NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महँगीविरूद्ध एमालेले २२ जनसंगठन सडकमा उतार्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले महँगीविरूद्ध जनसंगठनलाई सडकमा उतार्ने भएको छ । एमालेको जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले महँगी, अभावविरूद्ध जुध्न सडक संघर्षमा उत्रिने निर्णय गरेको हो ।

२२ जनसंगठनका प्रमुखसहित पार्टीका नेताहरू सहभागी रहेको बैठकले जनजीविका र राष्ट्रियताको मुद्दा बनाएर सरकारविरुद्ध संघर्षमा होमिन लागेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

‘महँगीले जनताको ढाड भाँचिएको छ । देशभर रासायनिक मलको हाहाकार छ । सरकार कानमा तेल हालेर बसेको छ । राष्ट्रियताको विषयमा सरकार नीरीह देखिएको छ’, ढकालले भने, ‘निदाएको सरकारलाई झक्झकाउन हामी सम्पूर्ण संगठनलाई परिचालन गर्छौं ।’

एमाले सरकारबाट बाहिरीएपछि महँगी, अभाव अचाक्ली बढेको भन्दै उनले एमालेले जनसरोकारको विषयमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।