको छ । यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ ।

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हैजाको संक्रमण भएका मानिसहरुमा निरन्तर पातलो दिसा लाग्ने, पटकपटक बान्ता हुने, लगातार दिसा लाग्नाले शरीर कमजोर भएर पेट वा खुट्टाको मांसपेशी बाउँडिने, शरीर सुख्खा भएर तिर्खा अत्यधिक लाग्ने, अधिक थकान र बेचैनी हुने, शरीर कमजोर हुनाले बेहोससमेत हुने हुन्छ ।

हैजाको संक्रमण रोकथाम गर्न सफा पानी पिउने, फोहोर र दूषित खानेकुरा नखाने गर्नुपर्छ । यसकाे संक्रमण भइसकेकाे अवस्थामा पुनर्जलीय पुनर्जलीय झोल अर्थात् जीवनजललाई प्राथमिक उपचार मानिन्छ, यसबाहेक गम्भीर अवस्थामा पुगे एन्टिबायाेटिककाे प्रयाेग गर्नुपर्छ ।

गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।

काठमाडौंमा हैजा देखिएपछि सतर्कता अपनाउन आग्रह