NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अफगानिस्तान भूकम्प : अस्पताल भत्किए, उपचार छैन, खाने बस्ने ठाउँको अभाव

काबुल । अफगानिस्तानमा गत मंगलबार राति गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । दशकौंदेखि युद्ध र हिंसा झेलिरहेको अफगानिस्तानमा भूकम्प गएपछिको अवस्था झन् कहालीलाग्दो बनेको छ । यसको एक भयावह अवस्था भूकम्पमा घाइते भएर अस्पताल गएका मानिसमा देखिइरहेको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभाव पक्तिका प्रान्तमा परेकाे छ ।

पुर्वी अफगानिस्तानमा रहेको एक क्लिनिकका कर्मचारीले बिहानदेखि ५ सय घाइते मानिस आएको र २ सय मानिसको मृत्यु भइसकेको बताएका छन् ।

उनले अन्य धेरै अस्पताल पनि उक्त चुनौतीको सामना गरिरहेको बताए । अस्पतालमा ५ शैयामात्र रहेको र अस्पतालमा उल्लेख्य रुपमा घाइते मानिस आएकाे बताए ।

मंगलबार ६.१ रेक्टरको भूकम्पले त्यहाँका धेरै अस्थायी अस्पतालमा धेरै क्षति पुर्याएको छ । क्लिनिकका कर्मचारी मुहम्मद गुलले क्लिनिकका सबै कोठा भत्किएको बताए । उनले भने, ‘केही मानिसलाई राम्रो उपचारका लागि हेलिकप्टरको सहायताले सहरी क्षेत्रमा लगिँदै छ । तर सो अस्पतालमा २ जना चिकित्सकले काम गरिरहेका छन् ।’ उनले अस्पतालमा विद्युत संकट भएको पनि बताए ।

जेनेरेटरको इन्धन सकिने अवस्थामा रहेको तथा अन्य देशबाट समेत सहयोग आउन बाँकी रहेको मोहम्मदले जानकारी दिएका छन् । उक्त भूकम्पका कारण पहाडी क्षेत्रमा बनेका कैयौ घर नष्ट भएको र बाढी पहिरो गइरहेको छ ।

अन्तर्राष्ट्रिय ह्युमनटेरियन सस्थाले केही वर्ष पहिले उक्त क्लिनिकको स्थापना गरेका थिए । क्लिनिकमा इमरजेन्सी ट्रमा सेन्टरको सुविधा पनि छैन् ।

गत वर्ष तालिबान सत्तामा आएपछि अधिकांश अन्तर्राष्ट्रिय संस्थाले अफगानिस्तान छोडेका छन् । त्यसयता स्थानीय चिकित्सा प्रणालीमा औषधि र अन्य अत्यावश्यक सामग्री र कर्मचारीको अभाव भइरहेको छ ।

सोही क्षेत्रमा कार्यरत एक स्वयंसेवकले तालिबानका कार्यरत जिल्ला गभर्नर प्रभावित क्षेत्रको भ्रमण गर्न आएको तर यहाँका जनताले उनीहरुलाई भगाएको बताएका छन् ।

नाम सार्वजनिक नगर्ने शर्तमा बिबिसीसँग ती व्यक्तिले भने, ‘तालिबानले यो प्रकोपसँग जुध्न सकेका छैनन् । यहाँ कुनै प्रणाली छैन । हामी अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्न सक्दैनौं । विश्वले अफगानिस्तानलाई बिर्सेको छ ।’

तालिबान सत्तामा फर्किनुअघि नै अफगान सहर र सहरहरूमा आपतकालीन सेवाहरूसँग प्राकृतिक प्रकोपहरू सामना गर्न सीमित क्षमताहरू थिए । त्यतिबेलामा पनि विमान र हेलिकप्टर निकै कम थिए । स्वास्थ्य विभागका अनुसार अहिले पेनकिलर र एन्टिबायोटिकको चरम अभाव छ ।

सामान्यतया माटो र ढुंगाबाट बनेका गाउँका प्रायः सबै घर नराम्ररी क्षतिग्रस्त भएका छन् । प्रायः सबै परिवार आफन्त गुमाएको शोकमा छन् । घरहरु भत्किएका छन्, घाइतेको उपचारका लागि अस्पताल छैनन् र खानेकुराको अभाव पनि देखिएको छ । घर भत्किएपछि सबै खाली चाैरमा पाल टाँगेर बसिरहेका छन् ।