NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पार्टीको निर्णय मन्त्रीले नमाने अर्कै निर्णय हुन्छ : प्रकाश ज्वाला [अन्तर्वार्ता]

न्तरिक किचलोमा फसेको सत्तारूढ दल एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सोमबारदेखि राष्ट्रियसभा गृहमा बस्दैछ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यतालिका तय भएको छ । केन्द्रीय परिषद् बैठकअघि एजेण्डाको विषयमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा गम्भीर छलफल भएको थियो ।

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको निर्णयलाई मन्त्रीहरूले चुनौति दिँदा आन्तरिक विवाद चुलिएको छ । सरकारबाट फिर्ता हुने र सरकारमा जानेबीचको द्वन्द्वका कारण पार्टी गठन भएको एक वर्ष नवित्दै एकीकृत समाजवादी संकटको महाविपत्तिमा फसेको हो । केन्द्रीय परिपरिषद् बैठकका एजेण्डा, पार्टीभित्रको विवाद, आगामी निर्वाचन तयारी सम्बन्धमा नेपालवाचसँग नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले गरेको कुराकानीको सम्पादित अंश :

हामीले जे एजेण्डा, मुद्दा सवाल उठाएर विद्रोह गर्यौं, ती सवालहरूको सम्बोधन नभएसम्म एमालेसँग कुनै सहकार्यको सम्भावना छैन ।

एकीकृत समाजवादीले एकैपटक तीन वटा महत्वपूर्ण बैठक बोलाएको छ, यसको उदेश्य के हो ?

स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी, संगठनात्मक विस्तार, तथा पार्टीको नीति, सिद्धान्त, कार्यदिशा, कार्यनीति, रणनीति तय गर्न आवश्यक देखिएकाले हामीले पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद्को बैठक एकैपटक बोलाएका हौं ।

पार्टी गठन भएपछि हामीले केन्द्रीय परिषद् बैठक बोलाएका थिएनौं । पार्टीभित्र देखिएको समस्या समाधान, पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे समीक्षा गरी ठोस निष्कर्ष निकाल्नु आवश्यक देखिएकोले बैठक बोलाएको हो । भोलि र पर्सी बस्ने केन्द्रीय परिषद् बैठकमा अध्यक्ष र महासचिवले राजनीतिक र सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्नुहुन्छ ।

दुवै प्रतिवेदनमाथि हामी गम्भीर छलफल गर्छौं । छलफलको आधारमा एउटा निष्कर्षमा पुग्छौं । पूर्ण उर्जा र तयारीका साथ नेतृत्व पंक्तिसहित आगामी निर्वाचनमा होमिन्छौं । हामी हाम्रो आन्तरिक शक्तिलाई बलियो बनाउने काम गर्छौं ।

स्थानीय तह निर्वाचनमा गठबन्धनबाट धोका भयो भन्ने तपाईंहरूको गुनासो छ, आगामी निर्वाचनमा कसरी अगाडि बढ्नुहुन्छ ?

स्थानीय तह निर्वाचनमा हाम्रो आन्तरिक तयारी पनि पुगेको थिएन । देशभर संगठन विस्तार पनि हुन सकेन । निर्वाचन चिन्हलाई पनि मतदाताबीचमा प्रचार गर्न सकिएको थिएन । त्यसले गर्दा हामीले हार व्यहोर्नुपर्यो । अब हामी व्यक्तिको घर–घरमा पुगेर हाम्रो चुनाव चिन्ह चिनाउँछौं । जनजागरण र विशेष चुनावी अभियान चलाउँछौं । आफ्नै शक्तिमा आगामी निर्वाचनको तयारी गर्छौं । स्थानीय तहको निर्वाचनमा गठबन्धनमा कमिकमजोरी भएका छन् । त्यसलाई समीक्षा गर्ने, सच्चाउने र भरपर्दो तरिकाले विश्वासिलो वातावरणमा गठबन्धनलाई थप बलियो बनाएर अघि बढाउँछौं ।

पार्टी गठन भएको एक वर्ष नै नपुगी पार्टी र सरकारमा सहभागी मन्त्रीबीचमा अविश्वास र द्वन्द्व सिर्जना भएको छ, यसलाई कसरी लिनुभएको छ ?

