NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सुब्बाको तरक्की : भ्रष्टाचारको पैसाले १७ ठाउँमा जग्गा, सातवटा घर

काठमाडौं । झण्डै साढे दुई करोड गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना पूर्व नायब सुब्बा (नासु) विरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नासु गणपति झाविरुद्ध आयोगले दुई करोड ४४ लाख ७१ हजार बिगो कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

९ मंसिर ०३९ मा गाविस सचिव खरिदबारबाट सेवा प्रवेश गरेका उनी बढुवा भएर नासु भएका थिए । उनी ०७८ साउनमा अवकाश भइसकेका हुन् । अकुत सम्पत्ति आर्जनको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो । आयोगले उनी सरकारी सेवामा प्रवेश गरेदेखि अवकाशसम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । छानबिनबाट अस्वाभाविक गैरकानूनी सम्पत्ति देखिएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

परीक्षण अवधिमा झाको दुई करोड ४२ लाख ६७ हजार आयआर्जन देखिएको थियो । त्यसमा पारिश्रमिक, बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी सञ्चयकोषको ऋण, कृषि आय, सवारीसाधनको आय, बीमा क्याचुरिटी र न्यु थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आम्दानी थियो । तर त्यही अवधिमा उनको खर्च तथा लगानी भने चार करोड ८७ लाख ३७ हजार देखिएको थियो । त्यसमा जग्गा खरिद, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, जेसिबी, स्कार्पियो, बोलेरोलगायतका विभिन्न सवारीसाधन खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्रप्राइजेज, न्यु थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीीत कन्स्ट्रक्सनसमेतका व्यावासाियक फर्म तथा कम्प्नीको दर्ता तथा सञ्चालन, कृषि उपकरण खरिदसमेतमा लगानी गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकका अनुसार उनको धनुषामा मात्रै १७ ठाउँमा जग्गा र सातवटा घर फेला परेको छ । खरिदार हुँदासम्म आम्दानी र खर्च बराबर रहेकोमा नासु भएपछि उनले अप्रत्यासित ढंगले रकम जम्मा गरेका थिए ।