NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चितवनका सात पालिकालाई ११ अर्ब बजेट

चितवन । जिल्लाका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार बजेट विनियोजन गरेका छन् । कालिका नगरपालिको आफ्नो नगरसभा असार ८ गते सुरु गरेको हो भने अरु पालिकाले १० गते शुक्रबार सुरु गरेका हुन् ।

भरतपुर महानगरपालिकाको ११औं नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश भएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभासमक्ष बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमा आन्तरिक आय एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट पाँच करोड रहने प्रक्षेपण गरिएको छ ।

चालु आर्थिक वर्षका लागि गत वर्ष चार अर्ब ८४ करोड बजेट प्रस्तुत गरिएको थियो । पूरक र थप अख्तियारीसमेत गरी चालु आर्थिक वर्षको बजेट पाँच अर्ब ५१ करोड ७३ लाख ८८ हजार पुगेको छ ।

अनुमानित आयमा २०७९ जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी ९७ करोड प्राप्त भएको छ । गत वर्षको सुरुआती बजेटको तुलनामा यस वर्षको बजेट ९० करोड बढी हो ।

यस्तै, पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आव २०७९/८० का लागि नीति तथा कार्यक्रमसहित एक अर्ब ३७ करोड २७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । चालु आवका लागि सो नगरपालिकाले एक अर्ब ३७ करोड ९८ लाख विनियोजन गरेको थियो ।

एघारौँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले आन्तरिक आम्दानीतर्फ राजस्वबाट ११ करोड, केन्द्र सरकारअन्तर्गत राजस्व बाँडफाँटबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त आठ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको बताए ।