NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बालबालिकालाई कोरोना खोप : लगाउनुअघि र पछि ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं । सरकारले आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

युएस एडको सहयोगमा कोभ्याक्समार्फत अमेरिकाबाट प्राप्त फाइजर कम्पनीको खोप बालबालिकामा लगाउन लागिएको हो । चिकित्सकहरूका अनुसार यो खोपको प्रभावकारिता ९१ प्रतिशत पाइएको छ ।

कस्तो अवस्थामा कोरोना खोप लगाउन हुँदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पाँच वर्ष पूरा भएकादेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

खोप बालबालिका अध्ययनरत विद्यालयमै लगाउने प्रबन्ध मिलाइएको छ ।

चिकित्सकहरूका अनुसार, यो खोप लगाउनुपूर्व र लगाइसकेपछि केही कुरामा ध्यान दिनुपर्नेहुन्छ । सबैभन्दा पहिले खोप लगाउनुअघि बालबालिकाको खोप लगाउने स्थान सफा गर्नुपर्छ । त्यसो गर्दा घाउ बनेर पिप जम्ने अवस्था हुँदैन ।

त्यस्तै खोप लगाएको केही समयसम्म लगाएको भागमा पानी पार्न दिनु हुँदैन ।

कोरोनाभाइरसको संक्रमण भएको तीन महिना कटेको छैन र उच्च तापक्रमसहित ज्वरो आइरहेको छ भने त्यस्ता बालबालिकालाई खोप दिन हुँदैन ।

रोगप्रतिरोधी क्षमता कमजोर भएको अवस्थामा खोप दिँदा असर गम्भीर हुनसक्ने भन्दै चिकित्सकले यस्तो अवस्थामा खोप नलगाउन भनेका छन् ।

अमेरिकी स्वास्थ्य नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोलले मुटुको समस्या रहेका बालबालिकालाई पूर्ण रूपमा निको नभई खोप नदिन सुझाव दिएको छ।

बालबालिकाले खोप लगाइसकेपछि आधा घण्टासम्म गम्भीर असर देखापर्न सक्छ । त्यसैले उनीहरूलाई स्वास्थ्यकर्मीको वरपर वा शिक्षक–अभिभावकको निकट राख्नुपर्छ ।

पहिलो मात्रा दिँदा समस्या देखिएका बालबालिकामा निको भएपछि मात्रै दोस्रो मात्रा दिन चिकित्सकले सुझाएका छन् ।