NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विराटनगरको साख जोगाउन केन्द्रको दुरदृष्टि आवश्यक : डा. संग्रौला

काठमाडौं । कांग्रेस सांसद डा. डिला संग्रौलाले विराटनगरको परम्परागत साख जोगाउन केन्द्रको दुरदृष्टि आवश्यक भएको बताएकी छिन् ।

संसदमा विशेष समय लिएर बोल्दै सांसद संग्रौलाले विश्वलाई चिनाउने सगरमाथा, कंचनजंघा जस्ता हिमशिखर र किराँत धर्मालम्वीहरुको थातथलो एवं सम्मृद्धि र विकासका थुप्रै संभावनाहरु बोकेको यो प्रदेशले विकासमा फड्को अझै लिन नसकेको बताएकी छिन् ।

‘हामीहरूले यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटन, कृषिजन्य वस्तुको उत्पादन र उद्योग व्यापारका क्षेत्रमा विकास गरी आत्मनिर्भर हुने अर्थ व्यवस्था बनाउन सक्दछौ । जलश्रोत, वन जंगल, जडीबुटी विभिन्न सम्पदाहरुको प्रशस्त संभावना भएको हुनाले १ नं. प्रदेशलाई १ नं. कै मोडलको रुपमा विकास गर्न सरकारसँग अनुरोध गर्दछु’ उनले भनेकी छिन् ।

उद्योग जोगाउन उद्योगमैत्री नीति, युवालाई आधुनिक कृषि प्रणालीमा जोड्नुपर्ने, विमानस्थलको स्तोरोन्नति गर्नुपर्ने, शिक्षा र स्वास्थ्य, पूर्वाधारमा विकास गर्नुपर्नेसहितका प्रस्ताव अघि सारेकी हुन् ।

विशेष समयमा संग्रौलाले राखेको प्रस्तावमा के छ ?

१ नं. प्रदेशको मुटुको रुपमा रहेको बिराटनगरको साख कसरी जोगाउँने ?

सम्माननीय सभामुख महोदय,

हिमाल पहाड र तराईको संगम स्थलको रुपमा प्रदेश नं. १ रहेको छ । विश्वलाई चिनाउने सगरमाथा, कंचनजंघा जस्ता हिमशिखर र किराँत धर्मालम्वीहरुको थातथलो एवं सम्मृद्धि र विकासका थुप्रै संभावनाहरु बोकेको यो प्रदेशले विकासमा फड्को अझै लिन सकेको छैन ।

हामीहरुले यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटन, कृषिजन्य वस्तुको उत्पादन र उद्योग व्यापारका क्षेत्रमा विकास गरी आत्मनिर्भर हुने अर्थ व्यवस्था बनाउन सक्दछौं। जलश्रोत, वन जंगल, जडीबुटी विभिन्न सम्पदाहरुको प्रशस्त संभावना भएको हुनाले १ नं. प्रदेशलाई १ नं. कै मोडलको रुपमा विकास गर्न सरकारसँग अनुरोध गर्दछु ।

प्रदेशको राजधानीको रुपमा रहेको मोरङ्गको विराटनगर एक राजनैतिक, औद्यौगिक, एवं शैक्षिक हबको रुपमा चिनिन्छ । यस्तो सुपरिचित विराटनगरलाई आफ्नो साख जोगाउन कठिन रहेको छ । विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव छैन । केन्द्रको दुरदृष्टि पुग्न जरुरी छ ।

विराटनगर औद्योगित साख फिर्ता गर्ने ठुलो चुनौती छ । प्रजातान्त्रिक आन्दोलनको जग बसालेको हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैन खण्डहर बनेका छन् । मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ । त्यहाँका मजदुर एवं कामदारहरु बिचल्लीमा छन् । औद्यौगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विषेशगरी सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ्ग करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग बचाउन सरकारले विषेश योजना संचालन गर्नुपर्दछ । कृषि अग्रणी प्रदेश भएर पनि कृषिमा आधारित उद्योग संचालन नहुँदा प्रदेशको ग्राहस्थ उत्पादनमा समेत कृषि क्षेत्रको योगदान घट्दो अवस्थामा पुगेको छ । युवालाई नव प्रविधिमा अधारित कृषि उद्यममा जोड्नु पर्दछ ।

प्रजातान्त्रिक आन्दोलनको शंखघोष गर्ने हड्ताली हाट सुनसान छ । यस क्षेत्रको उचित संरक्षण गरि नयाँ पुस्तालाई विराटनगरमा उठेको राजनीतिक आन्दोलनबारे जानकारी दिन हड्ताली हाटलाई खुला संग्रहालयको रुपमा विकास गरिनुपर्दछ ।

विराटनगर विमानस्थलको स्तरोन्नतिको लागि काम थालिनुपर्दछ । रोकिएको टर्मिनल भवनको निर्माणको प्रक्रिया तुरुन्त सुरु हुनु पर्दछ । जग्गा रोक्का भई लामो समय देखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग तुरुन्त पुरा गरिनु पर्दछ ।

विराटनगरमा बाढी र डुवानको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सिंघिया, केसलिया तटबन्धन र ग्रीनवेल्टको कामलाई अघि बढाउन आवश्यक छ ।

विराटनगरमा पछिल्लो समय निर्माण भएका सडक नाला तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा जनसहभागितासहित काम अगाडि बढाउनु पर्दछ । फोहोर व्यवस्थापनलाई प्रभावकारी ढंगले अगाडि बढाउँदै ल्याण्डफिल साइड संचालन गर्न पर्दछ । कोशी अस्पताललाई प्रादेशिक स्तरमै गुणस्तरीय सेवा प्रदान गर्न सक्ने गरी स्तरउन्नतीको कामलाई गति दिन आवश्यक छ ।

पछिल्लो समय प्रदेश नं. १ मै बलात्कारको घटना बढेको पाइएको छ । बालिकासमेत अपराधको सिकार बनिरहेका छन् । मोरङ्गमा बढ्दो बलात्कारको घटनाको सुक्ष्म अध्ययन गरी दोषीलाई कडा भन्दा कडा कार्यवाही गरिनुपर्दछ । खुल्ला सिमानाका कारण चेलिबेटी बेचबिखन लागुऔषध दुव्र्यसन पनि बढ्दो अवस्थामा छ । यी सबैको न्युनीकरण गरी समाधान गर्न सरकारको ध्यानकर्षण गर्दछु ।

पौराणिक कालको विराट राजाको दरबार पुरातात्विक उत्खनन्बाट प्रमाणित भइसकेको छ । यसको भग्नावषेशको संरक्षण र सम्वर्धन गरी पर्यटककीय स्थलको रुपमा विकास गरिनुपर्दछ ।

पुर्वाञ्चल विश्वविद्यालयलाई समयसापेक्ष सुधार गर्दै एमबिबिएसको पढाईलाई संचालन गर्न सरकारसँग अनुरोध गर्दछु ।