NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य

काठमाडौं । समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा उनीजस्तै चर्चित अनुहार देखिएका छैनन् ।  प्राप्त केन्द्रीय कमिटी सूचीमा खासै नाम सुनिएका व्यक्ति भने छैनन् । केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सूचीमा काठमाडौं महानगरपालिका– ६ का लामिछाने पार्टी सभापति हुन् । दोस्रो वरीयतामा ज्वालामुखी– ४ धादिङका डोलप्रसाद अर्याल र तेस्रो वरीयतामा विराटनगर– ४ मोरङका डा. मुकुल ढकाल छन् । डा. ढकाललाई पार्टीको प्रवक्ता बनाइएको छ ।

‘दल दर्ताका लागि आवश्यक पर्ने न्यूनतम २१ सदस्यको नाम आयोगमा पठाएका छौँ । सर्वसाधारणदेखि सकेसम्म फरक–फरक पृष्ठभूमि भएकालाई समेटेका छौँ । चिनिएका अनुहार हुनुहुन्न, राजनीतिमा नाम चलेका अनुहार पनि छैनन्,’ प्रवक्ता डा. ढकालले भने । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको सूचीको चौथो नम्बरमा अमरगढी– ३ डडेल्धुराका दीपकराज बोहरा, पाँचौँ नम्बरमा पालुङटार– ९ का कवीन्द्र बुर्लाकोटी, छैटौँ नम्बरमा नागार्जुन– २ काठमाडौंका गणेश पराजुली, सातौँ नम्बरमा मनकामना– ८ नुवाकोटका रामकृष्ण भट्टराई, आठौँ नम्बरमा आगिन्चोक– ३ धादिङका उपेन्द्र पाण्डे, नवौँ नम्बरमा रत्ननगर– १ चितवनमा महेश्वर घिमिरे र दशौँ नम्बरमा टरीगाउँ– २ दाङका विपिनकुमार आचार्य छन् ।केन्द्रीय समितिको ११औँ नम्बरमा ज्वालामुखी– ४ धादिङकी वसुमाया तामाङ, १२औँ नम्बरमा केरोज– १ गोरखाकी एलिजा गुरुङ, १३औँ तारकेश्वर– २ काठमाडौंकी कुसुम महर्जन, १४औँमा जफे– ६ दोलखाकी सोविता गौतम र १५औँमा इनरुवा– ३ सुनसरीकी गीता रेग्मीको नाम छ ।

यसबाहेक १६औँ नम्बरमा चन्द्रेश्वर– १ लमजुङका डा. प्रभात अधिकारी, १७औँ नम्बरमा केराबारी– ६ मोरङकी रविना घिमिरे, १८औँ नम्बरमा वेणिमणिपुर– ६ नवलपरासीका इस्रा मुल्ला मियाँ, १९औँ नम्बरमा मोहन कमलपुर– ५ सिराहाका डा. राकेश यादव, २०औँ नम्बरमा चैनपुर– ७ धादिङका विष्णुकुमार श्रेष्ठ र २१औँ नम्बरमा भक्तपुर– ४ भक्तपुरकी प्रमिला कुलुजूको नाम छ ।

पार्टी घोषणा कार्यक्रममा सभापति लामिछानेले देशभरिबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले पार्टी बनाएको बताएका थिए । उनले केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा माथि युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा जाने बताएका थिए । उनले आमनागरिकलाई चाहिएजस्तै राजनीतिक दल बनाएर क्षमतावान् मान्छेका साथ देशलाई नयाँ म्यान्डेट दिनेसमेत दाबी गरेका थिए ।

आफ्नो नयाँ पार्टीमा सदस्यहरूको मतबाट प्रधानमन्त्रीको उम्मेदवार छान्ने र प्रधानमन्त्रीको उम्मेदवारले मन्त्रिमण्डल नै घोषणा गरेर चुनावमा जान सक्ने लामिछानेले घोषणा गरेका थिए । त्यसरी चुनिएर प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यक्तिलाई पार्टीको साधारण सदस्यले मतमार्फत फिर्ता र अस्वीकार दुवै गर्न सक्ने वैधानिक व्यवस्था गरिने उनको भनाइ थियो ।

स्वतन्त्र पार्टीले ठूला उद्योगी–व्यापारीबाट चन्दाको गन्धा धन्दा नगर्ने, कार्यकर्ता र शुभेच्छुकबाट सहयोग संकलन गरेर पार्टी चलाउने, खर्चहरू वेलावेला औपचारिक सार्वजनिक गर्ने, पार्टीबाट उम्मेदवार बन्न चाहने प्रत्येक उम्मेदवारले आ–आफ्नो क्षेत्रको विकास र सुशासनको भावी मोडल प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिने लामिछानेले बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।