NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बेँसीसहर–चामे सडकखण्ड बन्द

लमजुङ। बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।

उनले भने, “बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन पूर्णरुपमा बन्द गरिएको छ ।’’

उक्त गाउँपालिकाको विभिन्न ठाउँमा उक्त आयोजना कार्यालयमार्फत ठेक्कामा ढलान कार्य भइरहेको छ । गाउँपालिकाले ढलान सहजरुपमा गर्नका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएकामा उक्त कार्यालयले बुधबार एक सूचना जारी गर्दै सडक बन्द गरी ढलान कार्यमा सहज बनाउन बाटो बन्द गरे सँगै दुई दिन सडक बन्द गरिएको हो ।

पैदल यात्रुबाहेक सबै प्रकारका सवारी साधनलाई आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।  तल र माथि ठूलो भिरका बीचमा सडक रहेको र साँघुरो सडकका कारण जोखिम हुने भएकाले सवारीसाधन पूर्णरुपमा बन्द गरी ढलान सुरु गरिएको हो ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत २० मिटर सडक ढलान हुने कार्यालयका सूचना अधिकारीसमेत रहेका इञ्जिनीयर अधिकारीले जानकारी दिए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप वि.स २०५१ देखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक वि.स २०५७ देखि निर्माण गर्ने पुनःजिम्मेवारी प्राप्त गर्‍याे ।

तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियापछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाउँदै वि.स २०६९ मा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ । यस सडकमा दैनिक दर्जनाैँ जीप, साना तथा मालवाहक सवारीसाधन गुड्ने गर्दछ । सवारीसाधन नचल्दा यात्रु मर्कामा पर्ने गरेको छ ।