पार्टी र सरकारबीच जुन समस्याहरू देखा परिरहेका छन् । त्यसलाई हामीले रियलाइज गरेका छौं । सबैभन्दा पहिले पार्टीले गरेको निर्णय कार्यान्वायन गर्छौं । निर्णय लागु हुन्छ । त्यसपछि पार्टीभित्र उठेका मुद्दा, सरकार सञ्चालन, संसदमा भूमिका खेल्नुपर्ने विषयमा छलफल गरेर एउटा निष्कर्ष निकाल्छौं । आन्तरिक शक्तिलाई थप मजबुद बनाउँछौं ।

पार्टीले गरेको निर्णयलाई नै मन्त्रीहरूले चुनौति दिएका छन्, यसमा के भन्नुहुन्छ ?

चित्त बुझेपनि नबुझेपनि पार्टीको निर्णय मन्त्रीहरूले स्वीकार गर्नुपर्छ । कार्यान्वायन गर्नुपर्छ । सिंगो पार्टीले निर्देशन पनि गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले निर्णय दोहोर्याएको छ । उहाँहरूले स्वीकार गर्नुको विकल्प छैन । उहाँहरूले मान्नुपर्छ । कार्यन्वायन हुन्छ । निर्णय नमान्ने स्थिति भयो भने अलग्गै छलफल हुन्छ । त्यसमा मन्त्रीलाई छुट हुने छैन ।

कहिलेसम्म निर्णय कार्यान्वय हुन्छ ?

हामीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रष्ट कुरा गरेका छौं । छिट्टोभन्दा छिट्टो उहाँले प्रस्तावित मन्त्रीहरूलाई शपथग्रहण गराउनुपर्छ । प्रधानमन्त्रीले पनि छिट्टै गराउँछौं भन्नुभएको छ । मलाई विश्वास छ, यो विषय छिट्टै कार्यान्वायन हुन्छ ।

मन्त्री फिर्ता बोलाउने सम्बन्धमा पार्टीले अलि अपरिपक्व निर्णय गर्यो भन्ने गुनासो छ नि ?

त्यस्तो केही छैन । बजेट छलफल भइरहेको अवस्थामा विभागीय मन्त्रीलाई फिर्ता बोलाइयो भन्ने मन्त्रीहरूको गुनासो थियो । यो विषयमा पार्टीले केही समय पर्खिएको पनि हो । बजेट पनि पास भइसकेको छ । अब पार्टीको निर्णयमा कुनै पुनर्विचार हुँदैन ।

मन्त्रीहरूले पार्टीको निर्णय समावेशी र भौगोलिक सन्तुलन नभएको भन्दै शर्त अगाडि सार्नुभएको छ । यस्तो अवस्थामा पार्टीको निर्णय कसरी कार्यान्वायन हुन्छ ?

चित्त बुझेपनि नबुझेपनि निर्णय स्वीकार गर्नुको विकल्प छैन । पार्टीले जुन निर्णय गरेको छ त्यहीँ निर्णय लागु हुन्छ । पार्टीको निर्णयमा कुनै फेरबदल हुँदैन । मन्त्रीहरूले निशर्त पार्टीको निर्णय मान्नुपर्छ । कुनै शर्तबन्दी हुँदैन ।

आगामी निर्वाचनमा एमालेसँग सहकार्य वा तालमेल हुने सम्भवाना छ कि छैन ?

हामीले जे एजेण्डा, मुद्दा सवाल उठाएर विद्रोह गर्यौं, ती सवालहरूको सम्बोधन नभएसम्म एमालेसँग कुनै सहकार्यको सम्भावना छैन । जुन दिन ती सवालहरूमा टुंगो लाग्छ, त्यस दिन यो विषयमा प्रवेश हुन्छ ।

अन्त्यमा, ०७४ मा एमालेले जितेका ठाउँमा तपाईंहरूको दाबी हुन्छ कि हुँदैन ?

त्यस विषयमा हामीले अहिल्यै धारणा बनाइसकेका छैनौं । गठबन्धनको बीचमा छलफल हुन्छ । त्यसपछि एउटा निश्चित आधार र मापदण्ड बन्छ । त्यही मापदण्डको आधारमा गठबन्धन हुन्छ ।