NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…

काठमाडौं । विशेष अवस्थामा अनुमति लिएरबाहेक संसारभरका विमानस्थलको रनवेमा कोही पनि हिँड्न पाउँदैनन् । तर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनमा यति भद्रगोल छ कि कर्मचारी रनवेबाटै ओहोरदोहोर गर्छन् ।

आइतबार कुवेतबाट एक सय सात यात्रु बोकेर आएको जहाज त्यही लापरबाहीका कारण भण्डै विमानस्थलमा दुर्घटना भएको थियो । तर पाइलटले तत्काल जहाज आकाशतिर फर्काएर दुर्घटना हुनबाट जोगाए ।

बिहान ३ः२० मा कुवेतबाट आएको जजिरा एयरलायन्सको विमान जे ९५४१ अवतरण हुनै लागेको थियो । विमान लगभग रनवेनजिकै पुगिसकेको थियो । तर केही व्यक्ति रनवेमा हिँडिरहेको देखेपछि पाइलटले विमान तत्कालै ओभरसुट गरे । र विमानस्थलको गैरजिम्मेवारीप्रति विमानस्थललाई जानकारी गराए ।

पाइलटको सुझबुझका कारण दुर्घटनाबाट जोगिएको विमानले करिब २० मिनेट काठमाडौंको आकाशमा फन्को लगायो ।

विमानस्थलको रनवेमा हिँड्ने व्यक्ति नेपाल एयरलाइन्सका तर्फबाट खटिएका सफाइ कर्मचारी भएको खुलेको छ । नेपाल विमानस्थलले विमानस्थल सफाइका लागि सुनगाभा नामक कम्पनीलाई जिम्मा दिएको छ । जजिराको विमान अवतरण गर्ने क्रममा सोही कम्पनीका कर्मचारी रनवेमा हिँडिरहेका थिए । यो घटनाले फेरि एकपटक विमानस्थलभित्र हुने गम्भीर सुरषा लापरबाही छताछुल्ल भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।