NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेकपा एसबाट नियुक्त भएका नवनियुक्त चार मन्त्रीमा गैरसांसददेखि एकै जिल्लाका दुई जनासम्म

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुको साथै पदभार पनि ग्रहण गरेका छन् ।

मन्त्रीमा सिफारिस भएको १२ दिनपछि नयाँ मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन् । चालु आर्थिक वर्षको बजेटमाथि छलफल संसद्मा छलफल चलिरहेको अवस्थामा विभागीय मन्त्रीलाई पार्टीले फिर्ता बोलाएपछि निवर्तमान मन्त्रीहरू विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठले असन्तुष्टि जनाएका थिए । पार्टीको निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरूले दबाव दिएका थिए । यही विषयले मन्त्री र पार्टीबीच द्वन्द्व उत्कर्षमा पुगेको थियो ।

निर्णय कार्यान्वयनका लागि नेकपा एसले पटक–पटक ताकेता गरेपछि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पार्टीका चार मन्त्रीलाई नियुक्त गरी मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् । नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति तथा पर्यटन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम तथा रोजगार र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् । नवनियुक्त मन्त्रीहरूमा एकै जिल्लाका दुई जना र गैर सांसदसम्म रहेका छन् । पाँच जनामा एकजना पनि महिला परेका छैनन् ।

नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति तथा पर्यटन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम तथा रोजगार र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् ।

जीवनराम श्रेष्ठ

नवनिर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठको जन्म २०२२ पुस १५ मा काठमाडौंमा भएको हो । नेकपा एसका सचिवसमेत रहेका उनको राजनीति सरस्वती क्याम्पसबाट विद्यार्थी नेताबाट सुरू गरेका थिए ।

काठमाडौं नगरपालिका वडा नं. १५ को वडाध्यक्षहुँदै उनी २०७४ को संघीय निर्वाचनमा क्षेत्र नं. ८ बाट सांसदमा निर्वाचित भएका थिए । श्रेष्ठले १३ हजार ३९७ मतले कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए ।

०७० को संविधानसभा निर्वाचनमा श्रेष्ठलाई जोशीले सोही क्षेत्रबाट हराएका थिए । एमाले विभाजन हुँदा मन्त्री श्रेष्ठले नेकपा एस रोजेका थिए । उनी प्रतिनिधिसभामा नेकपा एसका प्रमुख सचेतकसमेत रहेका छन् ।

राखेपको दुई पटकसम्म सदस्यसचिव रहेका उनी अहिले ओलम्पिक कमिटीका अध्यक्ष छन् । उनी यसअघि ओलम्पिक कमिटीका महासचिव थिए । राखेपको सदस्यसचिवमा रहेका बेला उनले भिजन २०२० को साथ परिषद्को नेतृत्व गरेका थिए ।

मध्यमवर्गीय परिवारमा हुर्केका उनले समाजमा रहेका समस्या समाधान गर्नका लागि वामपन्थी राजनीतिमा लागेको बताउने गरेका छन् ।

भवानी खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा बढुवा भएका भवानी खापुङ एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हुन् । पहिलो चरणमा उनी स्वस्थ्य तथा जनसंख्याराज्यमन्त्री थिए । असार १ मा बसेको पार्टीको सचिवालय बैठकले विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउँदा उनलाई फुलमन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

०७४ मा तेह्रथुम–१ बाट निर्वाचित सांसद रहेका उनी ०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिहुँदै खापुङ केन्द्रीय राजनीतिमा सक्रिय छन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तेह्रथुमको साविकको मोराहाङ्ग गाविसमा एमालेबाट निर्वाचित सदस्य हुन् । उनी २०५५ देखि ०६१ सम्म एमालेका जिल्ला कमिटिको सचिवमा सर्वसम्मत भएका थिए । ०६६ मा जिल्ला कमिटी अध्यक्ष र ०६९ मा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य भएका थिए । गत वर्ष एमाले विभाजन हुँदा उनले नेकपा एस रोजेका हुन् ।

मेटमणि चौधरी

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी दाङको गढवा गाउँपालिकामा २०२९ चैत १० गते जन्मेका हुन् । अर्थशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका उनी नेकपा एसका पोलिटब्यूरो सदस्य छन् । लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका उनको स्थायी बासस्थान दाङको देउखुरीमा रहेको छ ।

उनका बुवा भवानीप्रसाद राजनीतिमै सक्रिय रहेकाले उनी पनि सानैदेखि राजनीतिमा लागेका थिए । २०४६ सालपछि विद्यार्थी राजनीतिबाट यात्रा तय गरेका थिए । एमाले निकट अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै जिल्ला अध्यक्ष भएका थिए उनी । त्यस्तै उनी दाङ क्षेत्रीय कमिटी सचिव, अध्यक्षहुँदै २०५५ सालमा एमालेका जिल्ला कमिटि सदस्य भएका थिए ।

एमालेको नवौं महाधिवेशनमा चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ नेकपामा गठन हुँदा उनले केन्द्रीय सदस्य भएर काम गरे ।

नेकपा विभाजनपछि उनी एमालेमै रहेका थिए । ०७८ भदौमा एमाले विभाजन हुँदा उनी नेकपा एसमा आएका थिए । ०७४ मा भएको संघीय निर्वाचनमा उनले दाङ–१ बाट चुनाव जितेका थिए ।

शेरबहादुर कुँवर

देउवा सरकारका अर्का नवनियुक्त श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर गैरसांसद हुन् । उनी गत फागुनमा राष्ट्रियसभा सदस्यको ४ वर्षे कार्यकाल सकेर विदा भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह सम्मको अध्ययन उनले गरेका छन् । उनी अछाम–१ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुन् ।

कुँवर निर्दलीय पञ्चायत व्यवस्था विरोधी आन्दोलनबाट प्रभावित भएर २०४२ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । शुरुदेखि नै वामपन्थी विचारधारासँग आवद्ध भएका उनी एमाले निकट अनेरास्ववियू जिल्ला सचिव, अध्यक्षहुँदै पार्टीको जिल्ला सचिव भएका थिए । राजनीतिक संघर्षका क्रममा उनले २०४६ को जनआन्दोलन र २०६२–६३ को जनआन्दोलन–२ मा पक्राउ परी हिरासतमा रहेका थिए ।

आफूलाई पार्टीको नीति र जनतासँगको निरन्तर प्रत्यक्ष सम्बन्धले आफूलाई राजकीय पदमा पुगेको दाबी गर्छन् । गत वर्ष एमाले विभाजन भएपछि नेकपा एसमा लागेका उनी राष्ट्रियसभाका प्रमुख सचेतक थिए । अहिले उनी पार्टीका केन्द्रीय सदस्य रहेका छन् । कुँवरको एक छोरा एक छोरी छन् ।

हीराचन्द्र केसी

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका हीराचन्द्र केसी दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक गिरीलाई पराजित गरेपछि उनी चर्चामा आएका थिए । ६ हजार ५ सयभन्दा बढी मतान्तरले गिरीलाई हराएका थिए । एमाले विभाजनअघि केसी एमालेको जिल्ला सचिव रहेका थिए ।

एमाले निकट युवा संघबाट राजनीतिमा आएका उनी अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पार्टीको जिल्ला सचिव भए । नेकपा विवाद हुँदा माधव पक्षमा खुलेका उनी पछि एमालेमै फर्किएका थिए । एमाले विभाजपछि फेरी नेकपा एसमा फर्र्र्र्किए । उनको स्थायी बासस्थान दाङको तुल्सीपुर उप–महानगरपालिकाका–५ मा रहेको छ । छोटो समयमै सांसदहुँदै मन्त्रीसम्मको छलाङ मार्न केसी सफल भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष