NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गर्भपतनको अधिकारका लागि अमेरिकी सरकारविरुद्ध एक्लै लडेकी ‘जेन रो’

वासिङ्टन । नोर्मा मेकोर्भी, यो नाम सन् १९६९ पछि धेरै अमेरिकीले चिन्न थाले । गर्भपतनलाई कानूनी मान्यता दिने उनको लडाइले उनलाई अमेरिकाको सबैभन्दा प्रभावशाली व्यक्तित्व बनायो । नोर्मा मेकोर्भीलाई संसारले ‘जेन रो’ भनेर चिन्छ । नोर्माले सन् १९६९ मा गर्भपतनलाई गैरकानूनी बनाउने राज्यको कानुनलाई चुनौती दिएकी थिइन् । यो मुद्दा अमेरिकी सर्वोच्च अदालतमा पुग्यो र अन्तिममा नोर्मा अर्थात् आम अमेरिकी महिलाको पक्षमा फैसला भयो ।

सन् १९७३ मा ‘रोविरूद्ध वेड’ को फैसलापछि अमेरिकामा करिब ५ करोड गर्भपतन कानूनी रूपमा भएको छ । तर, ५० वर्षपछि सर्वोच्च अदालतले आफ्नो फैसला परिवर्तन गर्न सक्ने संकेत दिएसँगै अमेरिकामा तरंग फैलिएको थियो ।

‘रो भर्सस वेड’ को गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले शुक्रबार उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा कडाइ गर्न सक्नेछन् ।

नोर्माको जन्म सन् १९४७ सेप्टेम्बर २२ मा नोर्मा नेल्सनको रुपमा जन्मिएकी थिइन् । उनकी आमा मेरी र बुबा ओलिन नेल्सन थिए । नोर्माका बुवा टेलिभिजन मेकानिक थिए । नोर्मा १३ वर्षकी हुँदा उनका आमाबुबाको सम्बन्धविच्छेद भएको थियो । आमा मेरीले नोर्मा र उनका भाइलाई हुर्काइन् । नोर्माकी आमालाई मदिराको लत लागेको थियो ।

‘रो भर्सस वेड’ को गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले शुक्रबार उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा कडाइ गर्न सक्नेछन् ।

एकदिन, नोर्मा १० वर्षकी हुँदा उनले एक महिला साथीसँग मिलेर पेट्रोल स्टेसनबाट केही पैसा चोरेर साथीसँग भागेर ओक्लाहोमा पुगिन् ।

त्यहाँबाट उनीहरूलाई पक्राउ गरी अदालतमा पेश गरियो । त्यसपछि न्यायाधीशले उनलाई क्याथोलिक बोर्डिङ स्कूलमा पठाए । पछि उनलाई टेक्सासको गेनेसभिलमा रहेको छात्रा स्टेट स्कुलमा स्थानान्तरण गरियो । उनी ११ देखि १५ वर्षको उमेरसम्म त्यही स्कुलमा बसिन् ।

त्यहाँबाट रिहा भएपछि नोर्मा मामासँग बस्न थालिन् । मामासँग बस्न थालेपछि उनलाई तीन सातासम्म ती मामाले हरेक रात बलात्कार गर्थे ।

मामाबाट पनि भागेर हिँडेकी उनी १६ वर्षको उमेरदेखि उनले रेष्टुरेन्टमा वेट्रेसको रूपमा काम गर्न थालेकी थिइन् । यस क्रममा उनले एलवुड म्याककोर्वेलाई भेटिन् । एलउडको यसअघि दुईपटक सम्बन्धविच्छेद भइसकेको थियो ।

दुवैले विवाह गरे र टेक्सासबाट क्यालिफोर्निया सरे । विवाहपछि नोर्माका श्रीमान एलवुडले उनलाई कुटपिट गर्न सुरु गरे । श्रीमानले कुटपिट गर्न थालेपछि उनी आमाकहाँ फर्किन् । श्रीमानलाई छोडेर आमाको घरमा आउँदा उनी गर्भवती थिइन् । उनको पहिलो सन्तान हुर्काउन आमाले नोर्मालाई आफ्नै साथमा लिएर गइन् । छोरी जन्मेपछि उनले धेरै मदिरा पिउन थालिन् र लागुऔषधको लतमा लागिन् ।

केही वर्षपछि उनले अर्को छोरीलाई पनि जन्म दिइन्, जसको नाम जेनिफर थियो । जेनिफरलाई नोर्माले आफूसँग राखिनन् । उनले ती छोरी अर्कैलाई हुर्काउन दिइन् । नोर्मा २१ वर्षको उमेरमा तेस्रोपटक फेरि गर्भवती भइन् । उनलाई त्यो बच्चा जन्माउने चाहना थिएन ।

इच्छाविपरीत गर्भवती भएपछि उनले सुरक्षित रुपमा गर्भपतन गराउन खोजिन् तर त्यसबेला टेक्सासमा महिलाको ज्यान जोखिममा भएमा वा बलात्कारबाट गर्भवती भएमा मात्र गर्भपतन गर्न पाइन्थ्यो । टेक्सासमा गर्भपतनमा प्रतिबन्ध लगाइएको थियो । नोर्माका अनुसार उनका साथीहरूले उनलाई अश्वेत पुरुषहरूबाट सामूहिक बलात्कार भएको दाबी गर्न सल्लाह दिएका थिए । उनले टेक्सासको कानुनअन्तर्गत कानुनी गर्भपतन गर्न पाउने उद्देश्यले आफू बलात्कृत भएको झुटो मुद्दा लगाइन् ।

बलात्कारको घटनामा मात्रै गर्भपतनलाई अनुमति दिइएको थियो । बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान गर्दा प्रमाणित हुन नसकेपछि उनले गर्भपतनको अधिकार पाइनन् । पछि नोर्माले आफैंले बलात्कारको कथा मनगढन्ते भएको स्वीकार गरिन् ।

यसपछि उनले गर्भपतन गर्न पाउने महिलाको अधिकारबारे वकालत सुरु गरिन् र गर्भपतन गर्न खोजेका महिलाहरूको खोजीमा रहेका वकिल लिन्डा कोफी र सारा वेडिङटनलाई भेटिन् । उनीहरूले महिलाले इच्छाअनुसार गर्भपतन गर्न पाउनुपर्ने कानूनी आधारको खोजी गर्दै मुद्दा अगाडि बढाए । उनीहरूको मुद्दा सर्वोच्च अदालतसम्म पुग्न तीन वर्ष लाग्यो ।

सन् १९७३ मा सर्वोच्च अदालतले गर्भपतनको पक्षमा फैसला गरेपछि नोर्माले आफू ‘जेन रो’ भएको प्रेसलाई बताइन् । उनले बेरोजगार र डिप्रेसनमा भएका कारणले गर्भपतनको माग गरेकी थिइन् ।

नोर्माको मुद्दा देशमा गर्भपतन समर्थक समूहहरूले समर्थन गरेका धेरै मुद्दामध्ये एक थियो । यो मुद्दाले सर्वोच्च अदालतसम्म पुग्नलाई धेरै सुनुवाइ र अपिलमार्फत् बाटो बनाएको थियो । अदालतले ७/२ को बहुमतले टेक्सासले गर्भपतनमा प्रतिबन्ध लगाएको कानुन असंवैधानिक भनेर निर्णय गर्यो ।

कन्जरभेटिभ झुकाव भएको अदालतले एक महिलाको गर्भावस्थाको पहिलो तीन महिनामा गर्भपतन गर्ने निर्णय महिला र डाक्टरमा निहित हुनुपर्ने भन्दै ऐतिहासिक फैसला गरिदियो ।

त्यतिबेलासम्म, रोले आफ्नो तेस्रो सन्तानलाई जन्म दिइसकेकी थिइन्, तर सर्वोच्च अदालतले उनको चुनौतीलाई दोहोर्याउन सक्षम भनेर निर्णय गर्दै मुद्दा अघि बढायो । सन् १९७३ देखि यो निर्णयले विशेष गरी धार्मिक रुढिवादीहरूबीच ठूलो प्रतिक्रिया उत्पन्न गरायो । यो दशकौंदेखि अमेरिकी संघीय निर्वाचनमा एक मुद्दा बनेको छ ।

यो मुद्दामा प्रतिवादीका रुपमा टेक्सास राज्यका महान्यायाधिवक्ता हेनरी मेनास्को वेड थिए । उनले सन् १९५१ बाट १९८७ सम्म डालास काउन्टीम जिल्ला वकिलको रुपमा सेवा गरे । उनले ‘रो भर्सेस वेड’मा टेक्सास राज्यको प्रतिनिधित्व गरेका थिए । महिलाको जीवन खतरामा भएको अवस्थामाबाहेक गर्भपतन निषेध गर्ने राज्यको कानुन लागू गर्ने उनको काम थियो । त्यसैले गर्भपतनको यो लडाइमा नोर्मा एकातिर वेड अर्कोतिर थिए ।

महिला तथा प्रजनन् अधिकारका सवालमा नोर्मा र वेडको मुद्दा अमेरिकी इतिहासमा एउटा ‘माइलस्टोन’ बनेर विकास भएको थियो ।

नोर्माले टेक्सासको कानुन असंवैधानिक रुपमा अस्पष्ट रहेको र संवैधानिक रुपमा संरक्षित अधिकारको उल्लङ्घन गरेको आरोप लगाएकी थिइन् । उनले मुद्दाको सुनुवाइ हुँदा सर्वोच्च अदालतसमक्ष प्रश्न गरेकी थिइन्, के संविधानले गर्भपतन गरेर आफ्नो गर्भावस्था समाप्त गर्ने महिलाको अधिकारलाई मान्यता दिन सक्दैन ?

कन्जरभेटिभ झुकाव भएको अदालतले एक महिलाको गर्भावस्थाको पहिलो तीन महिनामा गर्भपतन गर्ने निर्णय महिला र डाक्टरमा निहित हुनुपर्ने भन्दै ऐतिहासिक फैसला गरिदियो ।

सन् १९९४ मा नोर्माले ‘आइ एम रो’ भन्ने किताब प्रकाशित गरिन् । त्यसमा आफूले गरेको संघर्ष र आफ्नो जीवनकथा लेखेकी छन् । नोर्मा कोनी गोन्जालेज नामकी महिलासँग लामो समयदेखि समलैंगिक सम्बन्धमा थिइन् । दुवै डालासमा ३५ वर्ष सँगै बसे । यो समयमा नोर्माले आफ्नो धर्म परिवर्तन गरिन् । उनी क्रिस्चियन भइन् । त्यसपछि उनले गोन्जालेजसँगको आफ्नो सम्बन्ध प्लेटोनिक ९साथी० मात्र भएको भन्दै आफू लेस्बियन नभएको बताएकी थिइन् ।

सन् २००६ मा उनी गोन्जालेजबाट अलग बस्न थालिन् । त्यसपछि गोन्जालेजलाई स्ट्रोक भयो । गोन्जालेजको मृत्युपछि नोर्मा घरबारविहीन थिइन् । उनको ६९ वर्षको उमेरमा सन् २०१७ मा हृदयघातका कारण निधन भएको थियो । उनी आफ्नो अन्तिम दिनमा टेक्सासमा थिइन् र आफ्नै पुस्तकमा काम गरिरहेकी थिइन् ।

नोर्माकी जेठी छोरी मेलिसा मिल्सले सञ्चारमाध्यमसँग कुरा गर्दै सर्वोच्चले सन् १९७३ को ‘रो भर्सेस वेड’को फैसला उल्टाएमा आफ्नो विश्वास टुट्ने बताएकी छन् । अदालतको यो निर्णयले महिलालाई ५० वर्ष पछाडि लैजाने उनको भनाइ छ ।

‘बच्चा चाहिन्छ कि चाहिँदैन भनेर छनोट गर्न पाउनु हरेक महिलाको अधिकार हो । यसले उसको जीवनमा कस्तो प्रभाव पार्छ, उसले आफ्नो र आफ्नो परिवारको हेरचाह गर्न के गर्नु आवश्यक छ । बच्चा चाहने वा नचाहने भन्ने निर्णय महिलाको मात्रै हुनुपर्छ’ मेलिसा भन्छिन्, ‘महिलाले आफ्नो शरीरका साथ के गर्ने भन्ने निर्णयमा सरकारको भूमिका हुनुहुँदैन ।’

अमेरिकामा दुई महिनाअगाडि पोलिटिकोमा गर्भपतनसम्बन्धी सर्वोच्च अदालतको मस्यौदा सार्वजनिक भएपछि अमेरिकामा हलचल ल्याएको थियाे । पोलिटिकोमा प्रकाशित ९८ पानाको दस्तावेज वास्तविक भएको पनि प्रधानन्यायाधीश जोन रोबर्टस्ले पुष्टि गरेका थिए । मस्यौदामा अदालतका सदस्यको बहुमत देखिएसँगै फैसला उल्टिनसक्ने भन्दै विराेध भइरहेकाे थियाे ।

त्यसमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेखेका छन् । ‘रो भर्सेज वेड’ मुद्दाको फैसला उल्टिए त्यसबाट ३ करोड ६० लाख अमेरिकी महिलाहरूले गर्भपतनको अधिकार गुमाउने निश्चित छ ।

सर्वोच्च अदालतले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाए पछि अब २२ राज्यमा गर्भपतन गैरकानुनी हुनेछ । १३ राज्यले ‘ट्रिगर ल’ भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन् ।

राष्ट्रपति जो बाइडनले अदालतको आदेश ‘दुःखद गल्ती’ भएको टिप्पणी गरेका छन् । आदेशपछि अमेरिकाका विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ ।