NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

‘चिकित्सकबाटै म्याराडोनाको हत्या’ !, आठविरुद्ध लगाइँदै मुद्दा

काठमाडौं । अर्जेन्टिनाका सर्वकालीन महान् फुटबल खेलाडी डिएगो म्यराडोनाको अर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा सन् २०२० को नोभेम्बरमा निधन भएको थियो ।

हृदयघातका कारण ६० वर्षको उमेरमा ज्यान गुमाएका म्याराडोनाको दोस्रो वार्षिकी आउन अब मात्रै केही महिना बाँकी छ । म्यराडोना महिनौंअगाडि यो संसारबाट बिदा भए पनि उनको मृत्यु फेरि एक पटक चर्चामा आएको छ ।

म्याराडोनाको उपचारका क्रममा लापरबाही गरिएको पारिवारिक सदस्य, शुभेच्छुकलगायतले सुरुदेखि नै दाबी गर्दै आएक छन् । शुभेच्छुक तथा पारिवारिक सदस्यले आरोप लगाएजस्तै छानबिन समितिको अध्ययनले निष्कर्ष निकालेपछि यो प्रकरणले नयाँ मोड लिएको छ ।

के हो घटना ?

सन् २०२० को नोभेम्बरमा म्याराडोनाको मृत्यु हुनुअघि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि म्याराडोनाको स्वास्थ्यमा त्यसको कुनै नकारात्मक असर देखिएको थिएन, बरु उनी तंग्रिँदै गएका थिए । तर एकाएक उनलाई हृदयघात हुनपुग्यो । उपचारका लागि पुनः अस्पताल लगिए पनि सर्वकालीन महान् फुटबलरको जीवन जोगिन सकेन ।

मस्तिष्क शल्यक्रिया गरेको एक महिनामा नै उनमा हृदयघात हुनु र अस्पताल पुर्याउँदासमेत उनको जीवन जोगिन नसकेपछि चिकित्सकको भूमिकामाथि प्रश्न उठाइएको थियो । यस्तो प्रश्न गर्नेमा उनका शुभेच्छुक र पारिवारिक सदस्य थिए । म्याराडोनाका दुई छोरीले त मस्तिष्कको शल्यक्रियापछि गरिएको आफ्नो बाबुको उपचारबारे चासो राख्दै छानबिन गर्न उजुरी नै दिएका थिए । जसले कानुनी प्रक्रिया अघि बढाउन दबाब पर्यो ।

यसबारे छानबिन गर्न त्यसपछि एउटा समिति गठन भएको थियो ।

उनको निधन भएको केही दिनपछि अर्जेन्टिनाका अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान थालेका थिए । गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार ढङ्गले काम गरेको पाएको थियो। उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना बाँच्ने उनीहरूको निष्कर्ष थियो ।

को–कोविरुद्ध चलाइँदै छ मुद्दा ?

यही छानबिन समितिको निष्कर्षका आधारमा एक न्यायाधीशले ‘लापरबाहीपूर्ण हत्या’ अभियोगमा मुद्दा चलाउन आदेश दिएका छन् ।

म्याराडोना हत्या अभियोगमा मुद्दा दायर गर्न लागिएकामा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमलगायत ८ जना छन् ।

अभियोग पुष्टि भएमा उनीहरूमध्ये प्रत्येकले ८ देखि २५ वर्षको काराबास सजाय पाउने बिबिसीले जनाएको छ । मुद्दाको सुनुवाइको समय भने तय हुन बाँकी छ ।

तर आरोपित चिकित्सकलगायतले म्याराडोनाको मृत्युमा आफूहरूको कुनै दोष नरहेको बताएका छन् ।

म्याराडोनाको उपचारमा संलग्न चिकित्सकले एउटा पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले आरोप खण्डन गर्दै मित्रको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको दाबी गरेका थिए । यस क्रममा ती चिकित्सक ग्वा… ग्वा… रोएका थिए । यो दृश्यले उपस्थितहरूलाई पनि निकै भावुक बनाएको थियो ।