NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रशिक्षक अलमुताइरीले हटाएका खेलाडी ससम्मान फिर्ता हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित पहिलो कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टोलीबाट बाहिरिएका १० सिनियर खेलाडीलाई ससम्मान टोलीमा फिर्ता बोलाउने निर्णय गरेको छ । एन्फाका नवनिर्वाचित पदाधिकारीको बुधबार शपथग्रहणपछि बसेको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा निकालिएका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । गत वैशाखमा मुख्य प्रशिक्षक अलमुताइरीसँग विवाद हुँदा एन्फाले नै १० खेलाडीलाई एएफसी एसिया कप छनोटमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय टोलीबाट बाहिर राखेको थियो ।

प्रशिक्षक अलमुताइरीले सिनियर खेलाडीलाई हटाउँदै १७ जना नयाँ खेलाडीलाई मौका दिएका थिए । कप्तान नवयुग श्रेष्ठको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरियो । एएफसी कपको प्रारम्भिक बन्द प्रशिक्षणमा मिडफिल्डर रोहित चन्दले होटेलदेखि अन्य सुविधा पाउनुपर्ने माग प्रशिक्षक अलमुताइरीसमक्ष राखेका थिए । प्रशिक्षक अलमुताइरीले खेलाडीको माग पूरा नगरी चन्दलाई सीधै बन्द प्रशिक्षणबाट बाहिर जान सक्ने निर्देशन दिए । चन्दले उठाएका माग जायज भएको जनाउँदै अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, सुमन लामा, तेज तामाङ, विमल घर्तीमगर र दिनेश राजवंशीले बन्द प्रशिक्षण छाडेका थिए । तत्कालीन नियमित कप्तान किरण चेम्जोङले समेत खेलाडीको मागप्रति समर्थन जनाए । यद्यपि, उनी खेलाडीहरूको आन्दोलनमा सम्मलित नभए पनि समर्थन गरेकै कारण टोलीबाट बाहिरिए ।

खेलाडी र प्रशिक्षकबीचको विवाद एन्फासम्म पुग्यो । प्रशिक्षक अलमुताइरीले विनाजानकरी क्याम्प छाडेर गएका खेलाडीलाई एएफसी एसिया कप छनोटमा समावेश नगर्ने घोषणा गरे । त्यसपछि एन्फाले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले एन्फामा बुझाएको प्रतिवेदनमा खेलाडी दोषी नभएको र प्रशिक्षकको व्यवहार गलत भएको उल्लेख छ । सो समितिले एएफसी एसिया कप छनोटपछि सुझाव कार्यान्वयन गर्न एन्फालाई सुझाव दिएको थियो ।

खेलाडी–प्रशिक्षकबीचको विवादको अनुसन्धानका लागि भिक्टर राणाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनअनुसार खेलाडीलाई टोलीमा फर्काउने निर्णय गरिएको हो । एएफसी एसिया कप छनोटपछि प्रशिक्षक अलमुताइरी कुवेतमै बसेका छन् । उनी नेपाल फर्किने वा नफिर्किने भन्ने स्पष्ट भइसकेको छैन । एन्फा कार्यसमिति बैठकले मुख्य प्रशिक्षक अलमुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।