NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

डिजेल र पेट्रोलको मूल्य घट्दा हवाई इन्धन भने यथावत्, वायुसेवा सञ्चालक संघको आपत्ति

काठमाडौं । सरकारले शनिबार राति पेट्रोल र डिजेलको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । हवाई इन्धनको मूल्य यथावत रहँदा वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ ।

संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजश्व घटाएर १० रूपैयाँ प्रतिलिटरभन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजन गर्न अनुरोध गरेको छ ।

सरकारले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २० रूपैयाँले घटाइ १७९ रूपैयाँ र डिजेल ÷ मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २९ रूपैयाँले घटाएर १६३ रूपैयाँ कायम गरेको थियो ।

तर, हवाई इन्धनको आन्तरिक तथा बाहयको खुद्रा मूल्य भने हाललाई यथावत नै राख्ने गरी भएको मूल्य समायोजनप्रति संघले ध्यानाकर्षण गराएको हो ।
त्यसो त अन्तर्राष्ट्रिय बजारका तुलनामा सरकारले लगाउने करका कारण नेपालमा हवाई इन्धन अत्याधिक महंगो मानिन्छ । त्यसमाथि विगत दुई वर्षदेखि कोभिड महामारीका कारण ८ महिना हवाई सेवा पूर्ण रुपमा बन्द भयो ।

त्यो अवस्थामा वायुसेवाहरू सबैभन्दा बढी मारमा परेकाले विदेशी पर्यटकहरू आगमनमा खासै सुधार हुन नसकेको विज्ञप्तिमा जनाइएको छ । वायुसेवाहरू अझै पनि सस्तो न्यून भाडामा आफ्ना सेवा सञ्चालन गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको मारमा परेका वायुसेवा उद्योगलाई पुनः स्थापित गर्न भारत, चीन लगायतका विभिन्न मुलुकले हवाई इन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धारासायी हुनबाट बचाउन हवाई इन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजनको आवश्यकता संघले औंल्याएको छ ।