NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

को हुन् रवि लामिछानेको स्वतन्त्र पार्टीका प्रवक्ता ढकाल ?

काठमाडौं । २०७९ सालको स्थानीय तहको निर्वाचनमा परम्परागत दलविरुद्ध स्वतन्त्रका उम्मेदवारले प्रभावशाली जित निकालेलगत्तै  स्वतन्त्र नामकै दल खुलेको छ । चर्चित टेलिभिजनकर्मी रवि लामिछानेले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् ।

आफूमात्रै खुलेर पार्टी घोषणा गरे पनि उनले टिम घोषणा गरेका थिएनन् । रविले आफ्नो टिममा तत्काल २१ जना रहने घोषणा गरेका थिए । तर ती २१ जना को–को हुन् भन्नेबारेमा केही खुलाएका थिएनन् ।

तर शुक्रबार पहिलो पार्टीले पहिलो पत्रकार सम्मेलन गर्नुअघि भने रविले प्रवक्ता पनि सार्वजनिक गरेका हुन् ।

आज दिउसो चार बजे रिपोर्टर्स क्लबमा गरिने पहिलो पत्रकार सम्मेलनबारेको जानकारी पार्टी प्रवक्ता मुकुल ढकालको नामबाट गराइएको छ ।
को हुन् ढकाल ?

रविले प्रवक्ता बनाएका ढकाल पेशाले चिकित्सक हुन् ।

रविकै पहलमा कालिकोटमा रास्कोट अस्पताल बनेको छ । डा. ढकाल यही अस्पतालका डाइरेक्टर हुन् ।

अस्पताल निर्माणका क्रमदेखि रविसँग जोडिएका विराटनगर–३ का ढकाल पार्टीमा प्रवक्ता बनाइएका हुन् ।

ढकाल यस अघि विवेकशील पार्टीमा थिए । रविले पार्टी खाेल्ने भएपछि गत असार १ मा उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

टेलिभिजनमा रविसँगै काम गरेका दीपक बोहरा पनि पार्टीमा जोडिएका छन् । तर उनले पाउने पद खुलाइएको छैन ।

रविले पार्टीले घोषणा गर्दा भ्रातृ संस्था नबनाउने, परिवारका सदस्यलाई नियुक्ति नदिने घोषणा गरेका छन् ।

प्रवक्ता ढकालले विकसित देशको खाका कोर्न एकजुट हुन आग्रह गरेका छन् ।

‘हामी सानो छँदा नेपालको जनसङ्ख्या बनोट पढ्दा , बाल बच्चा बढी छन् भनेर पढिन्थ्यो । अहिलेको अवस्थामा नेपालको जनसङ्ख्याको बनोटमा युवा धेरै छन् । समय बलवान् छ, हामी बूढो हुँदा, नेपालमा वृद्धाहरूको जनसङ्ख्या बढ्ने छ । अर्थात्, अहिलेको पुस्ताका पालामा देश विकास भएन भने, हाम्रो देश विकास गर्न अत्यन्त कठिन हुनेछ , किन भने अबको ३०र४० वर्षमा नेपालमा वृद्धाहरूको जनसङ्ख्या बढी हुनेछ, राष्ट्र निर्माणमा खर्चिने पसिनाको कमि हुनेछ । त्यसैले, आउनुहोस् , राष्ट्र निर्माणमा एक जुट बनौँ, हाम्रै पुस्तामा विकसित देश नेपालको खाका कोरौँ , आउने पुस्ताले स्वर्णकालीन नेपाली युग देख्न पाओस् ।’ ढकालले सामाजिक संजालमा लेखेका छन् ।

रवि लामिछानेको नयाँ पार्टीले राष्ट्रिय दल बन्न कति मत ल्याउनुपर्छ ?