NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

के तेलको मूल्य अझै बढ्ला ?

काठमाडौं । यतिवेला विश्व बजारमा इन्धनको मूल्य उच्च बिन्दुमा पुगेको छ । युक्रेन युद्ध सुरु भएयता निरन्तर वृद्धि हुन थालेको कच्चा तेलको मूल्य युद्धअघिका दिनहरुको अवस्थामा फर्किन सकेको छैन, तेलकाे मूल्यमा अस्थिरता कायमै छ ।

ब्रेन्ट क्रुडको मूल्य ग्लोबल बेन्चमार्कमा जुनकाे पहिलाे साता प्रति ब्यारेल १२४ डलर ब्यारेल पुग्यो, यो मार्चको सुरुदेखि यता सबैभन्दा उच्च बिन्दुमा पुगेको हो । युरोपियन युनियनले यो वर्षको अन्त्यसम्ममा आफ्नो रुसी तेल आयात ९० प्रतिशत घटाउने घोषणा गरेपछि झन् तेलको मूल्यमा यस्तो प्रभाव देखिएको हो ।

ओपेकले तेलको आपूर्ति सहज बनाउँछ भन्ने आशामा यसको मूल्य थोरै तल झरेर ११७ डलर प्रति ब्यारेल पुगेको छ तर पम्पमा उपभोक्ताहरुले महसुस गरेको पीडालाई कम गर्न वा विश्वव्यापी मुद्रास्फीतिलाई नियन्त्रण गर्न यतिमात्र पर्याप्त नभएको विश्लेषकहरु बताउँछन् ।

मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याजदरमा तीव्र वृद्धिका कारण हुने सम्भावित मन्दीबाट वस्तुकाे माग प्रभावित हुने चिन्ता बढ्दै गएपछि जुनको अन्त्यसम्म आइपुग्दा तेलको मूल्य बुधबार पाँच प्रतिशतभन्दा बढीले घटेको छ । तर केन्द्रीय बैंकहरू उधारो लागत बढाउन बाध्य भएका छन् किनभने ऊर्जा लागतमा भएको वृद्धिले मुद्रास्फीतिलाई १९८० को दशकदेखि यता नदेखिएको स्तरमा पुर्याएको छ । यसका कारण विश्वभरका अर्थतन्त्रहरू मन्दीतर्फ गइरहेको छ ।

इयूले लगाएको प्रतिबन्ध र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको माग बढ्नाले पनि तेलको मूल्य बढ्न सक्ने देखिएको छ । जसका कारण विश्व बजारमा आम मानिसको दैनिकी र व्यवसायलाई महत्वपूर्ण राहत पुग्ने सम्भावना तत्काल नदेखिएको इन्धन विश्लेषकले बताएका छन् ।

अमेरिकी कम्पनी केप्लरका इन्धन विश्लेषक म्याट स्मिथले विश्व बजारमा तेलको मूल्यमा तीन खालको मूल्य रहने सम्भावना रहेको बताउँछन् । चीनमा लकडाउन पूर्ण रुपमा खुलेर तेलको माग बढ्यो र रुसले उत्पादनमा गिरावट कायम गरिराख्यो भने वर्षको सुरुमा पुगेको मूल्य प्रति ब्यारेल १३९ डलरको उच्चतम बिन्दुमा पुनः पुग्ने सम्भावना रहेको स्मिथले बताउँछन् ।

बढ्दो मुद्रास्फीति र सुस्त वृद्धिले मन्दीको डर बढाए पनि तेलको विश्वव्यापी मागले सन् २००८ मा जस्तै मूल्य घटाउन र हाल भइरहेको तेलको मूल्यमा पर्याप्त मात्रामा गिरावट आउने सम्भावना नरहेको स्मिथको भनाइ छ । ‘यसपटक तेलको मूल्यमा देखिएको अस्थिरता आपूर्ति पक्षको मुद्दा हो । यदि ब्यारेलमा तेलको मूल्य घट्यो भने पनि हामी कम मूल्यमा पम्पमा तेल किन्न सक्दैनौं’, स्मिथले भने ।

युरोपेली संघले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि अधिकांश इयू देशहरुसँग अब रुसी कच्चा तेलको आयात बन्द गर्न करिब ६ महिना र अन्य सबै तेल उत्पादनहरुको लागि आठ महिना छ ।

कोरोनाभाइरसका कारण चीनका ठूला सहरहरु सांघाई, बेइजिङ र अन्य क्षेत्रमा पनि लकडाउन भएकाले चीनमा तेलको माग घटेको थियो । विश्वमा धेरै तेल आयात गर्ने देशमा अब लकडाउन खुलेसँगै माग बढ्न थालेपछि अझै तेलको मूल्य बढ्ने प्रक्षेपण गरिएको छ ।

चीनले रुसबाट तेलको आयात बढाउन सक्छ, जसको बेन्चमार्क युराल्स क्रुड (कच्चा) ग्रेड बेन्टमा प्रति ब्यारेल ३४ डलरको छुटमा व्यापार गरिरहेको छ ।

भोर्टेक्साको अनुमानअनुसार चीनले मे महिनामा प्रतिदिन ११.१ मिलियन ब्यारेल रुसी तेल आयात गरेको छ । जुन गत वर्षको औसतमा ३७ प्रतिशतले बढी हो ।

चीनका कारण इन्धनको मूल्य अहिले भइरहेको भन्दा अझ बढ्न सक्ने उनको विश्लेषण छ ।

के अब पेट्रोलियम पदार्थको मूल्य घट्ला ?